ललितको उत्कृष्ट बलिङमा पुसिलको जित
सिमरा : ललित राजबंशीको उत्कृष्ट बलिङको मद्दतमा नेपाल पुलिस क्लबले बिहीबार कर्णाली प्रदेशलाई पराजित गरेको छ । वीरगन्जस्थित नारायणी रंगशालामा सम्पन्न खेलमा पुलिसले कर्णालीमाथि ४८ रनले हराएको हो ।
आफूले प्रस्तुत गरेको २६१ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको कर्णालीलाई २१३ रनमा समेट्दै पुलिसले महत्वपूर्ण जित निकालेको हो । कर्णालीका अर्जुन घर्तीले सर्वाधिक ४६ रन बनाए । ओपनर सुनिल धमलाले ३४ र विपिन रावलले २८ रन जोडे । कप्तान दिवन पुन र दिनेश अधिकारीले समान १६ रन बनाए ।
पुलिसको जितमा ललित राजबंशीले उत्कृष्ट बलिङ गरे । ९.२ ओभर बलिङ गरेका ललितले ३६ रन खर्चिएर पाँच विकेट हात पारे । यसैगरी करण केसीले तीन विकेट लिँदा दिपक चन्द र आरिफ शेखले समान एक-एक विकेट हात पारे । यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसका लागि ओपनर दिनेश खरेलले ८२ रनको शानदार इनिङ खेले ।
दिनेशले एक सय बलमा एक छक्का र ९ चौका प्रहार गरे । यसैगरी अमित श्रेष्ठले ३०, आरिफ शेखले २७, रासिद खानले २४, दिलसाद अलीले २३, करण केसीले २१ रन बनाए । बलिङतर्फ कर्णालीका प्रकाश जैसीले तीन विकेट लिँदा दिनेश अधिकारी र अर्जुन चनराले दुई-दुई विकेट हात पारे । दिवन पुनले एक विकेट लिए । जितसँगै पुलिस तेस्रो स्थानमा उक्लिएको छ । सात खेल खेलेको पुलिसले ९ अंक जोडेको छ । कर्णाली भने नवौं स्थानमा छ । आठ खेल खेलेको कर्णालीको तीन अंक छ ।
प्रतिक्रिया दिनुहोस !