सपनाको ट्रकदेखि मलेशियासम्म : बाध्यताले विदेशिएको जीवन

सपनाको ट्रकदेखि मलेशियासम्म : बाध्यताले विदेशिएको जीवन

बिजलपुरा : एकाएक घरमा रुवाबासी चल्यो । घरको आँगनमा सन्नाटा छायो । महोत्तरीको गौशाला नगरपालिका–११ का ३४ वर्षीय सरोजकुमार महतोलाई भाइ राकेशले मलेसियाका लागि बिदाइको हात हल्लाए । 

यो क्षणले घरदेखि छिमेकीसम्मलाई रुवायो । वैदेशिक रोजगारीले नौजवानहरु परदेशिदाको व्यथा मधेसको मात्रै होइन देशकै साझा समस्या बनेको छ। सरोजको जीवन कथा कुनै एक व्यक्तिको मात्र होइन, हजारौं नेपाली युवाको साझा यथार्थ हो । आर्थिक अभाव, बढ्दो ऋण र परिवारको जिम्मेवारीले उनलाई आफ्नो जन्मभूमि छोड्न बाध्य बनायो ।

कुनै समय थियो, सरोज नेपालमै आफ्नै १२ चक्के ट्रक किनेर श्रम र पसिनाले भविष्य बनाउन खोजेका थिए । सडकमा गुड्ने त्यो ट्रक केवल गाडी मात्र थिएन, त्यो उनको सपनाको उडान थियो । आत्मनिर्भर बन्ने अठोट थियो । तर, कठोर यथार्थले उनलाई पराजित गर्‍यो । कमाइले खर्च धान्न सकेन । ऋण थपिँदै गयो र अन्ततः त्यो सपना चकनाचुर भयो । आर्थिक दबाबले थिचिँदै जाँदा उनले विदेश जाने कठिन निर्णय लिए । करिब अढाइ वर्षअघि उनी मलेशिया पुगे । त्यतिबेला पनि देशको अवस्था उस्तै थियो । आर्थिक मन्दी र बेरोजगारी । आजसम्म पनि खासै परिवर्तन भएको छैन त्यो अवस्थामा । त्यसैले उनी फेरि पनि निष्कर्षमा पुगे-‘विदेश नै ठीक ।

मलेशियामा उनी स्टोर किपरको रूपमा काम गर्छन् । उत्पादन भएका मेसिनरी पार्टपुर्जा तयार भएपछि प्याकिङ, लेबलिङ र अन्तिम जाँच गर्ने जिम्मेवारी उनको काँधमा छ । काम सानो देखिए पनि सरोजको काँधमा भने जिम्मेवारी ठूलो छ । किनभने त्यो कामसँगै जोडिएको छ उनको परिवारको आशा, ऋण तिर्ने बाध्यता र भविष्यको सपना । तर, यो कथाको सबैभन्दा मार्मिक क्षण त्यो हो-जब उनी विदेश जान लाग्दा भाइ राकेश महतोले उनलाई बिदाइ गरेका थिए । त्यो क्षण केवल बिदाइ मात्र थिएन, त्यो पीडा थियो, छुट्टिने वेदना थियो र आँखाभरि सपनासँगै आँशु पनि थिए ।

तस्बिरमा देखिने त्यो आलिङ्गन, त्यो चिसो हाँसो र आँशु झार्दै छुट्टिने दृश्य-जोकोहीलाई पनि भावविह्वल बनाउने खालको छ । त्यहाँ शब्द थिएनन्, तर भावनाले सबथोक बोलेका थिए, ‘छिट्टै फर्किनु, आफ्नो ख्याल राख्नु । हामी तपाईंलाइ पर्खिरहेका छौं ।’ सरोजको कथा केवल रोजगारीको मात्रै होइन, यो संघर्षको कथा हो । यो कथा हो-देशमै केही गर्न चाहँदा पनि बाध्य भएर विदेशिनु पर्ने नेपाली युवाको।

यो कथा हो-परिवारको लागि आफ्ना चाहना त्याग्ने उनिहरु जस्ता हजारौं साहसी युवाहररुको । आज उनी टाढा छन्, तर उनको मन अझै आफ्नै गाउँ, आफ्नै घर र आफ्नै मानिसहरूसँगै छ । उनको हरेक पसिनाको थोपा, हरेक मेहनत-एक दिन ऋणमुक्त भएर, सम्मानका साथ घर फर्किने सपनातर्फ उन्मुख छ । तर, परिवारका लागि त्यो प्रतीक्षाको घडी भने निकै पीडादायक छ । सरोजका लागि पनि त्यो बिरानो भूमि युद्धको मैदान भन्दा कम छैन ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.