मौरीको घार बनाउँदै विद्यार्थी, बेच्दै विद्यालय
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका— ६ पाटीडाँडामा रहेको महेन्द्रोदय माध्यमिक विद्यालयका विद्यार्थीले आधुनिक मौरीको घार निर्माण गरी आम्दानी गर्न सुरु गरेका छन्।
घारहरू विद्यार्थीले फुर्सद तथा अतिरिक्त समय प्रयोग गरी टुनीको काठबाट तयार गर्ने गरेका हुन्। विद्यार्थीले बनाएको मौरीको घारलाई विद्यालयले बजार व्यवस्थापन गरी बिक्री गर्ने गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद दंगाल बताउँछन्। ‘विद्यालयले बजार व्यवस्थापन गरेसँगै विद्यार्थीले पठनपाठन, व्यावहारिक सीप र आम्दानी गर्ने अवसर पाएका छन्’, प्रधानाध्यापक दंगालले भने, ‘गाउँपालिका प्रमुख टपेन्द्र तिमल्सिनालाई घार बिक्री गर्दै यो कार्यको शुभारम्भ गरेका हौं।’
प्रतिघारको मूल्य ३५ सय तोकिएको छ। विद्यार्थीले आधुनिक घार बनाएको र विद्यालयले बेचिरहेको थाहा पाएर विभिन्न माहुरी फार्महरूबाट माग आइरहेको दंगालले बताए। विद्यालयले घार बिक्री गरेर आएको रकम घार निर्माणमा संलग्न विद्यार्थीलाई नै वितरण गर्ने गरेको उनले सुनाए। ‘हामीले उहाँहरूको सीपको सम्मान गरेका हौं, जति घार बिक्री हुन्छ त्यो रकम विद्यार्थीलाई नै वितरण गर्ने गरेका छौं’, उनले भने।
गाउँपालिका अध्यक्ष तिमल्सिनाले विद्यालयमा मौरीपालन जस्तो सिर्जनशील तथा आत्मनिर्भर कार्यक्रम सुरु भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन सुझाव दिए। उनले विद्यालयबाट ठूलो संख्यामा मौरीको घार उत्पादन भएमा बिक्री तथा अन्य आवश्यक सहयोगका लागि गाउँपालिकाले सहजीकरण गर्ने बताए।
सुनकोशी गाउँपालिकाकै पहिलो प्राविधिक विद्यालय महेन्द्रोदयले कक्षा ९ देखि १२ सम्म प्राविधिक धारको अध्ययन गराउँदै आएको छ। पढाइसँगै सीप र उत्पादनलाई जोड दिइएकाले विद्यार्थी व्यावहारिक ज्ञानमा दक्ष बन्दै गएको अभिभावक शेखर थापा बताउँछन्। विद्यार्थीले मौरीको घारदेखि विभिन्न सीपमूलक सामग्री उत्पादन गर्दै आएका छन्। उत्पादन भएका सामग्रीहरू बिक्रीसमेत हुँदै आएका छन्, जसले विद्यार्थीलाई आत्मनिर्भर बन्ने प्रेरणा दिएको उनले बताए।
विद्यालयमा अहिले चार सय विद्यार्थी अध्ययनरत छन्। विद्यालयको आफ्नै छात्रावास नभए पनि नजिकैका घर भाडामा लिएर छात्रावासको व्यवस्था गरिएको छ। यस विद्यालयमा सुनकोशी गाउँपालिका मात्र नभई अन्य पालिका तथा जिल्लाबाट समेत विद्यार्थी अध्ययनका लागि आउने गरेका छन्।
विद्यालयमा कठिन विषयहरूलाई सहज बनाउन स्मार्टबोर्डमार्फत पढाइने व्यवस्था गरिएको छ। प्रत्येक कक्षाकोठामा सीसीटीभी क्यामेरा जडान गरिएको छ, जसले सुरक्षा र अनुशासन कायम गर्न सहयोग पु¥याएको छ। विद्यालयको गुणस्तर विकास तथा नतिजा सुधारका लागि सार्वजनिक बिदा र शनिबारका दिन कक्षा ५, ८, १० र १२ का विद्यार्थीलाई अतिरिक्त परीक्षा लिने व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक दंगाल बताउँछन्।
प्रतिक्रिया दिनुहोस !