‘परेको पानी, झरेका पात’ बाट कृषिमा क्रान्ति

‘परेको पानी, झरेका पात’ बाट कृषिमा क्रान्ति

सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–११ मा स्थानीयस्तरमै विकास गरिएको ‘इनोभेटिभ आइडिया’मार्फत कृषि प्रणालीलाई दिगो, आधुनिक र उत्पादनमुखी बनाउने सफल अभ्यास देखिएको छ। सीमित स्रोत, सुक्खाग्रस्त भूगोल र वन्यजन्तुको चुनौतीबीच वडाले अपनाएका नयाँ उपायहरूले कृषिमा उल्लेखनीय परिवर्तन ल्याएको हो।

वडाले ‘परेको पानी र झरेका पात’ लाई उपयोग गर्ने अवधारणालाई केन्द्रमा राख्दै जल र मल व्यवस्थापनमा नयाँ मोडेल विकास गरेको छ। सिँचाइ अभाव झेल्दै आएको क्षेत्रमा एक करोड लिटर क्षमताको वर्षा पानी संकलन गर्ने पोखरी निर्माण गरिएको छ भने थप ५ सयभन्दा बढी साना रिचार्जेबल पोखरीहरू बनाएर पानी संरक्षण र पुनर्भरणको काम गरिएको छ। यसले वर्षैभरि खेतीपाती सम्भव बनाएको स्थानीयहरू बताउँछन्।

विशेष गरी बाँदर र बँदेल—का कारण खेती छाड्ने अवस्थामा पुगेका किसानहरूलाई लक्षित गर्दै वडाले घना रुख व्यवस्थापन र तारबार प्रणाली लागू गरेको छ। साथै ‘फ्रुट फरेस्ट्री’ अवधारणामार्फत खेतीयोग्य जमिनको उपयोग बढाइएको छ। यस उपायपछि खेतीमा हुने क्षति न्यून भएको र किसानहरू पुनः कृषि पेसामा फर्किएका छन्। वडाध्यक्ष रोशनराज गिरीले स्थानीय समस्या समाधानका लागि स्थानीय स्रोत र सीपको प्रयोग गरिएको बताए। ‘पहिला बाँदर र बँदेलको समस्या यति धेरै थियो कि किसानले खेती गर्नै छाडेका थिए,’ उनले भने, ‘तर अहिले नयाँ उपाय अपनाएपछि किसानहरू ढुक्कले कृषि गरिरहेका छन्।’

पशुपालनलाई मजबुत बनाउन ‘घाँसघर’ सञ्चालनमा ल्याइएको छ, जहाँ साइलेज प्रविधिबाट मकैको ढोड र घाँसलाई प्रशोधन गरी वर्षभरि उपयोग गर्न मिल्ने बनाइएको छ। यसले हिउँदमा समेत हरियो घाँस उपलब्ध गराउने समस्या समाधान गरेको छ। ढुवानी खर्चसमेत वडाले बेहोर्दा किसानलाई थप राहत पुगेको छ।

त्यसैगरी, जंगलमा खेर जाने पातपतिङ्गर संकलन गरी कम्पोस्ट मल उत्पादन गर्ने अभियान सञ्चालन गरिएको छ। यसले रासायनिक मलमा निर्भरता घटाउँदै माटोको उर्वराशक्ति सुधार गर्न मद्दत पुर्‍याएको छ।

कृषकलाई प्रोत्साहन गर्न ‘पशु सापटी कार्यक्रम’ पनि सञ्चालनमा छ, जसअन्तर्गत गाईभैंसी र बाख्रा पालनका लागि सहुलियत ऋण प्रदान गरिन्छ। तीन वर्षपछि मात्रै फिर्ता गर्नुपर्ने व्यवस्था गरिएकाले धेरै किसान यसतर्फ आकर्षित भएका छन्।

यी अभ्यासहरूको अवलोकनपछि कृषि तथा पशुपक्षी विकास मन्त्री डा. मदन परियारले वडाले लागू गरेका उपायहरू उदाहरणीय रहेको बताए। ‘यहाँ असाध्यै उदाहरणीय काम भएको पाएँ। कृषिमा नयाँ–नयाँ ‘इनोभेटिभ आइडिया’ लागू भएका रहेछन्,’ उनले भने, ‘हामीले बाँदर, बँदेलले दुःख दिएको कुरा गर्छौं तर यहाँ त्यसको समाधानका लागि अपनाइएको तरिका प्रभावकारी देखियो। यस्ता अभ्यास देशभर लागू गर्नुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.