सिँचाइ परियोजनाले बदल्दैछ किसानको जीवन र भविष्य

सिँचाइ परियोजनाले बदल्दैछ किसानको जीवन र भविष्य
सुन्नुहोस्

विराटनगर : मोरङका सुनवर्षी र पथरीशनिश्चरे क्षेत्रका कृषकले वर्षौंदेखि भोग्दै आएको पानी अभावको समस्या अब अन्त्यतर्फ उन्मुख भएको छ। 

लामो संघर्ष, निरन्तरको पहल र स्थानीयको योगदानपछि सीता–डाँस–केर्खा सिँचाइ परियोजनाको निर्माण सुरु भएसँगै कृषकको जीवनमा ठोस परिवर्तनको आधार तयार भएको हो। यो परियोजनाले किसानको जीवन र भविष्य बदल्ने अपेक्षा गरिएको छ। परियोजनालाई सिँचाइ सुविधा विस्तार गर्ने पूर्वाधारसँगै कृषि प्रणालीलाई रूपान्तरण गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। 

एसियाली विकास बैंक (एडीबी)को सहयोगमा सिँचाइ आधुनिकीकरण अभिवृद्धि परियोजनाअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले परियोजनालाई कार्यान्वयनमा ल्याएको हो। कोशी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले पथरीशनिश्चरे–९ स्थित सीता र डाँस खोलाको दोभान क्षेत्रमा मुख्य बाँध (हेडबक्स) निर्माणको सोमबार शिलान्यास गरेका हुन्। डिभिजन प्रमुख रञ्जित झाका अनुसार परियोजनालाई तीन भागमा विभाजन गरेर प्राविधिक र व्यवस्थापकीय हिसाबले प्रभावकारी ढंगबाट काम अघि बढाइएको छ। 

कुल १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यस परियोजना निर्माणको ठेक्का निर्माण व्यवसायीको तर्फबाट रामजानकी–आरके जेभीले करिब १२ करोड रुपैयाँमा पाएको छ भने ४० लाख रुपैयाँ बराबरको काम उपभोक्ता संस्थामार्फत गरिँदैछ। बाँकी कार्यमा स्थानीय कृषकको श्रमदान रहनेछ। रामजानकी–आरके जेभीका आधिकारिक प्रतिनिधि रमेश कार्कीले परियोजनाको काम आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने लक्ष्य छ। 

टेण्डर प्रक्रिया, उपभोक्ता संस्था र कृषककै श्रमदानबाट निर्माण सम्पन्न हुने परियोजनामा समुदायको प्रत्यक्ष सहभागिता र स्वामित्व सुनिश्चित हुने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय विराटनगरका डिभिजन प्रमुख रञ्जित झाले बताए। उनका अनुार परियोजनाको संरचना वैज्ञानिक र दीर्घकालीन सोचमा आधारित छ। सीता र डाँस खोलाको दोभानमा निर्माण हुने मुख्य बाँधबाट पानीलाई केर्खा खोलासम्म पुर्‍याइने छ। त्यहाँ अर्को ड्याम (बाँध) बनाएर पानी व्यवस्थापन गरिनेछ। त्यसपछि नहर प्रणालीमार्फत खेतसम्म पानी वितरण गरिने झाले बताए। हाल करिब १३ किलोमिटर लामो नहर निर्माण तथा मर्मतको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ। 

यसअघि कृषकहरुले सीता–डाँस खोलाबाट बालुवाको अस्थायी बाँध बनाएर सिँचाइका लागि पानी लैजाने गरेका थिए। अस्थायी बाँधलाई बाढीले बगाउने गरेको थियो। बारम्बार बाँध निर्माण र मर्मत सम्भारसँगै खर्च पनि उत्तिकै लाग्थ्यो। अस्थायी बाँध बनाएर कुलोमार्फत खेतसम्म पानी पुर्‍याउने गरिएको थियो। अब परियोजना निर्माणपछि त्यही कुलोलाई नहरमा परिणत गरेर खेत–खेतमा पानी वितरण गरिने छ। 

परियोजना सम्पन्न भएपछि सुनवर्षी नगरपालिका–१ मा ९५० बिघा, पथरीशनिश्चरे–६ मा २१ बिघा र पथरीशनिश्चरे–९ मा ११५ बिघा जमिनमा वर्षभरि सिँचाइ सुविधा पुग्ने उपभोक्ता समितिका अध्यक्ष प्रेम खालिङ राईले बताए। उनका अनुसार करिब तीन हजार कृषक परिवार प्रत्यक्ष लाभान्वित हुनेछन्। खेतीयोग्य जमिनमा पानी पुर्‍याउनुका साथै परियोजनाले कृषि उत्पादन प्रणालीलाई नै स्थायित्व दिने राईको भनाइ छ। 

अहिलेसम्म कृषकहरू अस्थायी बालुवाको बाँध बनाएर सिँचाइ गर्न बाध्य थिए। सुनवर्षी–१ का पूर्ववडाध्यक्ष टेकबहादुर भट्टराईका अनुसार बर्खाको बाढीले अस्थायी बाँध बगाइदिँदा हरेक वर्ष पुनःनिर्माण गर्नुपर्ने, समय र श्रम खर्च हुने र उत्पादनमा अनिश्चितता रहने समस्या थियो। ‘परियोजना सम्पन्न भएपछि सबै झन्झट अन्त्य हुनेछन्,’ उनले भने, ‘स्थायी सिँचाइ संरचनाले कृषकलाई नियमित र भरपर्दो पानी उपलब्ध गराउनेछ।’

सिँचाइ परियोजनाले कृषि क्षेत्रसँगै समग्र ग्रामीण अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने कोशीका प्रदेश सांसद एवं पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले बताए। अधिकारीदेखि स्थानीय जनप्रतिनिधि र कृषकहरुको अगुवाइ एवं पहलमा परियोजना निर्माण सुरु भएको हो। ‘नियमित सिँचाइ उपलब्ध भएपछि कृषकहरूले समयमै बाली लगाउन सक्छन्। उनीहरु बहुवर्षीय र नगदे बालीतर्फ आकर्षित हुन्छन्। उत्पादनको मात्रा तथा गुणस्तर दुवैमा सुधार आउँछ। यसले कृषकको आम्दानी वृद्धि गराउँछ। उनीहरुलाई आर्थिक रूपमा सबल बनाउँछ,’ उनी भन्छन्। 

सिँचाइ सुविधा विस्तारसँगै स्थानीय बजारमा खाद्यान्नको आपूर्ति बढ्ने अपेक्षा गरिएको छ। उनका अनुसार खाद्य सुरक्षा सुदृढ हुनेछ भने पोषण स्तरमा पनि सकारात्मक प्रभाव पर्नेछ। सिँचाइ परियोजनाले उत्पादन वृद्धिसँगै ग्रामीण जीवनस्तर सुधारमा योगदान पुर्‍याउने अधिकारी बताउँछन्। उनका अनुसार जलवायु परिवर्तनका कारण बढ्दो अनियमित वर्षा र खडेरीजस्ता चुनौतीको सामना गरिरहेका कृषकका लागि परियोजना सुरक्षाकवचसरह हुनेछ। परियोजनाको काम सकिएपछि वर्षा कम वा ढिलो भएमा पनि बालीनाली लगाउन नरोकिने उनको भनाइ छ।  

‘सिँचाइ परियोजनाले जोखिममुक्त बनाउँदै कृषि प्रणालीलाई स्थायित्व प्रदान गर्नेछ,’ उनी भन्छन्। यस परियोजनाको अर्को महत्वपूर्ण पक्ष भनेको स्थानीय सहभागिता हो। कृषकहरूले आर्थिक योगदान गर्दै परियोजनालाई अघि बढाएका थिए। परियोजना सञ्चालनका लागि प्रतिबिघा २ हजार ७ सय रुपैयाँका दरले रकम संकलन गरी १० लाख ६० हजार रुपैयाँ धरौटी जम्मा गरिएको पूर्ववडाध्यक्ष भट्टराईको भनाइ छ। लामो समयसम्म दातृ निकाय खोज्ने, डीपीआर तयार गर्ने र प्रशासनिक प्रक्रिया पूरा गर्ने क्रममा स्थानीय, जनप्रतिनिधि र सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको उनले बताए। 

उनका अनुसार प्रदेश सांसद अधिकारीको सक्रिय पहलले परियोजना कार्यान्वयनमा निर्णायक भूमिका खेलेको छ। भट्टराईका अनुसार सिँचाइ सुविधा पुगेपछि कृषकले वर्षभरि नै खेती गर्न पाउनेछन्। ‘उत्पादन बढ्नेछ। आम्दानीमा उल्लेखनीय सुधार आउनेछ। कृषकहरू व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै आत्मनिर्भर बन्ने आधार तयार भएको छ,’ उनले भने। 

सीता–डाँस–केर्खा सिँचाइ परियोजना कृषकका लागि दीर्घकालीन परिवर्तनको आधार भएको प्रदेश सांसद अधिकारी बताउँछन्। परियोजनाले पानीको आपूर्ति सुनिश्चित गर्नुका साथै कृषि प्रणालीमा आकर्षित हुन बल पुग्ने, उत्पादन वृद्धि गर्ने, आम्दानी बढाउने र ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने उनको भनाइ छ। ‘कृषकले अब आकाशको भरमा होइन, आफ्नै सिँचाइ प्रणालीमा भरोसा गरेर खेती गर्ने नयाँ युगको सुरुवात भएको छ,’ उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.