बन्द सडक खुलाउन हवाई फायर, १९ जना घाइते
गुलरिया : बर्दियाको गुलरिया नगरपालिका-११ स्थित गणेशपुर चोकमा प्रहरी र स्थानीय बीच झडप भएको छ। सीमा व्यवस्थापनको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयवासीहरूले मंगलबार बिहानैदेखि सरकारलाई दबाब दिन सडक बन्द गरेका थिए।
सोही वडास्थित ओरीपुर निवासी सहोदर दाजुभाइ ३६ वर्षीय सुरेश खटिकको शनिबार र ३३ वर्षीय राम बोहोरन खटिकको सोमबार एक्कासि मृत्यु भएपछि घटनाले उग्र रूप लिएको हो। गुलरिया नगरपालिका-११ का वडाध्यक्ष विष्णु यादवका अनुसार वडासँगै जोडिएको सीमावर्ती भारतीय लौकाही बजारमा पुगि गाउँका युवाहरूले कोरेक्स नामक ड्रग्स सेवन गर्ने गरेको बुझिएको छ।
भारतीय प्रहरीले उक्त औषधि बिक्री पसल अवैध भन्दै बन्द गराएपश्चात भारततर्फका व्यवसायीले विभिन्न विषादी प्रयोग गरी होममेड ड्रग्स बिक्री गर्ने गरेको र सोही सेवन गरेपश्चात दुवै दाजुभाइको मृत्यु हुन पुगेको स्थानीयको आरोप छ। वडाध्यक्ष यादवले भने, स्थानीयको माग सरकारले सुन्नु पर्छ। सीमा क्षेत्रमा निगरानी बढाउनु पर्नेमा उनको जोड छ। पछिल्लो समय सो सीमा लागूऔषधको हबका रूपमा चिनिन थालेको उनले प्रस्ट्याए।
खुला सिमानाका भएका कारण लौकाही बजारमा नेपालीको भीड हुने र लागुऔषधको समेत दुरुपयोग बढेका कारण सीमा बन्द वा व्यवस्थापन गर्नुपर्ने सरकारसँग माग राख्दै स्थानीयले सडक बन्द गराएको वडा नम्बर ११ स्थित गणेशपुर बजारका व्यवसायी युवराज कुँवरले बताएका छन्। सडक खुलाउने क्रममा आक्रोशित स्थानीयले सुरक्षाकर्मी उपर ढुंगामुढा गर्दा प्रहरी प्रतिरक्षामा उत्रिएको उनको भनाइ छ।
स्थानीय र प्रहरी बीच झडपका क्रममा प्रहरीले १० राउण्ड हवाई फायर र ४ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले जानकारी दिए। प्रतिरक्षाका क्रममा ७ जना जनपद प्रहरी र ६ जना सशस्त्र प्रहरी गरी १३ जना सुरक्षाकर्मी घाइते भएको उनले जनाए। जिल्ला अस्पताल गुलरियामा उपचार सम्भव नभएपछि १ जना प्रहरीलाई नेपालगन्ज रिफर गरिएको छ।
अन्य प्रहरीको अवस्था सामान्य रहेको डीएसपी विष्टको भनाइ छ। झडपका क्रममा ६ जना स्थानीय घाइते भएको र ९ जना व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिइएको वडाध्यक्ष यादवले बताए। घटनाको बारे थप अनुसन्धान भइरहेको जनाइएको छ। घटनापश्चात गुलरिया–नेपालगञ्ज सडकखण्डको गणेशपुर बजारको अवस्था सामान्य भएपछि सडक आवागमन निर्वाध सुचारु भएको छ। वडाध्यक्ष, स्थानीय सहित प्रशासन बीच वार्ता चलिरहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस !