रेल दुर्घटनामा दुबै खुट्टा गुमाएका खगेन्द्रलाई प्रजिअ निरौलाले घरमै पुगेर दिए नागरिकता
बाजुरा : दुर्गम क्षेत्रका अशक्त नागरिकसम्म राज्यले सेवा पुर्याउने प्रयास स्वरूप बाजुरा जिल्ला प्रशासन कार्यालयले अशक्त नागरिकलाई घरमै पुगेर नागरिकताको प्रतिलिपी उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी( सीडीओ) डोरेन्द्र निरौलाले बुढीनन्दा नगरपालिका–६, कोटिलाका ३३ वर्षीय खगिन्द्र भाटलाई धनगढीस्थित बसोबासस्थलमै पुगेर नागरिकताको प्रतिलिपी हस्तान्तरण गरेका छन् ।
रेल दुर्घटनामा दुवै खुट्टा गुमाएका भाट हाल बाजुरामा हिँडडुल गर्न असहज भएपछि कैलालीको धनगढीमा कोठा लिएर बस्दै आएका छन्। उनको सन २०१८ सालमा भारतको मुम्बईस्थित बेलापुरमा काम गर्न जाने क्रममा भएको रेल दुर्घटनामा परेर दुवै खुट्ट गुमाएर अशक्त भएका थिए । सोही दुर्घटनाका क्रममा उनको नागरिकता समेत हराएको थियो ।
नागरिकता हराएसँगै भाट लामो समयदेखि राज्यबाट प्राप्त हुने आधारभूत सेवा सुविधाबाट समेत वञ्चित हुँदै आएका थिए । शारीरिक अक्तताले प्रशासनसम्म हिडर पुग्न नसकेका कारण पुनः नागरिकता बनाउन प्रक्रिया अघि बढाउन समेत कठिनाइ भएको उनले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार अशक्त तथा सेवासम्म पहुँच नपुगेका नागरिकलाई लक्षित गर्दै घरदैलोमै पुगेर सेवा प्रदान गरिएको हो । राज्यको सेवा सबै नागरिकसम्म समान रूपमा पुग्नुपर्छ भन्ने मान्यता अनुसार हामीले धनगढीमै पुगेर नागरिकताको प्रतिलिपी दिएको बताए ।
खगिन्द्रका बुबा मदनबहादुर भाटले वडाको सिफारिसका साथ जिल्ला प्रशासन कार्यालय पुगेपछि छोराको अवस्थाबारे जानकारी गराएका थिए । त्यसपछि प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउँदै घरमै पुगेर प्रतिलिपी वितरण गरेको हो ।
नागरिक समाजका अगुवा लक्ष्मीराज पाध्यायले राज्यको यस्तो पहलले सेवा प्रवाहलाई प्रभावकारी र समावेशी बनाउने बताए । अशक्त र पहुँचबाट टाढा रहेका नागरिकसम्म पुग्ने यस्ता कामले राज्यप्रतिको भरोसा बढाएको बताए ।
दुर्गम बाजुराबाट ३ सय किलोमिटर टाढा धनगढीसम्म पुगेर सेवा दिनु प्रशासनको सक्रियता र संवेदनशीलताको उदाहरण भएको स्थानीयले बताएका छन् । यसले सेवा लिन असमर्थ नागरिकका लागि राज्यको उपस्थिति अझ नजिकबाट अनुभूत गराएको समेत नागरिक अगुवाहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस !