तीन पालिका, ६ सांसद
दाङ : प्रतिनिधिसभामो प्रतिनिधित्व कसरी हुन्छ होला ? हामीले बुझेको कानुनमा सुनिश्चित गरिएको प्रक्रिया तपाईं–हामीले सोचे जस्तै हो, प्रत्यक्ष र समानुपातिक। अहिले दुवै प्रक्रियाबाट प्रतिनिधिसभामा सांसदहरू चुनिसकिएका छन्। तर, संविधानले परिकल्पना गरेको प्रतिनित्वि भौगोलिक, समानुपातिक, समाबेंसी हो। त्यहीअनुसार पनि भएको छ। सरसर्तीभन्दा राजनीतिमा भूगोल र प्रतिनिधित्वको आफ्नै महत्त्व हुन्छ।
तर, दाङबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यको रोचक संयोग जुरेको छ। दाङको राजनीतिक परिदृश्यले एउटा रोचक इतिहास बनाएको छ। जुन सम्भवतः नेपालकै संसदीय इतिहासमा पहिलो हुन सक्छ। त्यो रोजक विषय र पक्ष हो दाङका तीन निर्वाचन क्षेत्रबाट एउटै पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) का ६ जना प्रतिनिधिसभा सभा सदस्य (सांसद) रहेका छन्। तीन निर्वाचित र तीन समानुपातिक। प्रत्येक्ष १ र समानुपातिक एक गरी एक निर्वाचन क्षेत्रमा दुई जना सांसद निर्वाचित भएका छन् ।
यसमा रोचक के छ भने क्षेत्रगत रूपमा प्रतिनिधित्व गर्ने दुवै जना सांसद एउटै पालिकाका बासिन्दा हुन्। तीनवटै क्षेत्रमा त्यो देखिएको छ। दाङमा ३ वटा पालिकाबाट नै रास्वपाले पाएको जिल्लाको ६ सिटको प्रतिनिधित्व गराएको छ। ६ जना सांसदहरू जिल्लाका ३ वटा पालिकामा मात्रै केन्द्रित छन्। दंगीशरण गाउँपालिका, तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकाबाट २/२ जना सांसद चुनिएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिन स्विप गरेको दाङले समानुपातिक सांसद पनि तीन जना थपेको छ। तीन निर्वाचित क्षेत्र रहेको दाङमा प्रत्यक्षमा ३ जना सांसद र समानुपातिकमा तीन जना सांसद पाएको हो। दाङको क्षेत्र नम्बर १ बाट गढवा गाउँपालिकाले दुईजना सांसद पाएको छ। प्रत्यक्ष निर्वाचित सांसद देवराज पाठक गढवा ६ गढवाका हुन् भने र समानुपातिक सांसद सुरेन्द्र चौधरी गढवा वडा नम्बर ४ का हुन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नं २ वाट निर्वाचित तुलसीपुर उपमहानगरपालिका वडा नं १२ निवासी विपिनकुमार आचार्य र समानुपातिक सांसद तुलसीपुर उपमहानगरपालिका–१४ निवासी क्रान्तिशिखा धिताल रहेका छन् । विपिन र क्रान्ति दुवै मिडियाकर्मी हुन् । काठमाडौंमा बसेर मिडिया कर्म गरेका दुवै जना अहिले रास्वपाबाट सांसद बनेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाले पनि क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित आचार्य र समानुपातिक सांसद धिताल सांसद पाएको छ। यस पालिकाले सांसदका रूपमा दुई जना जुझारु युवा नेतृत्व पाएको छ। त्यो पनि ४०मुनिका। त्यसैगरी दाङ निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित कमल सुवेदी र समानुपातिक सांसद खिमा विक दंगीशरण निवासी हुन्। सुवेदी दंगीशरण ४ र विक दंगीशरण १ निवासी हुन् । सामाजिक र युवाको क्षेत्रमा काम गरिरहेका सुवेदी २०७९ सालको निर्वाचनमा दाङ ३ बाट उम्मेदवार बनेका थिए।
दाङ क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने दंगीशरण गाउँपालिकाका लागि यो चुनावमा महत्त्वपूर्ण देखिएको छ। इतिहासमै पहिलोपटक एकैसाथ एकै पार्टीबाट दुई जना सांसद राष्ट्रिय राजनीतिमा पुर्याएको छ। ४० नकटेका दुवै सांसदको भूमिकामा रहनुले यस क्षेत्रको विकास र समृद्धिको आशा जगाएको स्थानीयहरूको भनाइ छ। नव उदयमान यी दुई युवा नेताको उपस्थिति विकास, शिक्षा र स्वास्थ्य क्षेत्रमा ‘कोल्टे फेर्ने’ विश्वास स्थानीयको छ। दाङबाट नेकपा एमालेले मुस्लिम महिला साजिदा खातुन सिद्दिकीलाई समानुपातिक सांसद बनाएको छ।
नयाँ पार्टीमा ६० काटेका सांसद
दाङ क्षेत्र नम्बर १ मा रहेको गढवा गाउँपालिकाले दुई जना सांसद पाएको छ। प्रत्यक्षतर्फ देवराज पाठक र समानुपातिकतर्फ सुरेन्द्र चौधरी सांसद बनेसँगै राप्तीपारिको क्षेत्रले केन्द्रमा बलियो पहुँच स्थापित गरेको छ। यी दुुवै जना नयाँ पार्टीका ज्येष्ठ सांसद हुन्। पाठक कांग्रेस राजनीतिबाट रास्वपा पुगेका ६० वर्ष माथिका ज्येष्ठ नागरिक हुन् भने चौधरी जातीय राजनीतिबाट उदाएका व्यक्ति हुन्।
प्रतिक्रिया दिनुहोस !