रास्वपाले पाइला–पाइलामा बुझ्नुपर्ने कुरा
आमनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व नतिजा निकाल्यो। दुईतिहाइका लागि २ सिट कम प्राविधिक कुरा हो। तर, मतदाताले उसलाई त्यही कोटीको विजय दिलाएका हुन्।
चुनावी नतिजालाई अनेक कोणबाट विश्लेषण गर्न सकिन्छ। मूलतः यो पुराना दलबाट आजित नागरिकले प्रकट गरेको मत हो र त्यसमा आशासमेत पक्कै मिसिएको छ। दुईतिहाइ नै भने पनि रास्वपाले पाएको मत भनेको झन्डै ४८ प्रतिशतमात्रै पनि हो। अर्थात् ५२ प्रतिशत मतदाता उसको विपक्षमा छन्। हाम्रो निर्वाचन प्रणालीअनुसार मात्रै उसँग दुईतिहाइ जस्तो मतदाताको समर्थन देखिएको हो।
यति कुरा ख्याल गरेर रास्वपाले सरकार चलाउन सक्दामात्रै पनि ऊ सफल हुने निश्चित छ। तर, विजयको उन्मादमा ऊ फस्यो भने यो पार्टी त पुरानाकै जस्तो हालतमा पुग्छ नै, सबैभन्दा नोक्सान देशलाई पुग्छ र जनताले फेरि दुःखको भुमरीमा पुग्छन्। यो कुरा रास्वपाका हरेक सांसदले हेक्का राख्नुपर्छ।
जित्यौं, अब देखाइदिन्छौं भनेर पुराना पार्टी र नेताहरूको तेजोबध गर्ने होइन, देश बनाइदिएर देखाइदिने जिम्मेवारी हो। हिजोका सांसद र दलहरूले जे–जे गरे, त्यही फुर्तिफार्ती र अराजनीतिक, अनैतिक र दम्भी व्यहोरा अवलम्बन रास्वपाका सांसदले नक्कल गर्नु हुन्न। मन्त्री बन्ने र शक्तिको दुरुपयोग गर्ने हिजोका विकृत तथा विसंगत राजनीतिबाट नै जनता वाक्क भएर रास्वपा रोजेका हुन्। अनि हिजो कुनै खास दलको बहुमत नपुग्दा जसरी गठबन्धन फेरिफेरि सरकार बने, त्यसबाट जनता वाक्क भएरै झन्डै दुईतिहाइ दिएका हुन्।
त्यसलाई बिर्सेर पार्टीभित्रै गुटउपगुट बनाउने र प्रधानमन्त्री तथा मन्त्री फेर्ने खेल गर्ने कमजोरी रास्वपाले गर्नै हुन्न। त्यसो त यही आशयको विचार रास्वपा सभापति रवि लामिछानेले सांसदहरूको अभिमुखीकरणको समापनमा बुधबार राखे। धेरै संयमित भएर जिम्मेवारी बोधको विचार राखिरहँदा उनले छुटाएको प्रतिबद्धता भने चुनाव अघि बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने भनेर गरेको बाचा हो। त्यसमाथि रविले उनको नामसम्म उच्चारण नगर्दा जुन संशय फुट र विभाजनलाई लिएर गरिएको छ, त्यसलाई नै बल पुगेको छ।
२०४८ पछि बहुमत दोहोर्याएरै जनताले कांग्रेसलाई दिए। कम्युनिस्ट मिल्दा दुईतिहाइ दिए। तर, कांग्रेस कम्युनिस्ट दुवैले ५ वर्ष सरकार टिकाउन सकेनन्। पार्टीको आन्तरिक शक्तिको रस्साकस्सीको भुमरी दोहोर्याउने प्रपञ्च नेताहरूले गरे पनि त्यसलाई सफल हुन नदिने कर्तव्य रास्वपा सांसदहरूको हो। त्यस निम्ति म र मेरा लागि होइन, पार्टी र देशका लागि भन्ने मन्त्र उनीहरूले आत्मसात गर्नुपर्छ। दुईतिहाइलाई प्रतिशोधमा उतार्नेतिर होइन, त्यो शक्तिलाई देश बदल्ने ऊर्जामा रूपान्तरण गर्ने उनीहहरूको कर्तव्य हो। शक्तिले मानिसलाई दृष्टिविहीन बनाउँछ। विवेकले मात्र त्यसलाई जोगाउन सक्छ।
सरकार फेरिए पनि नेपाली राज्य सत्ता निश्चित स्वार्थ समूहहरूकै हुन्छ भन्ने गरिन्छ। हो, त्यसबाट मुक्त हुन रास्वपा सांसदहरू पाइला–पाइलामा सचेत हुन जरुरी छ। जनताले विकास निर्माणमात्रै होइन, आफ्ना प्रतिनिधिहरूसँग इमानको पनि अपेक्षा गरेका छन्। नैतिकवान र जिम्मेवार कार्यशैली तथा जीवनशैली अपेक्षा गरेका हुन्। फेरि पनि सभापति लामिछानेले भने झै पुराना दललाई जनताले ३५/३६ वर्ष हेरे, रास्वपालाई भने त्यो छुट छैन, ३५, ३६ महिना पनि पर्खने धैर्य छैन।
सरकार बनेको ३५ दिनमै रास्वपाले सकारात्मक सुधारको संकेतको बत्ती बालिहाल्नुपर्छ। होइन भने जुन लहर र गतिमा रास्वपा उदायो, त्यही गतिमा धुलिसात हुन बेर लाग्ने छैन। तर, सभापति लामिछानेको बिहीबारको अभिव्यक्तिलाई धेरै सकारात्मक रूपमा लिन सकिन्छ। फेरि पनि पाइला–पाइलामा ती अभिव्यक्तिलाई कार्यान्वयनको पाटोबाट रास्वपाले जाँचिरहनुपर्छ। र, नियत सफा राखेर काम बढाए सफलता सम्भव छ। अहिलेलाई भने सकारात्मक आशासहितको शुभकामना रास्वपा र यसका सांसदहरूलाई।
प्रतिक्रिया दिनुहोस !