इजरायली हमलाको चेतावनीपछि सिरिया–लेबनान मुख्य सीमा नाका बन्द
दमासकस : मध्यपूर्वमा तनाव बढ्दै जाँदा सिरियाले लेबनानसँग जोडिएको आफ्नो मुख्य सीमा नाका बन्द गरेको छ। इजरायली सेनाले सम्भावित हमलाको चेतावनी दिएलगत्तै सिरियाले यो कदम चालेको हो।
इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका सैन्य संरचनाहरूलाई निशाना बनाउँदै आएको छ। पछिल्लो समय सिरियाली भूमि भएर लेबनानतर्फ हतियार आपूर्ति भइरहेको दाबी गर्दै इजरायलले सीमा क्षेत्रमा हमला गर्ने चेतावनी दिएको थियो। सोही जोखिमलाई मध्यनजर गर्दै सिरियाली सरकारले प्रमुख व्यापारिक र मानवीय आवतजावत हुने नाका बन्द गर्ने निर्णय गरेको हो।
इजरायली रक्षा बलका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले शनिबार एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाहले उक्त नाकालाई सैन्य प्रयोजन र हतियार ओसारपसारका लागि प्रयोग गरिरहेको आरोप लगाएका छन्। प्रवक्ता अद्राईले भने, 'हिजबुल्लाहले मस्ना नाकाको दुरुपयोग गरिरहेकाले निकट भविष्यमा इजरायली सेनाले त्यहाँ हवाई हमला गर्ने योजना बनाएको छ। त्यस क्षेत्रमा रहनु तपाईंहरूका लागि खतरनाक हुन सक्छ।'
इजरायलको चेतावनी लगत्तै सिरियाली सीमा र भन्सार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै उक्त नाका बन्द गरिएको पुष्टि गरेको छ। यद्यपि, सिरियाले इजरायली दाबीको कडा खण्डन गर्दै उक्त नाका विशुद्ध रूपमा 'नागरिक आवतजावतका लागि मात्र' भएको स्पष्ट पारेको छ।
'मस्ना नाका (जसलाई सिरियातर्फ जेदेइदेत याबौस भनिन्छ) कुनै पनि सैन्य गतिविधि वा सशस्त्र समूहका लागि प्रयोग गरिएको छैन। यहाँ कुनै पनि मिलिसियाको उपस्थिति छैन र यसलाई कानुनी र नागरिक ढाँचा बाहिर प्रयोग गर्न अनुमति दिइएको छैन,' सिरियाली सीमा प्राधिकरणले उल्लेख गरेको छ।
प्राधिकरणका अनुसार स्थिति सामान्य र सुरक्षित भएपछि मात्र नाका पुनः सञ्चालनमा ल्याइनेछ। यसअघि गत महिना पनि इजरायली गोलाबारीको डरले यो नाका केही समयका लागि बन्द गरिएको थियो, तर पछि हमला नभएपछि पुनः खोलिएको थियो।
पछिल्लो समय इजरायलले लेबनान र सिरियाका सीमावर्ती क्षेत्रहरूमा आफ्नो निगरानी र सैन्य दबाब बढाउँदै लगेको छ, जसका कारण यस क्षेत्रमा मानवीय संकट र नागरिकहरूको आवतजावतमा ठूलो बाधा पुगेको छ।
प्रतिक्रिया दिनुहोस !