नाराको भ्रम, मतको मर्म
फागुन २१ को निर्वाचनले नेपालको राजनीतिक इतिहासमा ‘नाराले होइन, व्यवहारले विश्वास जितिन्छ’ भन्ने महत्वपूर्ण निर्णायक सन्देश दिएको छ। दशकौंदेखि परिवर्तन, समृद्धि र रूपान्तरणका आकर्षक नारासहित मत माग्दै आएका परम्परागत दलहरूलाई यसपटक मतदाताले स्पष्ट अस्वीकार गरेका छन्।
नेपाली कांग्रेसको ‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ होस् वा एमालेको ‘समृद्ध देश, सुखी जनता’ भन्ने प्रतिबद्धता मतपेटिकामा पुग्दा खोक्रा सावित भए। चुनावी तथ्यांक आफैं बोल्छ। झन्डै १ करोड ९० लाख मतदातामध्ये करिब ६० प्रतिशतले मतदान गरेका यस निर्वाचनमा स्थापित दलहरूको मत उल्लेख्य रूपमा घट्यो। नयाँ शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अभूतपूर्व सफलता हात पार्दै संसद्मा ठूलो संख्यामा युवा प्रतिनिधि पठायो। यो चुनावी परिणाम मात्रै होइन, जनताको मनोविज्ञानको गहिरो परिवर्तनको संकेत हो।
मतदाताले किन पुराना दललाई अस्वीकार गरे ? र नयाँ दल अनि अनुहार रोजे ? यसको जवाफ दलहरूको व्यवहार र नयाँको सम्भावनामै भेटिन्छ। पुराना दलको सन्दर्भमा वर्षौंसम्म सत्तामा बसेर पनि जनतासँगको दूरी घटाउन नसक्नु, भ्रष्टाचार नियन्त्रणमा असफल हुनु र सत्ताका लागि असैद्धान्तिक गठबन्धन गर्नुले जनविश्वासमा क्षय भयो। जनताले विकासको अनुभूति गर्न सकेनन्, सुशासन अझै टाढाको सपना बनिरह्यो। जेन–जी विद्रोह विस्फोटक स्वरूप थियो तैपनि दलहरूले महाधिवेशन होस् वा एकीकरणका नाममा नेतृत्व आफैंमा सीमित गरेर चुनावमा पुगे। यो एआई पुस्ता हो। जसले सेकेन्डमा प्रश्नका उत्तर पाउने अपेक्षा राख्छ।
दलहरूले वक्तव्यबाट हामी फेरियौं भन्ने सन्देश त दिए तर जनताले त्यसलाई पत्याएनन्। पराजयपछि पनि नेताहरूले आत्मसमीक्षा गर्न सकेका छैनन्। बरु घात–अन्तर्घातको आरोप लगाउँदै आफ्नै कार्यकर्तामाथि कारबाहीको डन्डा चलाउने प्रवृत्ति देखिएको छ। देशका विभिन्न जिल्लाबाट कार्यकर्तालाई कारबाहीका लागि सिफारिस गर्ने क्रम बढ्दो छ। लुम्बिनी, मधेस र अन्य प्रदेशमा देखिएको विवाद, कुटाकुट र अराजकता लोकतान्त्रिक संस्कृतिका लागि लज्जास्पद दृश्य हुन्। लोकतन्त्रमा मत परिवर्तन जनताको अधिकार हो, अपराध होइन।
नेतृत्वले जनताले मत दिएनन् भने त्यसको दोष कार्यकर्तालाई होइन, आफ्नै कमजोरीलाई दिनुपर्छ। जनतासँग दूरी कसले बनायो ? किन जनताको पीडा सुन्ने कान बन्द भए ? यी प्रश्नहरूको उत्तर खोज्ने साहस नभएसम्म सुधार असम्भव छ। हारलाई षड्यन्त्रको कथामा लुकाउने प्रवृत्तिले दलहरूलाई अझ कमजोर बनाउने निश्चित छ। यस चुनावले नयाँ शक्तिमा उदाएको दललाई पनि स्पष्ट चेतावनी दिएको छ।
रास्वपाले पाएको जनमत स्थायी होइन, ससर्त हो। यदि, जनअपेक्षाअनुसार काम गर्न सकेन भने मतदाताले त्यसलाई पनि उस्तै गरी अस्वीकार गर्न समय लाग्ने छैन। अहिलेको परिणाम नै यसको ज्वलन्त उदाहरण हो, जहाँ शक्तिशाली ठानिएका दलहरू केही सिटमा सीमित हुन पुगे। त्यसैले अबको आवश्यकता नाराको होइन, व्यवहारको परिवर्तन हो। दलहरूले वास्तवमै सुधार चाहेका छन् भने नेतृत्वमा पुस्तान्तरण मात्र होइन, सोच र कार्यशैलीमा पनि परिवर्तन ल्याउनुपर्छ।
यसले संगठनभित्र नयाँ ऊर्जा र विश्वास सिर्जना गर्नेछ। नेताहरू साँच्चिकै सुधार गर्न सक्छन् भन्ने सन्देश दिनेछ। जनता अब प्रतीक्षा गर्दैनन्, निर्णय गर्छन् भन्ने सन्देश यो निर्वाचनले दिएको स्पष्ट छ। उनीहरूलाई आश्वासन होइन, परिणाम चाहिएको छ। त्यसैले अब पनि दलहरूले सन्देश नबुझे भने भविष्य अझ कठोर हुन सक्छ। समयले ढोका खुला राखेको छ तर ढोका बन्द हुने बेला टाढा छैन। दलका नीति र नेतृत्व सुझबुझ र समयसापेक्ष हुन आवश्यक छ।
प्रतिक्रिया दिनुहोस !