मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेन्द्र शाहले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मातातीर्थ औँसी (आमाको मुख हेर्ने दिन) को अवसरमा सम्पूर्ण आमाहरुलाई शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च रहेको बताए। उनले लेखेका छन्, 'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी: माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्।'
प्रधानमन्त्री शाहले आमाको काखलाई न्यानो र आमाको चरणलाई तीर्थजस्तै पवित्र रहेको उल्लेख गर्दै आमाहरू माया, त्याग र सृष्टिको अनुपम स्रोत भएको बताएका छन्।मातातीर्थ औँसीको पावन अवसरमा उनले सम्पूर्ण आमाहरूप्रति सम्मान र कृतज्ञता प्रकट गर्दै सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेका छन्।
आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले राष्ट्रभक्ति र मातृप्रेमलाई जोड्दै भनेका छन् । 'हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।'
'आमाको मुख हेर्ने दिन' ले सन्तानलाई आमाप्रति थप जिम्मेवार र कृतज्ञ बन्न प्रेरित गर्ने बताउँदै उनले आफ्ना कर्ममार्फत आमालाई सधैं खुसी र गौरवान्वित तुल्याउन सबैलाई आग्रह समेत गरे। सन्तानको कर्म देखेर आमाले सदैव गर्व गर्न सक्ने वातावरण बनोस् भन्ने उनको कामना छ।
प्रतिक्रिया दिनुहोस !