जालपादेवीको गोप्य भविष्यवाणी राष्ट्रपतिकहाँ पठाइयो
देवीघाट : यसअघिका वर्षजस्तै यस वर्ष पनि नुवाकोटको त्रिशूली र सूर्यमति नदीको संगमस्थलमा रहेको देवीघाटस्थित जालपादेवी मन्दिरमा विशेष मेला सम्पन्न भएको छ। मन्दिर नजिकै रहेको त्रिशूली नदीमा नुहाउने हजारौंको भिड लागेको थियो। हरेक वर्ष ठूलो भिडभाड र ठेलमठेलका साथ देवीघाटस्थित जालपादेवी मन्दिर क्षेत्रमा लाग्ने मेला यस वर्ष शुक्रबार सकिएको छ।
सदियौंदेखि चैत्र शुक्ल पूर्णिमाको दिन चल्दै आएको नुवाकोटको प्रमुख तथा ऐतिहासिक जालपादेवी जात्रामा आगामी वर्ष देशमा हुने घटनाक्रमहरूको भविष्यवाणी गोप्य रूपमा राष्ट्रपतिलाई पठाइँदै आएको छ। यस वर्षसमेत मेलामा गरिएको भविष्यवाणी गोप्य रूपमा राष्ट्रपतिकहाँ पठाइएको छ। यस वर्ष जालपादेवीमा १० हजार तीर्थालुले मेला भरेका छन्।
मेला भर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, काभ्रे, चितवन, मकवानपुरलगायत देशका धेरै स्थान तथा भारतबाट समेत तीर्थालुहरू आउने गरेका छन्। यस वर्ष मेलामा गत वर्षको तुलनामा धेरै तीर्थालु आएको पुजारी शंकर चित्रकारले बताए। मन्दिरमा यस वर्ष मेलाको अवसरमा बिहीबार राति पुजारीले पूजापाठको विधि गरे। वैशाख पूर्णिमाको अवसरमा प्रत्येक वर्ष हुने यस मेलामा देशमा आगामी वर्ष हुने घटनाक्रमहरूको गोप्य रूपमा भविष्यवाणी गरेर राष्ट्रपतिकहाँ लैजाने प्रचलन छ। धामीले गोप्य रूपमा गरेको भविष्यवाणी दूतलाई मात्र जानकारी हुने गरेको छ। धामीले प्रसिद्ध त्रिशूली र सूर्यमति नदीको किनारमा रहेको जालपादेवी मन्दिरमा सञ्चालित जात्रामा मात्र भविष्यवाणी गर्ने गरेका छन्।
धामीले गरेको भविष्यवाणी द्वारेमार्फत शीतल निवास राष्ट्रपतिकहाँ पुर्याउने चलन छ। धामीले आगामी वर्ष देशमा हुने घटनाक्रमका विषयमा गरिने भविष्यवाणी पहिले राजालाई पठाउने गरिएकामा देशमा गणतन्त्र आएसँगै १९ वर्षदेखि राष्ट्रपतिकहाँ पठाउने गरिएको छ। मन्दिरमा पूजापाठ गर्दै आएका शंकर चित्रकारका अनुसार सो मेलाका लागि सरकारीस्तरबाट पाँचवटा बोका, पाँचवटा राँगा तथा एक/एकवटा हाँस तथा कुखुरा बलि चढाउन दिने प्रचलन छ। मेलामा धामी हरिमानसिंह डंगोलले देशमा आगामी वर्ष घट्ने घटनाहरूको घटनाक्रमको भविष्यवाणी गर्ने प्रचलन छ। धामीले जीवनभर कुनै पनि नदी तर्न हुँदैन भन्ने जनविश्वास पनि रहँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !