सहकारी ठगीको आरोप लागेका व्यक्तिलाई स्थानीयले दिनभर कार्यालयमा थुने
भक्तपुर : भक्तपुरमा सहकारी ठगी गरेको आरोप लागेका व्यक्तिलाई स्थानीयले दिनभर कार्यालयमा थुनेका छन्। भक्तपुर नगरपालिका-६ भुलाछेंका कृतन प्रजापतिलाई स्थानीयले शुक्रबार दिनभर कार्यालयभित्र थुनेर राखेका हुन्।
सहकारी संस्थाको नाममा सर्वसाधारणबाट रकम संकलन गरी ठगी गरेपछि उनलाई स्थानीयले दिनभर घेरामा राखेका थिए। आइतबार प्रति बचतकर्ता १०–१० हजार बचत फिर्ता गर्ने र ६ महिनाभित्र सम्पूर्ण बचत रकम फिर्ता गर्ने लिखित वाचा गरेपछि स्थानीयले साँझ उनलाई छाडिदिएका हुन्।
घटनाअनुसार प्रजापति वडामा नाता प्रमाणित गर्न बिहीबार वडा पुगेका थिए। त्यसपछि वडाध्यक्ष हरिराम सुवालले वडावासीको सहकारीमा जम्मा गरेको रकम नदिएको उजुरी वडा कार्यालयमा रहेकोले नाता प्रमाणित गरिदिने वा नदिने विषयमा सरोकारवालासँग छलफल गर्नुपर्ने बताएका थिए।
तर, प्रजापतिले सहकारीसँग असम्बन्धित भएका कुरा गरेर वडाध्यक्षले दादागिरी गरेको भन्दै बिना अनुमति बिहीबार वडामा भएको छलफलको भिडियो सार्वजनिक गरेका थिए। बिहीबार नाता प्रमाणित नदिएपछि उनले शुक्रबार फेरि दर्जनौं व्यक्तिका साथ वडामा पुगेका थिए। उक्त जानकारी पाएपछि स्थानीय वडा कार्यालयमा पुगे।
सबै बचत फिर्ता गरेपछि मात्रै उनलाई छोड्ने भन्दै स्थानीयले घेराबन्दी गरे। पछि वडा कार्यालयले पैसा तत्काल दिन नसक्ने भएकोले प्रहरीको रोहबरमा आइतबारभित्र प्रति बचत १०–१० हजार फिर्ता गर्ने र ६ महिनाभित्र सबै पैसा फिर्ता गर्ने लिखित सहमति गरेको थियो।
त्यसपछि मात्रै सबै पीडितसँग सार्वजनिक माफी मागेर बचत रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता सार्वजनिक गरेपछि उनलाई साँझ मात्रै छोडिएको थियो।
प्रतिक्रिया दिनुहोस !