देशकै उत्कृष्ट बन्यो चौतारा अस्पताल
सिन्धुपाल्चोक : सिन्धुपाल्चोक सदरमुकाममा रहेको चौतारा अस्पताल न्यूनतम सेवा मापदण्ड कार्यान्वयन तथा ‘क्लिनिकल अडिट’ मापनमा नेपालकै उत्कृष्ट बनेको छ । ५० शैया अन्तर्गतका अस्पतालमा गरिएको न्यूनतम सेवा मापदण्ड मापन ‘ए’ लेभलमा चौतारा अस्पतालले ९६ अंक प्राप्त गरी नेपालकै उकृष्ट हुन सफल भएको हो ।
बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले अस्पतालको अनुगमन प्रशासनिक व्यवस्थापनमा ९७ प्रतिशत, क्लिनिकल सेवा प्रवाहमा ९५ प्रतिशत र अस्पताल सर्पोट सर्भिसमा ९७ प्रतिशत गरी कुल १ सय प्रतिशतमध्ये ९६ प्रतिशत अंक ल्याएको हो । निर्देशनालले २०८२ चैत ८ र ९ गते अस्पतालमा न्यूनतम सेवा मापदण्डको अनुगमन गरेको थियो ।
अनुगमनपछि समीक्षा कार्यक्रममा विभिन्न २६ सूचाङ्कको आधारमा अनुगमन गरेको अनुगमन टोलीका सदस्य बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र लामाले बताए । तामाङसहितको पाँच सदस्यीय टोलीले अनुगमन गर्दा अस्पतालको सेवामा जम्मा १०० प्रतिशतमध्ये ९६ प्रतिशत ल्याई नेपालमै ५० शैया समूहमा प्रथम भएको कार्यक्रममा घोषणा गरिएको थियो । ‘चौतारा अस्पतालको रेकर्डिङ, नियमित मर्निङ कन्फरेन्स, डेटा भेरिफिकेशनलगायतका कामहरू देशभरमै साँच्चीकै उत्कृष्ट देखिएका छन्’, उनले भने, ‘यसले सेवा गुणस्तरमा निरन्तर सुधारको संकेत गर्दछ ।’
कार्यक्रममा १०० अंक ल्याउन ४ अंक नपुग्नुका कारणहरूबारे समेत समीक्षा गर्दै आगामी वर्ष शतप्रतिशत अंक ल्याउन काम गर्ने अस्पतालले जनाएको छ । ‘हामीले अस्पतालको सेवा र गुणस्तरमा अझ सुधार ल्याउने छौं’, अस्पतालका मेडिमल सुपरिटेन्डेन्ट डा. रुद्रमणी भण्डारीले भने, ‘हामीसँगै सबै कर्मचारीको प्रतिबद्धता र मेहनतले नै यस्तो उपलब्धि सम्भव भएको हो । हाम्रो मुख्य लक्ष्य सदैव बिरामीको सहज र गुणस्तरीय सेवा प्रदान गर्नु हो ।’
अस्पतालले आगामी वर्ष शतप्रतिशत अंक ल्याउने लक्ष्यसहित सुधारात्मक योजना अघि बढाउने जनाएको छ । यसअघि अस्पताल बागमती प्रदेशको प्रथम, देशभरीको दोस्रो भएको थियो । समीक्षा कार्यक्रममा चौतारा अस्पताल सञ्चालन समितिका अध्यक्ष केशवराज गिरी, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, प्रहरी प्रमुख काजीकुमार आचार्य, स्वास्थ्य निर्देशनालयका डा. माधव पौडेल, जनप्रतिनिधिहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस !