धमिलो बन्यो सप्तकोशी पर्यटन व्यवसाय प्रभावित

धमिलो बन्यो सप्तकोशी पर्यटन व्यवसाय प्रभावित
सुन्नुहोस्

सुनसरी : पूर्वी पहाडी जिल्लाहरूमा वर्षा सुरु भएसँगै सप्तकोशी नदी धमिलो बन्न थालेको छ। वर्षायामको आगमनसँगै आएको बाढीले पहाडबाट बग्ने माटो, ढुंगा र बालुवाले सप्तकोशी नदीको पानी धमिलो बनाउने क्रम सुरु भएको छ। यसले प्राकृतिक सौन्दर्यमा असर पार्नुका साथै कोशी किनारमा सञ्चालित पर्यटन व्यवसायमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ।

कोशी प्रदेश र मधेस प्रदेशको सीमामा बग्ने सप्तकोशी नदी जलयात्रा, अवलोकन र धार्मिक पर्यटनका हिसाबले अत्यन्त महŒवपूर्ण मानिन्छ। विशेषगरी सुनसरीको वराह क्षेत्र नगरपालिका क्षेत्र आसपासका स्थानहरूमा नदी किनारको दृश्यावलोकन, स्नान तथा धार्मिक गतिविधिका लागि दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। तर, पछिल्लो समय नदी धमिलो भएसँगै पर्यटक आगमनमा उल्लेखनीय कमी आएको स्थानीयले बताएका छन्।

वराह क्षेत्र नगरपालिकाका ७ का वडाध्यक्ष कपिल आचार्यका अनुसार सप्तकोशी नदी सामान्यतया स्वच्छ र आकर्षक देखिने भएकाले यहाँ जलपर्यटनको सम्भावना उच्च छ। तर, वर्षाका कारण नदी धमिलो भएपछि पर्यटकहरू आकर्षित हुन नसक्ने अवस्था सिर्जना भएको उनले बताए। ‘सप्तकोशीको सौन्दर्य नै यहाँको प्रमुख आकर्षण हो तर पानी धमिलो भएपछि पर्यटकको चासो घट्छ,’ उनले भने।

सप्तकोशी नदीकिनारमा पर्ने कोशी ब्यारेज, प्रकाशपुर, देबीघाट, बोराबाध र चतराजस्ता क्षेत्रहरूमा देशका विभिन्न जिल्लाबाट मात्र नभई छिमेकी देश भारतबाट समेत पर्यटकहरू आउने गरेका छन्। विशेषगरी चतरा र कोशी ब्यारेज क्षेत्र फोटो खिच्ने, पिकनिक मनाउने र घुमफिर गर्नेका लागि लोकप्रिय गन्तव्यका रूपमा चिनिन्छ।

यसका साथै सप्तकोशी नदी क्षेत्र जैविक विविधताका हिसाबले पनि अत्यन्त महत्वपूर्ण मानिन्छ। यहाँ हजारौं प्रजातिका चराचुरुंगी अवलोकन गर्न पाइन्छ, वन्यजन्तुहरू जस्तै हात्ती, गैंडा र अर्ना हेर्न पाइने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण केन्द्र बनेको छ। बोराबाध पर्यटन विकास समितिका अध्यक्ष वसन्त राईले सप्तकोशी नदी क्षेत्रमा पाइने यस्ता जैविक सम्पदाले पनि पर्यटन प्रवर्धनमा ठूलो योगदान पुर्‍याउँदै आएको बताए।

सप्तकोशी नदीमा पानी बोटमार्फत गरिने जलयात्रा (रिभर राइड) पर्यटकका लागि विशेष आकर्षण मानिन्छ। नदीमा बोटिङ गर्दै आसपासका प्राकृतिक दृश्य अवलोकन गर्ने अनुभवका लागि धेरै पर्यटक आउने गरेका छन्। उनले भने, ‘सप्तकोशीको माछा स्वादिलो हुने भएकाले यहाँ आउने पर्यटकले स्थानीय परिकारको मज्जा लिन पनि रुचाउँछन्, जसले गर्दा होटेल तथा रेस्टुरेन्ट व्यवसायमा समेत राम्रो आम्दानी भइरहेको छ।’

सप्तकोशी धमिलो भएसँगै आसपासका क्षेत्रमा देखिने भिड घट्दै गएको छ। बोराबाधका पर्यटन व्यवसायी मधुकर तामाङका अनुसार वर्षात् सुरु भएलगत्तै पर्यटकको संख्या अत्यन्त न्यून भएको छ। ‘पहिले दैनिक हजारौंको संख्यामा आउने पर्यटक अहिले एकदमै कम देखिन्छन्,’ उनले भने, ‘नदीमा बाढी आउँदा पानी धमिलो हुने भएकाले पर्यटकहरू आउने क्रम घटेको छ।’

यसको प्रत्यक्ष असर स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायमा परेको छ। सप्तकोशी नदीकिनारमा सञ्चालन हुँदै आएका सयौं साना–ठूला होटल, लज तथा खानपानका व्यवसायहरू पर्यटकमै निर्भर छन्। चतराका होटल व्यवसायी रोशन श्रेष्ठका अनुसार नदीको मनमोहक दृश्य हेर्न आउने पर्यटकका कारण यहाँको व्यवसाय फस्टाएको थियो। ‘अहिले पानी धमिलो भएपछि ग्राहक घटेका छन्, जसले गर्दा आम्दानीमा पनि गिरावट आएको छ’, उनले भने। व्यवसायीका अनुसार पर्यटकको कमीले दैनिक सञ्चालन खर्च धान्नसमेत कठिन हुन थालेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.