प्राज्ञिक थलोको शुद्धीकरण

प्राज्ञिक थलोको शुद्धीकरण
सुन्नुहोस्

नेपालका विश्वविद्यालयहरू प्राज्ञिक स्थलभन्दा ज्यादा राजनीतिक केन्द्रजस्ता छन् । विद्यार्थीका संगठन, प्राध्यापकका संगठन र कर्मचारीका संगठनले यति राजनीति गरेका छन् कि शैक्षिक र प्राज्ञिक उन्नयनका मुद्दाहरू नै छायामा छन् । पदाधिकारी नियुक्तिमा राजनीति, प्राध्यापक सरुवा बढुवामा राजनीति र कर्मचारीमा राजनीति भएरै विश्वविद्यालयमा बेथितिको पहाड छ । भ्रष्टाचार मौलाएको छ । असल र निष्ठावान् प्राध्यापक, कर्मचारीको भन्दा राजनीतिक नेता र दलको सेवामा लिप्तहरूको बोलबाला छ, विश्वविद्यालयमा । अनि विद्यार्थी पनि राजनीतिक संगठनका आबद्ध हुने र त्यसकै भरले दोहनमा रमाउने गरेका छन् । दलीय भ्रातृसंस्थामा आबद्ध विद्यार्थी प्राज्ञिक माहोल धमिलो पारेका छन् ।

खासगरी त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन जुन उद्देश्यले स्थापना भएको थियो, तर त्यसको ठीकविपरीत कर्ममा छ । दलहरूको राजनीतिक दाउपेचको हतियारमा यो संस्था सीमित छ । प्राध्यापकलाई ज्यानै मार्ने उद्योग गर्दा पनि दलहरूले विद्यार्थीलाई जोगाएका छन् । स्ववियु र विद्यार्थी संगठनले विद्यार्थीका पीडा र मर्कामा आवाज उठाएका छैनन् । न पढाइ गतिलो गरी हुन्छ, न नतिजा गतिलो आउँछ र समयमा आउँछ । विद्यार्थी संगठन केवल राष्ट्रिय राजनीतिको गोटी बनेका छन् । पञ्चायतको कालरात्रिमा विद्यार्थी संगठन स्वतन्त्रताको आवाजका लागि आवश्यक ठानिएको थियो । त्यही भएरै २०२० सालमै विश्वविद्यालयहरूमा स्ववियुको परिकल्पना पनि गरियो । तर जसै लोकतन्त्रको पुनर्बहाली भयो सबै नागरिकलाई राजनीतिक अधिकार प्राप्त भयो, विश्वविद्यालयहरूमा विद्यार्थी संगठनको औचित्य समाप्त भयो । अहिलेको सरकारले विद्यार्थीका संघसंस्था अन्त्य गर्ने भनिरहँदा के बिर्सन हुँदैन भने यस्तो मुद्दा उठेको उहिल्यैदेखि हो, जहिलेदेखि ती संस्थाले आफ्नै औचित्य र आवश्यकता नहुने गतिविधि रच्दै गए । 

सरकारले ६० दिनभित्र दलीय संगठनका संरचना हटाउने भनेको छ, जसका लागि त्रिभुवन विश्वविद्यालय ऐनदेखि नियमावलीसमेत हेरफेर गर्नुपर्ने हुन्छ, जहाँ स्ववियुको परिकल्पना गरिएको छ । सरकारले भनेजस्तो विद्यार्थी परिषद् (स्टुडेन्ट काउन्सिल) स्थापनाका लागि पनि ऐन, नियम परिवर्तन गर्नुपर्छ, जुन आउँदो प्रतिनिधिसभा अधिवेशनमार्फत सरकारले गर्न सक्छ । गर्नुपर्छ । नियमावलीहरू परिवर्तनका लागि त प्रधानमन्त्री अर्थात् कुलपति अध्यक्षताकै सभाले कदम चाल्नुपर्छ । संसारका उत्कृष्ट विश्वविद्यालयहरूमा विद्यार्थीका क्लबहरू भए पनि दलीय संगठन छैनन् ।

नेपालमा सत्ताबाहिरका दलहरूले जबरजस्ती विद्यार्थी संठगनका पक्षमा जुन वकालत गरेका छन्, त्यो कुनै हिसाबले तार्किक छैन र केवल उनीहरू आफ्नो राजनीतिक अभिष्ट विद्यार्थीमार्फत गर्न चाहन्छन् मात्रै । तसर्थ सरकारले खुट्टा नकमाइकन दलीय विद्यार्थी संगठन विश्वविद्यालयबाट हटाउनुपर्छ, जसमा देशभरका बहुसंख्यक विद्यार्थीकै समर्थन छ । सरकारले जारी गरेको सय बुँदे कार्यसूचीको यो महत्त्वपूर्ण काममा कुनै सम्झौता गर्नु हुँदैन । बिना हिच्किचावहट र आएका सबै बाधा र चुनौती चिरेर अघि बढ्नुपर्छ । विश्वविद्यालयलाई विशुद्ध प्राज्ञिक थलो बनाउने प्रस्ट हेतुका निम्ति कुनै कसर बाँकी राख्नु हुँदैन । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.