एसइईमा प्रश्नपत्र चुहावट : सहायक केन्द्राध्यक्ष पक्राउ, घटना दबाउने प्रयास

एसइईमा प्रश्नपत्र चुहावट : सहायक केन्द्राध्यक्ष पक्राउ, घटना दबाउने प्रयास
सांकेतिक तस्बिर
सुन्नुहोस्

विराटनगर : राष्ट्रियस्तरको र अत्यन्त संवेदनशील मानिने माध्यमिक शिक्षा परीक्षा (एसइई) मै गम्भीर अनियमितता सार्वजनिक भएको छ । मोरङको ग्रामथान गाउँपालिका–६ स्थित पब्लिक माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट सहायक केन्द्राध्यक्षकै संलग्नतामा प्रश्नपत्र बाहिर पठाइएको पुष्टि भएपछि शिक्षा प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठेको छ । घटनामा संलग्न रहेको आरोपमा सहायक केन्द्राध्यक्ष प्रेमलाल माझीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानबाट बिहीबार सञ्चालन भएको लेखा विषयको परीक्षाका क्रममा उनले मोबाइल फोन प्रयोग गरी प्रश्नपत्रको फोटो खिचेर बाहिर पठाएको पत्ता लागेको छ । प्रहरी स्रोतका अनुसार परीक्षा केन्द्रभित्रै जिम्मेवारी सम्हालेका व्यक्तिबाट यस्तो कार्य हुनु गम्भीर लापरबाही मात्र नभई नियोजित अनियमितताको प्रमाण हो । प्रश्नपत्र चुहावटको सूचना पाए लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले माझीलाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछका क्रममा माझीले मोबाइलमार्फत प्रश्नपत्र पठाएको स्वीकार गरेको स्रोतले जनाएको छ ।

यस घटनाले परीक्षा सञ्चालनमा संलग्न पदाधिकारीहरूको भूमिकामाथि नै प्रश्न उठाएको छ । सामान्यतया केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकहरूलाई परीक्षा सञ्चालमा उच्च सतर्कता अपनाउन निर्देशन दिइन्छ । तर, उल्टै जिम्मेवारीमा रहेका व्यक्तिबाटै गोपनीयता भंग भएपछि परीक्षाको निष्पक्षता र विश्वसनीयता दुवैमा गम्भीर असर पर्ने देखिएको छ । प्रहरीले माझीविरुद्ध शिक्षा ऐनअन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको छ । अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा पनि अनुसन्धान केन्द्रित गरिएको प्रहरी स्रोतले बतायो । 

परीक्षा केन्द्रभित्र मोबाइल फोन प्रयोग पूर्ण रूपमा निषेध गरिएको हुन्छ । तर, यस घटनाले नियम कार्यान्वयनमा गम्भीर कमजोरी रहेको देखाएको छ । प्रविधिको दुरुपयोग गर्दै प्रश्नपत्र बाहिर पठाउने प्रवृत्ति पहिले पनि देखिँदै आएको भए पनि केन्द्र व्यवस्थापनमै संलग्न व्यक्तिको प्रत्यक्ष सहभागिता देखिनु अत्यन्त चिन्ताजनक भएको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् ।

घटनापछि सम्बन्धित निकायको भूमिका पनि विवादमा परेको छ । सम्बन्धित निकाय र अधिकारीहरुले भने घटनालाई लुकाउन एवं दबाउन खोजेका छन् । मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी लीलाराज लामिछानेले सहायक केन्द्राध्यक्ष पक्राउबारे जानकारी नभएको बताए । यस्तै, परीक्षा अनुगमनको जिम्मेवारीमा रहेको शिक्षा विकास तथा समन्वय इकाई, मोरङका प्रमुख शालिग्राम दाहालले पनि आफूलाई घटनाको जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।

दुवै निकायबाट प्राप्त ‘जानकारी नभएको’ भन्ने अभिव्यक्तिले घटना दबाउने प्रयास भइरहेको आशंकालाई बलियो बनाएको छ । स्रोतका अनुसार प्रश्नपत्र चुहावट जस्तो गम्भीर विषय बाहिरिएपछि अनुगमन प्रणालीको प्रभावकारिता र जिम्मेवारीमाथि प्रश्न उठ्ने भएकाले सम्बन्धित पक्षले घटनालाई न्यून देखाउन खोजेको हुनसक्छ । 

यस घटनाले एसइई जस्तो राष्ट्रिय परीक्षाको सुरक्षा प्रणाली, अनुगमन संयन्त्र र जिम्मेवार निकायहरूको उत्तरदायित्वमाथि गम्भीर प्रश्न खडा गरेको छ । समयमै पारदर्शी छानबिन, अनुसन्धान र कडा कारबाही नभए यस्ता गतिविधिले शिक्षा प्रणालीप्रतिको जनविश्वास थप कमजोर बन्ने सरोकारवालाको भनाइ छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.