महिलाले ताने बिस्का जात्राको रथ
भक्तपुर : भक्तपुरको बिस्का जात्राको सातौं दिन बिहीबार महिलाले रथ तानेका छन्। भक्तपुरको इछीमा रहेको भद्रकालीको रथ (नेपाल भाषामा नकिंजू खचा)लाई महिलाले मात्रै तानेर न्यातपोल मन्दिर पुर्याएका हुन्। जात्राको सातौं दिन इछीमा रहेको यो रथलाई तानेर न्यातपोल मन्दिर नजिकै ल्याउने परम्परा छ। विगत वर्षहरूमा यो रथलाई पुरुषले मात्र तान्ने गरेकामा पहिलो पटक रथलाई महिलाले तानेर ल्याएका हुन्।
भद्रकाली अजिमा गुठीको आह्वान अनुसार सयौं महिला रथ तान्न पुगेका थिए। दुईवटा डोरीको सहायताले सयौं महिलाको समूहले रथ तानेर न्यातपोल मन्दिर पुर्याएका थिए। जात्राको उत्साहका बीच भैरवनाथ र भद्रकाली अजिमाको बीचमा ’झगडा’ भएको छ। त्यसैले, भद्रकाली अजिमा रिसाएर आफ्नो माइती (इछी टोल) मा बसेका छन्।
भक्तपुरको बिस्का जात्राको मुख्य आकर्षक ल्योसिंद्य उठाउनु र ढाल्नु हो। तर बिहीबार महिलाको रथ तान्ने कार्यक्रम सार्वजनिक भएकोले कार्यक्रम भव्य रुपमा भएको थियो। जात्राका अन्य दिनहरूमा जस्तै हजारौ जात्राप्रेमीहरु जात्रा हेर्न पुगेका थिए।
भक्तपुरको बिस्का जात्रा चैत २७ गतेदेखि सुरु भएको थियो। जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ। अन्तिम दिन पोटरी स्क्वायरमा उठाइएको हात नभएको अर्को ल्योसिंद्य ढालिन्छ भने त्यही दिन साँझ भैरवनाथको रथ तानिन्छ। योसँगै आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्रा समाप्त हुने परम्परा रहि आएको छ।
प्रतिक्रिया दिनुहोस !