३९ मृतकको सम्झनामा छ्योर्तेन निर्माण गरिने
सिन्धुपाल्चोक : २०७७ साउन ३० गतेको विनाशकारी पहिरोमा ज्यान गुमाएका ३९ जना स्थानीयको स्मृतिमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२, लिदीमा ३९ फिट अग्लो छ्योर्तेन (स्तुपा) निर्माण गरिने भएको छ। सिंगो गाउँ नै पहिरोको चपेटामा परेर भएको अपूरणीय क्षतिको सम्झना र मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न यो स्मारक बनाउन लागिएको जुगल गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बोले बताए। अध्यक्ष स्याङ्बोले एक विशेष कार्यक्रमका बीच उक्त छ्योर्तेनको शिलान्यास गरेका छन्।
पहिरोले उजाडिएको लिदी गाउँमा निर्माण हुने यो संरचनाले मृतकका परिवारलाई भावनात्मक राहत दिने र सो क्षेत्रको धार्मिक एवं पर्यटकीय गरिमा बढाउने विश्वास पालिकाले लिएको छ। बिहान करिब ६ बजे गएको पहिरोमा परी ३७ घर पूर्ण रूपमा पुरिएका थिए भने ३९ जनाले ज्यान गुमाएका थिए। २०७२ को महाभूकम्पले थिलथिलो पारेको पहाड साउन ३० गते बिहान करिब ६ बजे खस्दा ३७ घर पूर्ण रूपमा पुरिएका थिए। पहिरो जानुअघि नै स्थानीयले जोखिम महसुस गरी बस्ती स्थानान्तरणका लागि प्रशासनलाई निवेदन दिए पनि समयमै सुनुवाइ हुन नसक्दा यो ठूलो मानवीय क्षति हुन पुगेको थियो।
पहिरोपछि विस्थापित भएका १ सय ७२ परिवारहरू छरिएर बसोबास गरिरहेका छन्। कतिपय परिवार जुगल गाउँपालिका–१ को सेलाङस्थित बाँसखर्कमा बसिरहेका छन् भने कोही बराम्ची र चौतारामा सरेका छन्। यद्यपि, केही स्थानीयले अझै पनि आफ्नो पुस्तौनी थातथलो छोड्न सकेका छैनन्।
प्रतिक्रिया दिनुहोस !