क्लिनिकले डुलाउँदा डुलाउँदै बुटवलमा गभर्वतीको मृत्यु, खत्री नर्सिङ होममा तालाबन्दी, ३ जना पक्राउ
बुटवल : अवैध रूपमा गर्भपतन गराउँदा बुटवलमा एक महिलाको मृत्यु भएको छ। बगनाशकाली गाउँपालिका-२ पाल्पा स्थायी घर भएकी हाल तिलोत्तमा नगरपालिका नगरपालिका-३, सुमेरुपथ रुपन्देही निवासी २९ वर्षीया गीता पाण्डेयको मृत्यु भएको हो।
उनको पेटमा १२ हप्ताको गर्भ थियो। बुटवलको इँट्टाभट्टी लाइनमा रहेको खत्री नर्सिङ होममा चैतको अन्तिम हप्ता चेकजाँच गराउन जाँदा डा. डिबी खत्रीले पेटमा रहेको गर्भ असामान्य छ भनेर वैशाख ४ गते बोलाएको मृतकका श्रीमान प्रकाश पाण्डेले बताए। ‘वैशाख ४ गते आउनु भनेर डाक्टर खत्रीले बोलाउनुभयो। हामी भनेकै मितिमा गयौं तर उहाँ भेटिनुभएन’, पाण्डेले भने, ‘अर्को दिन वैशाख ५ गते पुग्दा आफूले जाँच गरेको प्रेस्किप्सन कार्ड र जोनल फार्मेसीको लोकेशन दिएर त्यहाँ जानु भनेर पठाउनुभयो।’
श्रीमतीलाई सुरुदेखि खत्री नर्सिङ होममा नियमित चेकजाँच गराएका पाण्डेले कत्ति पनि झर्को नमानी डाक्टरको सल्लाह अनुसार भनेकै क्लिनिकमा पुगे। डा.खत्रीले रिफर गरेको जोनल फार्मेसीले चेकअप गर्न १६ हजार शुल्क लाग्छ भनेपछि अग्रिम दुई हजार रुपैयाँ दिएर उपचार प्रक्रिया अघि बढ्यो। जोनल फार्मेसीले साँझ र बिहान दुईपटक खाने औषधी दिएर घर पठायो र भोलि बिहान आउनुभन्यो। पाण्डे परिवार भनेकै समयमा उक्त फार्मेसीमा पुगे। त्यहाँ पुगेपछि कार्यरत एक कर्मचारीले फेरि अर्को औषधी चलाए। तर, औषधी खुवाउँदा पीडित परिवारसँग कुनै पनि फाराम भरिएन। औषधी खाएर दुई घण्टा आराम गर्न मात्र भनियो।
‘श्रीमतीलाई आराम गर्न गोप्य कोठामा लगेर दुई घण्टा यतिकै अल्मलाइएको रहेछ’, श्रीमान् प्रकाश पाण्डेले भने, ‘राम्रोसँग काउन्सिलिङ नगराई श्रीमतीलाई पछाडिको बाटो घुमाएर फेरी ज्ञवाली कम्पलेक्समा रहेको इन्दुलेखा क्लिनिकमा लगे। इन्दुलेखाको भित्री कोठामा लगेर के के गरे मैले केही पत्तो पाइन्।’ गर्भपतन गराउँदा औषधी राख्ने, लगाउने बारेमा आफूलाई कुनै जानकारी नगराएको पाण्डेले गुनासो गरे।
इन्दुलेखामा श्रीमती बेहोस भएपछि आफूलाई कुनै जानकारी नगराई फेरी हस्पिटल लाइनमा रहेको लुम्बिनी सिटी अस्पतालमा लगेको पाण्डेले बताए। लुम्बिनी सिटीको आकस्मिक कक्षमा पुर्याउँदा पाण्डेयलाई अस्पतालले मृत घोषणा गरेको थियो। श्रीमतीको पेटमा रहेको गर्भ असामान्य छ मात्र भनेको तर त्यसबारे कुनै पनि कानुनी प्रक्रिया पूरा नगरेको पाण्डेले बताए।
सुरुदेखि नियमित चेकजाँच गराएको नर्सिङ होमले बिरामीप्रति गरेको लापरबाहीका कारण अकालमै श्रीमतीको मृत्यु भएको पाण्डेले बताएका छन्। लापरबाही गर्ने नर्सिङ होम र दुईवटा क्लिनिकका सञ्चालकहरुलाई कानुनबमोजिम कारबाही गर्न उनले माग गरेका छन्। पाण्डेको ५ वर्षीय छोरा छन्।
श्रीमान पाण्डेले खत्री नर्सिङ होमका डा. डिबी खत्री, जोनल फार्मेसीका सञ्चालक र जोनल क्लिनिकका सञ्चालक कञ्चनपुर पुनर्वास नगरपालिका-१ का ३० वर्षिय सन्ध्या बस्नेत, धुर्कोट गाउँपालिका-३ गुल्मी निवासी जोनल फार्मेसीका सञ्चालक देवेन्द्र घर्तीमगरको छोरा वर्ष २२ का निमल घर्तीमगर, सोही पालिकाको वडा नम्बर ६ का इन्दलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्र प्रसाय पाण्डेय र इन्दुलेखा स्वास्थ्य क्लिनिकमा कार्यरत ४५ वर्षीय डा. सतिश रुपाखेती विरुद्ध पाण्डेले जाहेरी दिएका छन्।
उनीहरुलाई तत्काल पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेका छन्। मृतक पाण्डेको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ। पीडित परिवारले खत्री नर्सिङ होममा तालाबन्दी गरेर आन्दोलन गरेका छन्। मृतक गीताका श्रीमान प्रकाश पाण्डे पाल्पाको बगनाशकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्। मृतक पाण्डे नेपाल रेडक्रस सोसाइटी भैरहवा शाखामा कार्यरत थिइन्।
प्रहरीले इन्दुलेखाका सञ्चालक खगेन्द्र प्रसाद पाण्डेय, सन्ध्या बस्नेत र जोनल फार्मेसीका निलम घर्तीमगरलाई पक्राउ गरेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !