कूटनीतिक मर्यादामै हुन्छ राष्ट्रको गरिमा

कूटनीतिक मर्यादामै हुन्छ राष्ट्रको गरिमा

सरकार सञ्चालन केवल आन्तरिक मामिलामा सीमित हुन्न, यो बाह्य सम्बन्धहरूलाई सन्तुलित बनाउने कला पनि हो। राजनीतिको भाषामा जसलाई कूटनीति भनिन्छ, त्यो अन्तर्राष्ट्रिय सम्बन्धका आयामहरूमा खेल्ने कौशल हो। यस्तो, कुशलतामा कतिपय सन्दर्भमा नेपालले कमजोरी देखाउँदै आएको भनेर आलोचित पनि छ, त्यसको कारण हाम्रो राज्यका पदाधिकारीको केटौलीको उपज हो। बालेन्द्र शाह नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारसँग शंका गरिएको एउटा विषय परराष्ट्र सम्बन्ध हो।

शाह काठमाडौंका मेयर हुँदा गरेका कतिपय गतिविधि छिमेकी विरोधी पनि थिए। स्थानीय नै भए पनि सरकार प्रमुख रहँदारहँदै उनले विद्रोही नेताको जस्तो व्यवहार पनि देखाए। अहिले उनै प्रधानमन्त्री भएर देशको बागडोर सम्हालिरहेका छन्। सिंहदरबारको मूल चाबी समाएका छन्। तसर्थ, कतै नेपालको कूटनीतिक सम्बन्ध खलबलिने त होइन भन्ने आशंका जन्मनु स्वाभाविक हो। अर्काेतिर हाम्रा पुराना पार्टी र तिनका नेताहरूले पनि थुप्रैपटक कूटनीतिक सम्बन्ध अर्थात् विदेशहरूसँगको व्यवहारमा कच्चापन नदेखाएका होइनन्। 

प्रधानमन्त्री हुनसाथ भारत वा चीनको भ्रमण गर्ने चलन कूटनीतिक सम्बन्ध बलियो बनाउने भन्दा व्यक्तिगत धापको खोजी त होइन भन्ने संशय उब्जिन्थ्यो। पहिले भारत जाने कि उत्तरी चीन भन्नेमा बहस हुन्थ्यो। अनि, प्रधानमन्त्रीले रोज्ने भ्रमणका आधारमा भूराजनीति सम्बन्धबारे बहस पैरवीको ओइरो लाग्थ्यो। थुप्रैपटक हाम्रा सरकार प्रमुखहरूले शक्ति राष्ट्रहरूसँग असन्तुलित सम्बन्ध त्यो पनि व्यक्तिगत रूपमा राख्न खोज्दा देशको गरिमामा आँच पुगेको थियो। कूटनीतिक मर्यादाका तगारा भाँच्ने अमर्यादित कर्म पनि थुप्रैले गरेका छन्। यस सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार नेपालस्थित मित्रराष्ट्रहरूका दूतहरूसँग गरेको सामूहिक भेटघाट कूटनीतिक सम्बन्धको आयामको एउटा द्योतक हो। सबैभन्दा पहिला त शाहले आफू र आफ्नो पार्टीप्रतिको शंका दूर गर्ने पहिलो कदमका रूपमा यो प्रयास गरेका छन्, जसबाट पक्कै सकारात्मक सन्देश गएको छ। 

परराष्ट्र सम्बन्ध भनेको देशको स्थिर नीति हुनुपर्छ। सरकार फेरिन सक्छ तर सम्बन्ध अविछिन्न रहन्छ। यसै पनि सरकार आफंैमा अविछिन्न उत्तराधिकार संस्था हो। नेपालको कूटनीतिक अर्थात् परराष्ट्र सम्बन्ध पञ्चशीलमा आधारित छ। हामी कुनै द्वन्द्वमा सामेल नहुने र कसैको पक्ष, विपक्षमा नरहने असंलग्न नीति अँगाल्छौं। प्रधानमन्त्री शाहले पनि यसैलाई आत्मसात् गरी कूटनीतिक सम्बन्ध कायम राख्नुपर्छ। शाहले बुधबार कूटनीतिज्ञहरूसँग सोही अनुरूपको सन्देश प्रवाह गरेर पनि आफ्नो परिपक्वता देखाएका छन्। हामीले हाम्रा मित्र देशहरूसँगको सम्बन्ध अझै प्रगाढ बनाउने उनको सन्देश उचित छ। 

नेपालको कूटनीतिक इतिहासमा व्यक्तिगत भेटघाटले बढी प्र श्रय पाउँदै आएको थियो। यसपटकको सामूहिक भेटले कूटनीतिक पारदर्शिताको संकेत गरेको छ। प्रधानमन्त्री वा मन्त्री जोकसैले पनि मित्रराष्ट्रका प्रतिनिधिसँग गर्ने भेट संस्थागत हुनुपर्छ। त्यसको आफ्नो मर्यादा हुन्छ, संवादहरूको नोट लेखन गरी राज्यको स्मृतिमा राखिनुपर्छ। व्यक्तिगत इच्छा र चाहनाले भन्दा देशको आवश्यकताले मात्रै कूटनीतिक प्रतिनिधिसँग भेट्नुपर्छ। यी र यस्ता मर्यादा र तथा शिष्टाचारको ख्याल गर्ने, कूटनीतिक आचारसंहिता पालना गर्ने परम्पराको सुरुवात यो सामूहिक भेट हो भने त्यसले पक्कै पनि देशको गरिमा बढाउने छ। र, यो परिपक्वतालाई कत्तिको दिगो रूपमा आगामी दिनमा देश र जनताको पक्षमा उतार्न सक्छन् भन्ने आमचासो र प्रतीक्षा पनि छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.