जेनजी आन्दोलनमा दमकल जलाइयो, अहिले आगो लाग्यो

जेनजी आन्दोलनमा दमकल जलाइयो, अहिले आगो लाग्यो
सुन्नुहोस्

सुनसरी : गत भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा सुनसरी इटहरी उपमहानगरमा रहेका २ वटा दमकलमा आगो लगाई क्षति पुर्‍याइयो। त्यसपश्चात् कोशी प्रदेशकै व्यस्त सहर इटहरी दमकलविहीन बनेको छ।

दमकल नहुँदा आगलागी तथा विपत्तिका घटना हुँदा इटहरी असुरक्षित भएको छ। बुधबार मात्रै इटहरी उपमहानगरपालिका–६ स्थित धरान रोडमा रहेको पूर्वाञ्चल आइसक्रिम क्याफेमा भएको आगलागीबाट करिब ३५ लाख रुपैयाँबराबरको क्षति भएको छ। क्याफेको भान्साबाट सुरु भएको आगो तीव्र रूपमा फैलिँदै भवनको तेस्रो तलासम्म पुगेको थियो। समयमै नियन्त्रणमा लिइएकाले ठूलो मानवीय तथा भौतिक क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार बिहान करिब १० बजे भान्सामा चिम्नी वेल्डिङ गर्ने क्रममा निस्किएको झिल्को नजिकै रहेको कार्टुनमा लागेपछि आगलागी सुरु भएको थियो। आगो विस्तार हुँदै किचनमा रहेका केक बनाउने सामग्री, भाँडावर्तन तथा अन्य उपकरणहरू पूर्णरूपमा जलेर नष्ट भएको सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेबेले जानकारी दिएका छन्। उक्त क्याफे पदमकुमारी श्रेष्ठको घर भाडामा लिएर सुकदेव बिडारीले सञ्चालन गर्दै आएका थिए।

जेन–जी आन्दोलनका क्रममा इटहरी उपमहानगरपालिकाको दमकलमा क्षति पुगेको कारण आगो नियन्त्रणमा सुरुवाती चरणमै समस्या भएको थियो। स्थानीय दमकल प्रयोग गर्न नसकिने अवस्थामा प्रहरी र स्थानीयवासीको सक्रियतामा धरान, इनरुवा, दुहबी, रामधुनी र मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट चारवटा दमकल मगाएर आगो नियन्त्रणमा लिइएको एसपी थेबेले बताए। करिब १ घण्टा ५० मिनेटको प्रयासपछि बिहान ११ः५० बजे आगो पूर्णरूपमा नियन्त्रणमा आएको उनले बताए।

एसपी थेबेले सबै पक्षको समन्वय र सक्रियताका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको बताए। ‘आगो तीव्र रूपमा घरको तेस्रो तलासम्म फैलिएको थियो, तर समयमै दमकल र सुरक्षाकर्मी परिचालन गरिएकाले अन्य घर तथा संरचनामा फैलिन पाएन,’ उनले भने। आगलागीको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको पनि एसपी थेबेले बताए।

घटनापछि स्थानीय व्यवसायीहरूले भने इटहरीमा दमकल सेवा प्रभावकारी नहुँदा जोखिम बढेको गुनासो गरेका छन्।

इटहरी–४ का व्यवसायी पूर्ण राईले दमकल अभावकै कारण आगो नियन्त्रणमा ढिलाइ भएको बताए। ‘कोशी प्रदेशकै व्यस्त सहरमा यस्तो अवस्था हुनु चिन्ताजनक हो, दमकल सेवा मजबुत नहुँदा ठूलो क्षति हुन सक्छ,’ उनले भने।

नागरिक समाज इटहरीका पूर्वअध्यक्ष राजु केसीले पनि इटहरी उपमहानगरपालिकालाई तत्काल क्षतिग्रस्त दमकल मर्मत गर्न र नयाँ सञ्चालनमा ल्याउन आग्रह गरेका छन्। उनले आगलागी जस्ता विपद् व्यवस्थापनका लागि स्थानीय तहले पूर्वतयारीमा ध्यान दिनुपर्नेमा जोड दिए। ‘इटहरी जस्तो व्यस्त सहरमा दमकल नहुनु गम्भीर लापरबाही हो, यसले भविष्यमा ठूलो जोखिम निम्त्याउन सक्छ,’ केसीले भने।

स्थानीयवासीको सक्रियता, सुरक्षा निकायको तत्परता र बाहिरबाट मगाइएका दमकलको सहयोगले आगो समयमै नियन्त्रणमा आए पनि यस घटनाले इटहरीको विपद् व्यवस्थापन प्रणालीको कमजोरी देखाएको छ।

विशेषगरी सहरी क्षेत्रमा आगलागीको जोखिम उच्च हुने भएकाले दमकल, आपतकालीन सेवा र पूर्वतयारी सुदृढ गर्नुपर्ने आवश्यकता पुनः देखिएको छ। यद्यपि, मानवीय क्षति नभएको र आगो अन्य घरमा फैलिन नपुगेकोले ठूलो विपद् टरेको स्थानीय कृष्ण कोइरालाले बताए। आगलागीको घटनाले व्यवसायी र स्थानीयवासीलाई सतर्क रहन तथा सुरक्षाका उपायहरू अपनाउन पनि सचेत गराएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.