ब्रेन स्ट्रोक तथा ब्रेन हेमोरेज : बिना सर्जरी न्युरोइन्टरभेन्सनबाटै उपचार
मस्तिष्क भन्नेबित्तिकै आम व्यक्ति संवेदनशील हुन्छन्। परिवारमा कसैलाई मस्तिष्कघात (ब्रेन स्ट्रोक) र मस्तिकभित्र रक्तस्राव (ब्रेन हेमोरेज) हुनेबित्तिकै जो कोही अत्तालिन्छन्। पिरोलिन्छन्। उपचार गर्न कहाँ जाने ? कसरी उपचार हुन सक्छ भन्दै अन्योल हुनु स्वाभाविक पनि हो।
मस्तिष्कघातलाई सामान्य रूपमा ब्रेन अट्याकका रूपमा पनि बुझ्न सकिन्छ। पछिल्लो समय धेरैजनालाई सानो खालको मस्तिष्कघात (मिनी ब्रेन स्ट्रोक) हुने गरेको पाइएको छ। कहिलेकाहीँ मस्तिष्कमा गइरहेको रगत एकाएक केही समयका लागि कम हुने वा रोकिने हुन्छ, जसलाई मिनी स्ट्रोक (ट्रान्जिएन्ट इस्केमिक अट्याक) भनिन्छ। मिनीब्रेन स्ट्रोक हुँदा मस्तिष्कमा केही समयका लागि रक्त प्रवाह कम हुने हुन्छ।
तर, छोटो समयमै हराउन पनि सक्छ। मस्तिष्कमा स्थायी चोट हुँदैन। यसमा लक्षणहरू अचानक देखिन सक्छन्। केही मिनेटदेखि एक÷दुई घण्टासम्म देखिन सक्छन्। फेरि पूर्णरूपमा निको पनि हुन सक्छ।
– क्यारोटिड (घाँटीको मुख्य नली) साँघुरिएको (बोसो जमेर) छ भने मिनी स्ट्रोकको जोखिम हुन्छ।
– साँघुरिएको नलीबाट रगतको सानो थक्का छुट्टिएर मस्तिष्कमा पुग्यो भने मिनी स्ट्रोक हुने हुन्छ।
– मिनी स्ट्रोक केही मिनेटदेखि एक÷दुई घण्टासम्म रहन सक्छन्।
– मिनी स्ट्रोक भविष्यमा ठूलो स्ट्रोक आउन सक्छ है भन्ने गम्भीर चेतावनी पनि हो।
– करिब १० देखि २० प्रतिशत बिरामीलाई तीन महिनाभित्र ठूलो स्ट्रोक हुन सक्छ।
मिनी स्ट्रोकका लक्षणहरू
दिमागको अगाडिको भाग प्रभावित हुँदा
– शरीरको एकातिर हात वा खुट्टा कमजोर हुन्छ
– बोल्न गाह्रो हुने हुन्छ
– बोली स्पष्ट हुँदैन
– एक आँखाले केही समय नदेखिने हुन्छ
दिमागको पछाडिको भाग प्रभावित हुँदा
– अचानक चक्कर लाग्ने हुन्छ
– हिँड्दा लड्ने हुन्छ
– निल्न गाह्रो हुन्छ
यी लक्षणहरू केही समयपछि हराए पनि जोखिम सकिएको हुँदैन।
मिनी ब्रेन स्ट्रोकको बारेमा यति जानकारी प्राप्त भएपछि अब ठूलो खालको मस्तिष्कघात (ब्रेन स्ट्रोक) को बारेमा थाहा पाऔं। मस्तिष्कको कुनै भागमा रगतको आपूर्ति अचानक बन्द हुन पुगेको अवस्थालाई नै मस्तिष्कघात (ब्रेन स्ट्रोक) हो। यो पनि दुई किसिमको हुन्छ। पहिलो हो स्केमिक र दोस्रो हेमोरेजिक। स्केमिक भन्नाले मस्तिष्कमा रगत प्रवाह गर्ने धमिनी अवरुद्ध भएको अवस्था हो। र, हेमोरेजिक भन्नाले मस्तिष्कको रक्तनली फुटेर भएको रक्तस्राव हो।
के कारणले हुन्छ ब्रेन स्ट्रोक तथा हेमोरेज ?
स्केमिक र हेमोरेजिक स्ट्रोकका कारणहरू फरकफरक हुन्छन्। तर, पनि केही कारणहरू साझा छन्न्। जस्तै उच्च रक्तचाप, धूमपान, अल्कोहल (मदिरा)को अधिक सेवन, मधुमेह, डिसलिपिडिमिया (रगतमा चिल्लो र बोसोको मात्रा धेरै हुनु) नै ब्रेन स्ट्रोकको जोखिमका कारण (रिस्क फ्याक्टर) हुन्। त्यस्तै वातावरणीय तथा पर्यावरणीय कारणहरू जस्तै, धूलो, प्रदूषणमा लामो समयसम्म बसोबास गर्ने व्यक्तिहरूलाई पनि ब्रेन स्ट्रोकको जोखिम हुन्छ। कतिपयमा रक्तनलीमा समस्या भएका व्यक्तिहरू पनि ब्रेन स्ट्रोकको जोखिममा पर्छन्।
त्यस्तै कुनै पनि कारणले दिमागमा रगत जम्नु नै ब्रेन ह्यामरेज हो। ब्रेन ह्यामरेजको ८० प्रतिशत कारण सडक दुर्घटना हो। २० प्रतिशत भने बिना चोटपटक पनि हुन सक्छ। बिना चोटपटक हुने ब्रेन ह्यामरेज प्राइमरी र सेकेन्डरी गरी दुई भागमा बाँड्न सकिन्छ। मस्तिष्कको संरचनमा कुनै गडबडी भएर हुने ब्रेन ह्यामरेज प्राइमरी हो भने दिमागमा हुने गुजुल्टा, ट्युमर, फिस्टुलालगायतका कारणले हुने ह्यामरेज सेकेन्डरी ब्रेन ह्यामरेज हो। दुर्घटनाबाहेक अन्य कारणले हुने ब्रेन ह्यामरेजका लक्षणहरूमा अर्धचेत हुने, हातखुट्टा नचल्ने, बोल्न गाह्रो हुने हुन्छ। अनुहारको एकातिरको भाग तल झर्ने पनि हुन्छ। उच्च रक्तचाप, मधुमेहको औषधि सेवन गरिरहेकाहरूलाई ब्रेन ह्यामरेजको जोखिम उच्च हुन्छ।
सर्जरी नगरी उपचार
चिकित्सा क्षेत्रमा पछिल्लो समय अभूतपूर्व प्रगतिहरू भइरहेका छन्। जसका कारण मस्तिकघात (ब्रेन स्ट्रोक) र ब्रेन हेमोरेजको उपचारमा नयाँ आशा छाएको छ। इन्टरभेन्सन प्रविधिका कारण नेपालमा बिना सर्जरी पनि उपचार सम्भव भएको हो। सुन्दा अचम्म लाग्न सक्छ। तर, यो यथार्थ हो।
मस्तिष्कका रक्तनलीमा समस्या आएको अवस्थामा गरिने उपचार विधिलाई न्युरो इन्टरभेन्सन भनिन्छ। न्युरो इन्टरनेभन्सन एक आधुनिक र बिना चिरफार (मिनीमली इन्भेसिभ) उपचार विधि हो। इन्टरभेन्सन प्रविधिमा सर्जरी नगरी उपचार गरिन्छ। यो उपचारविधि नलीभित्रबाट सुई र तार प्रयोग गरी उपचार गर्ने आधुनिक विधि हो। यस उपचार विधिमा टाउको नखोली, सानो प्वालबाट उपचार गरिन्छ। सर्जरी नगरी सानो क्याथेटरको प्रयोग गरेर मस्तिष्कको रक्तनलीभित्रै उपचार गरिन्छ। मस्तिष्कघातमा मेकानिकल थ्रम्बेक्टोमी मार्फत थक्का निकालिन्छ। थ्रम्बोलाइसिसद्वारा औषधिबाट नली खोलिन्छ। यस किसिको उपचार विधिका मुख्यतः दुईवटा उद्देश्य छन्। पहिलो, भविष्यमा ठूलो स्ट्रोक हुन नदिनु हो। त्यस्तै दोस्रो, दिमागमा जाने रगत राम्रो बनाउनु हो।
यो उपचार विधिमा मस्तिष्क रक्तनलीमा देखिएका समस्याहरूको खुला सर्जरीबिना नै उपचार गरिन्छ। यसमा साना ट्युब (माइक्रो क्याथेटर) र अत्याधुनिक प्रविधिको प्रयोग गरेर रक्तस्राव, स्ट्रोक, एन्युरिजम (रगत बग्ने नली अर्थात् धमनीको कुनै भाग फुलिने वा पोकाजस्तै सुन्निने) एभीएम (मस्तिष्कमा रगत बग्ने नलीमा गडबड) भएको अवस्थामा पनि यो उपचार पद्धति उपयोगी हुन्छ।
बिरामीलाई के फाइदा हुन्छ ?
खुला (सर्जरी बिना) उपचार गरिने भएकोले बिरामीलाई धेरै फाइदा हुन्छ। मस्तिष्क र स्पाइनका रोगहरू उपचार गर्न बिना ठूलो चिरफार उपचार गर्ने काम न्युरो इन्टरभेन्सनद्वारा गरिन्छ। यसबाट बिरामीलाई छिटो आराम महसुस हुन्छ। निको पनि चाँडै हुन्छ। अस्पतालको बसाइ अवधि पनि छोटो हुन्छ। यो उपचार विधि कम जोखिमको छ। सघन उपचार कक्ष (आईसीयू) मा पनि धेरै दिन बस्नु पर्दैन। बाहिर सर्जिकल चिह्न (दाग) हुँदैन। समयमै इन्टरभेन्सन गर्दा पछि गएर हुने जटिलता घट्छ।
प्रतिक्रिया दिनुहोस !