झापामा ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ
झापा : झापाको कनकाईमा आधा किलोभन्दा बढी ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ परेका छन्।
झापामा प्रति ग्राम ५ हजारले खरिद बिक्री हुने गरेको यसको नेपाली बजार मूल्य करिब ३० लाख रुपैयाँ पर्न जान्छ। आज बिहान साढे ११ बजे झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदै गरेको बीआर ३७ आर १८६६ नम्बरको मोटरसाइकललाई कनकाई नगरपालिका ५ तल्लो चप्रामारीमा प्रहरी टोलीले चेकजाँच गर्दा प्लास्टिकबाहेक ५६३ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो।
प्रहरीले ब्राउन सुगरसहित झापा गाउँपालिका ६ का २२ वर्षीय साफिक उलमिया र भारत विहार राज्य किशनगञ्ज जिल्ला डिगलबैंक थाना १ का २२ वर्षीय निसार आलमलाई पक्राउ गरेको हो। लागूऔषध ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उनीहरूले बोकेको हाते झोलाभित्र खानाको बट्टामा ६ पोका ब्राउन सुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए।
उनीहरू विराटनगरबाट आएको र सोही ठाउँबाट लागूऔषध ब्युरो विराटनगरको टोलीले पछ्याउँदै आएको जनाइएको छ। उनीहरूलाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !