एआई जडित डिजिटल एक्सरेबाट क्षयरोगी पत्ता लगाउन सहज
क्षयरोगका बिरामी बढिरहेका छन् कि घटेका छन् ?
क्षयरोग एक संक्रामक रोग हो। उपचारपछि निको हुने रोग हो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सन् २०२४ मा प्रकाशित गरेको तथ्यांकअनुसार नेपालमा अनुमानित झन्डै ६७ हजार नयाँ क्षयरोगका बिरामी छन्। त्यसअघि ६९ हजार र त्यसभन्दा पनि अघि ७० हजार क्षयरोगी रहेको तथ्यांक सार्वजनिक भएको थियो। यसरी तथ्यांकका रूपमा हेर्दा बिरामी घटेको देखिन्छ। तर, वास्तविक अवस्था हेर्दा खासै बढेको वा घटेको पनि छैन। बिरामीको संख्या स्थिर जस्तो नै छ।
क्षयरोगका कतिपय बिरामीको पहिचान नै हुन सकेको छैन। हरेक वर्ष तीन प्रतिशतले क्षयरोगका बिरामी घटेको तथ्यांक छ नि ?
हो, तथ्यांकले हरेक वर्ष क्षयरोग तीन प्रतिशतले घटेको देखाउँछ। तर, हाम्रो जनसंख्या बढिरहेको र कतिपय बिरामीको पहिचान नै हुन नसकेको अवस्था पनि छ। अझै पनि अनुमानित ४२ प्रतिशत बिरामी उपचारको पहुँचमा आउन सकेका छैनन्। तै पनि नेपालले पछिल्ला वर्षहरूमा क्षयरोग नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको छ।
प्रगति हासिल गरेको हो भने अझै पनि हरेक वर्ष करिब १६ हजार जनाको मृत्यु क्षयरोगकै कारण किन भइरहेको छ ?
गत आर्थिक वर्ष २०८०/०८१ मा ३९ हजार १ सय ५१ जना क्षयरोगका बिरामी पहिचान गरिएको थियो। तीमध्ये ६१ प्रतिशत पुरुष, ३९ प्रतिशत महिला र ५ दशमलव ६ प्रतिशत १५ वर्षमुनिका बालबालिका थिए। क्षयरोगका नयाँ बिरामीमध्ये झन्डै ४० प्रतिशत बिरामी त उपचारमै आएनन्। उपचार नलिएका ज्यान गुमाइरहेका बिरामीका कारण मृत्यु बढी देखिएको हो। नेपालमा उपचार सफलता दरतर्फ क्षयरोगको उपचारमा ९२ प्रतिशत र औषधि प्रतिरोधी क्षयरोग (एमडीआर टीबी) मा ७६ प्रतिशत रहेको छ।
क्षयरोगका बिरामी कुन प्रदेशमा बढी छन् ?
जहाँ जनसंख्या धेरै छ, त्यहाँ क्षयरोगका बिरामी बढी पाइएका छन्। क्षयरोगका कारक तत्वमा गरिबी, कुपोषण, मद्यपान, धूमपान, एचआईभी संक्रमण हुन्। कुल क्षयरोगीको २५ प्रतिशत मधेस प्रदेशमा पाइएको छ। मधेस प्रदेशपछि बागमती र लुम्बिनी प्रदेशमा बढी क्षयरोगका बिरामी
फेला परेका छन्।
कुन अंगको क्षयरोग बढी देखिएको छ ?
क्षयरोग शरीरका जुनसुकै अंगमा पनि हुन सक्छ। नेपालमा बढी फोक्सोको क्षयरोग बढी देखिएको छ। उपचारमा रहेका बिरामीमध्ये झन्डै ७२ प्रतिशतमा फोक्सोसम्बन्धी क्षयरोग देखिएको छ। बाँकी २८ प्रतिशतमा फोक्सोबाहेक अन्य अंगमा हुने क्षयरोग देखिएको छ।
के, कस्ता लक्षण देखिएमा क्षयरोगको आशंका गर्न सकिन्छ ?
कुन अंगको क्षयरोग लागेको हो। त्यहीअनुसारको लक्षण देखिने हुन्छ। सामान्यतया, दुई हप्ता वा बढी समयसम्म खोकी लाग्ने, ज्वरो आउने हुन्छ। फोक्सोभित्रको क्षयरोग भएमा खोकी लाग्ने, खकारमा रगत देखिने, हल्का ज्वरो आउने, तौल (वजन) घट्दै जाने हुन्छ। पसिना आउने, खान मन नलाग्ने, दुब्लाउँदै जानेजस्ता लक्षणहरू देखिन सक्छ। कुन अंगमा क्षयरोग भएको छ। त्यसैअनुसार लक्षण देखिन्छ। जस्तो मस्तिष्कको क्षयरोग भएको छ भने वाकवाकी हुने, बान्ता आउने हुन्छ। जोर्नीका क्षयरोग भएको छ भने जोर्नी सुन्निने, दुख्ने हुन्छ। लक्षण देखिनेबित्तिकै नजिकको स्वास्थ्य संस्थामा गएर क्षयरोग हो कि होइन यकिन गर्न सकिन्छ। यदि क्षयरोग भएको रहेछ भने औषधि निःशुल्क उपलब्ध हुन्छ।
झन्डै ४२ प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरामा छैनन्। कसरी उपचारको पहुँच पुर्याउन सकिएला ?
पहिलो कुरा त क्षयरोग हुँदाहुँदै पनि किन बिरामीहरू उपचारमा नआई हराएका छन् ? यसमा ध्यान दिनुपर्छ। त्यसपछि बिरामी खोजबिनतिर लाग्नुपर्छ। कतिपयले निजी स्वास्थ्यसंस्थामा पनि उपचार गराइरहेका हुन सक्छन्। दूरदराजमा क्षयरोगको उपचार सेवा विस्तार हुन सकेको छैन। कतिपय ठाउँमा उपचारमा दक्ष जनशक्ति छैन। उपकरण छैन। प्रमुख समस्या त यहीँ नै हो। कतै दक्ष जनशक्ति छैन। जनशक्ति छ भने जाँच गर्ने उपकरण वा व्यवस्था छैन। यसबाहेक अन्य कारणहरू पनि छन्। क्षयरोग भए पछि लुकाउने प्रवृत्ति पनि छ। क्षयरोगीलाई लाञ्छना लगाउने, भेदभाव गर्ने समस्याले पनि उपचारमा आउन जटिल बनाएको हो।
क्षयरोगी पत्ता लगाउन दूरदराजमा स्वास्थ्य शिविर (हेल्थ क्याम्प) भइरहेको छ। तर, यसलाई अझ बढाउनुपर्ने खाँचो छ। दक्ष जनशक्ति, उपकरणसहित दूरदराजमा स्वास्थ्य शिविर गर्दा पनि धेरै क्षयरोगी उपचारको दायरामा ल्याउन सकिन्छ। हामीले हरेक वर्ष क्षयरोगका जाँच केन्द्र (डायग्नोस्टिक केन्द्र) बढाइरहेका छौं। देशभरका ६ हजार २ सय ४१ क्षयरोग उपचार सेवा उपलब्ध छ। ७ सय ८५ संस्थामा माइक्रोस्कोपिक सेवा छ। १ सय ४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क सञ्चालनमा छ। साथै औषधि प्रतिरोधी क्षयरोगका लागि ३१ केन्द्र र ९८ उपकेन्द्र सञ्चालनमा छन्। १ सय ४९ स्थानीय तहमा क्षयरोग मुक्त नेपाल अभियान विस्तार गरिएको छ। बजेटको कमीका कारण पनि अझैं धेरै काम गर्न सकिएको छैन।
क्षयरोगका कतिपय बिरामी पत्ता नलागेको र पत्ता लागेका बिरामी पनि उपचारको दायरामा नआउँदा स्वस्थ्य व्यक्तिलाई संक्रमण हुने जोखिम कत्तिको छ ?
यो निकै जोखिमको अवस्था हो। क्षयरोगका बिरामीले खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा हावा मार्फत फैलिन्छ। ती कीटाणुहरू श्वास फेर्दा शरीरमा प्रवेश गरेर क्षयरोगको संक्रमण हुन सक्छ। जहाँ पनि जुनसुकै व्यक्तिलाई रोग सर्ने जोखिम हुन्छ। क्षयरोगी स्वयम् पनि ज्यान जोखिममा पर्ने र अरू स्वस्थ व्यक्तिलाई संक्रमण गराउने जोखिम उच्च हुन्छ। त्यसकारणले नै क्षयरोग अहिले पनि प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको छ।
उपचार गर्दागर्दै बीचैमा औषधि सेवन गर्न छोड्ने प्रवृत्ति कस्तो छ ?
यस खालको प्रवृत्ति पहिला धेरै थियो। अहिले अलि कम छ। सुरुदेखि नै उपचारमा नगर्ने धेरै छन्। तर, उपचार सुरु भएपछि बीचैमा औषधि सेवन गर्न छोड्ने प्रवृत्ति धेरै कम हुँदै गएको छ।
औषधि प्रतिरोधी क्षयरोग (एमडीआर टीबी) भनेको के हो ?
क्षयरोगको फस्ट लाइनको औषधि एकदमै कडा खालको हुन्छ। त्यो औषधिले प्रभाकारी काम गर्न सकेन अर्थात् ब्याक्टेरियाले काम गर्न असक्षम गरायो भने औषधि प्रतिरोधी क्षयरोग (एमडीआर टीबी) भनिन्छ। औषधि प्रतिरोधी क्षयरोगका ६ सय २५ जना बिरामी पहिचान गरिएको छ।
एआई जडित डिजिटल एक्स–रे र द्रुत परीक्षणले रोगको पहिचानमा कत्तिको सहजता ल्याएको छ ?
तीन वर्षदेखि एआई जडित डिजिटल एक्सरे उपयोग गरिरहेका छौं। डिजिटल एक्सरे ग्लोबल फन्डबाट नेपाल सरकारलाई उपलब्ध गराइएको हो। नौ वटा एक्सरे मेसिन आएको छन्। यस पटक थप दुईवटा मेसिन पनि प्राप्त हुँदैछ। यस खालको एक्सरेका कारण समयको बचत भएको छ। खर्च कम भएको छ। न्यून खर्चमा धेरै शिविर गर्न सकिएको छ। बिरामीको पनि समय र खर्च बचत भएको छ।
नेपालमा क्षयरोग नियन्त्रणका चुनौतीहरू के छन् ?
दूरदराजमा सेवा विस्तार गरी क्षयरोगका बिरामीको उपचारमा पहुँच पुर्याउने चुनौती छ। त्यसका लागि आवश्यक जनशक्तिलाई तालिम दिनुपर्ने जरुरी छ। उपचारको दायरा बढाउनुपर्ने चुनौती छ। मोलिकुलर डायग्नोस्टिक टेस्टको अत्याधुनिक उपकरण व्यवस्था गर्नु पर्नेछ। बजेट अभाव छ। हामीले गर्नै नसक्ने भने होइन। अन्य देशले गरेका छन् भने हामीले गर्न किन नसक्ने ?
क्षयरोगविरुद्धको खोप (भ्याक्सिन) ल्याउने तयारी के कस्तो छ ?
माइको ब्याक्टेरियम ट्युबरक्लोसिसद्वारा क्षयरोग लाग्ने हो। क्षयरोग निम्त्याउने जीवाणुविरुद्ध खोप बनाउन विकसित मुलुकहरू लागिरहेका छन्। कतिपय खोपको प्रारम्भिक परीक्षणसमेत भइसकेको छ। १२ वटा खोप क्लिनिकल ट्रायलमा छन्। जसमध्ये तीनवटा खोप तेस्रो चरणको ट्रायलमा छन्। एम ७२ भ्याक्सिन सबैभन्दा प्रभावकारी मानिएको छ।
यसबारेमा भारतमा पनि अध्ययन भइरहेको छ। विश्वमा सबैभन्दा बढी क्षयरोगीहरू भारतमा छन्। भारतमा खोपको अनुसन्धान सफल भएमा हामीलाई उपलब्ध हुने विश्वास गर्न सकिन्छ। केही वर्षभित्रै खोप ल्याउन सकियो भने नेपाललाई क्षयरोग मुक्त गर्न सकिन्छ। नेपालमा सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्ममा क्षयरोग मुक्त बनाउने लक्ष्य छ। समयमै खोप ल्याउन सके क्षयरोग नियन्त्रण पनि चाँडै हुने थियो।
प्रस्तुति : दिनेश गौतम
प्रतिक्रिया दिनुहोस !