रेसुङ्गा–काठमाडौं महँगियो हवाई भाडा
गुल्मी : नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलको हवाई भाडा वृद्धि गरेको छ । पछिल्लो समय इन्धनको मूल्य बढेसँगै हवाई भाडा पनि बढाइएको हो। रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार नयाँ भाडादरअनुसार रेसुङ्गादेखि काठमाडौंसम्मको भाडा १० हजार ७०२ रुपैयाँ र काठमाडौंदेखि रेसुङ्गासम्मको भाडा १० हजार ९०२ रुपैयाँ पुगेको छ ।
यसअघि काठमाडौंदेखि रेसुङ्गासम्म ७ हजार ५ सय रुपैयाँ र रेसुङ्गादेखि काठमाडौंसम्म ७ हजार ३ सय रुपैयाँ भाडा कायम थियो । नयाँ भाडादर वैशाख ३ गतेदेखि लागू गरिएको हो । भाडा बढेसँगै यात्रुको संख्या पनि घट्न थालेको छ । पहिलेको तुलनामा अहिले उडानमा यात्रु कम हुन थालेको स्टेशन प्रमुख थापाले बताए । उनका अनुसार विहीबार काठमाडौंबाट रेसुङ्गा आउने यात्रु तीन जना मात्रै थिए भने रेसुङ्गाबाट काठमाडौं जाने यात्रु आठ जना थिए ।
नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको जहाजले हाल हप्तामा चार दिन उडान गर्दै आएको छ । जसमा प्रत्येक हप्ताको आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुँदै आएको छ । आइतबार काठमाडौंबाट बिहान ८ः१० बजे रेसुङ्गाका लागि उडान हुने तथा रेसुङ्गाबाट बिहान ९ः१० बजे काठमाडौं फर्किने तालिका रहेको छ ।
अन्य दिन भने काठमाडौंबाट बिहान ६ः१० बजे रेसुङ्गाका लागि रेसुङ्गाबाट बिहान ७ः१५ बजे काठमाडौंका लागि उडान हुने समय निर्धारण गरिएको छ ।रेसुङ्गा विमानस्थलबाट काठमाडौं पुग्न करिब ४८ मिनेट लाग्छ । हवाई सेवा विशेष गरी वृद्ध, बिरामी, सुत्केरी तथा आकस्मिक यात्रा गर्नुपर्ने नागरिकका लागि सहज बन्दै गएको छ । अहिले यात्रुले अनलाइनमार्फत सहजै टिकट लिन सक्ने व्यवस्था समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !