सन्दीप चम्किँदा बागमती बिजयी

सन्दीप चम्किँदा बागमती बिजयी

वीरगन्ज : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार बागमतीले कर्णाली प्रदेशमाथि ६० रनको जित हात पारेको छ । जनकपुरधामस्थित रामजानकी मैदानमा आफूले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको कर्णालीलाई १२० रनमा रोक्दै बागमतीले जित निकालेको हो।

बागमतीको जितमा कप्तान सन्दीप लामिछाने नायक सावित भए । कर्णालीविरुद्ध ९.१ ओभर बलिङ गरेका सन्दीपले ४० रन खर्चिएर महत्वपूर्ण सात विकेट चट्काए । सन्दीपले सुनिल धमला, निश्चल रावल, विपिन शाही, अर्जुन घर्ती, दीपेन्द्र रावत, दिनेश अधिकारी र दिवन पुनको विकेट लिए ।
बागमतीका रिजन ढकाल, प्रतिश जिसी र सुवास खत्रीले एक-एक विकेट हात पारे । कर्णालीका निश्चल रावलले सर्वाधिक ३१ रन बनाए । यसैगरी दिनेश अधिकारीले २२, विपिन शाहीले १५, सुनिल धमलाले १४ र दिवन पुनले १० रन जोडे ।

यसअघि टस हारेर ब्याटिङ गरेको बागमतीले ३८.४ ओभरमा सबै विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । बागमतीका लागि विवेक मगरले अर्धशतकीय पारी खेले । ५६ रन बनाएका विवेकले ८० बलमा दुई चौका र चार छक्का प्रहार गरे । यसैगरी बागमतीका लागि इशान पाण्डेले २७, पवन थापाले २२, शुभ कंसकारले २० र शिभम तिवारीले १८ रन जोडे ।

कप्तान सन्दीप लामिछानेले दुई रनमा रनआउट हुन पुगे । बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । कर्णालीका कप्तान दिवन पुनले तीन विकेट लिए । यसैगरी प्रकाश जैसी, दीपेन्द्र रावत र निश्चल रावले समान दुई-दुई विकेट हात पारे । जितसँगै बागमती अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । प्रतियोगितामा पाँच खेल खेलेको बागमतीले दुई खेलमा जित हात पार्दा अन्य तीन खेलमा हार व्यहोरेको छ ।

पहिलो खेलमा एपीएफसंग ७१ रनले हारेको बागमतीले दोस्रो खेलमा गण्डकीलाई एक सय ७० रनले हराएको थियो । तेस्रो खेलमा पुलिससंग सात विकेटले पराजय भोगेको बागमती चौथो खेलमा आर्मीसँग तीन विकेटले पराजित हुन पुगेको थियो । यसअघिका सबै खेल काठमाडौंको मुलपानी मैदानमा खेलेको बागमतीले पहिलो पटक मधेसको मैदानमा खेलेको हो ।

यता समान पाँच खेल खेलेको कर्णाली अंकतालिकाको आठौं स्थानमा छ । पहिलो खेलमा बर्षा बाधक बनेपछि लुम्बिनीसँग अंक बाँडेको कर्णाली दोस्रो खेलमा सुदूरपश्चिमसँग चार विकेटले पराजित भएको थियो । यसैगरी तेस्रो खेलमा कोशीलाई १६ रनले हराएको कर्णालीले चौथो खेलमा भने मधेससँग पाँच विकेटको पराजय व्यहोरेको थियो ।

प्रतियोगिता अन्तर्गत बिहीबार जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा मधेस प्रदेश र त्रिभूवन आर्मी क्लब भिड्नेछन् भने वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा गण्डकी र सुदूरपश्चिमबीच खेल हुनेछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा चैत ७ गतेदेखि जारी प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको शीर्ष चार टोली जय ट्रफीका लागि छनौट हुनेछन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.