हिंसाको सिकारमा एकतिहाइ गर्भवती
काठमाडौं : सुत्केरी तथा गर्भवती महिलाहरूमाथि घरभित्रै दुव्र्यवहार र हिंसा हुने गरेको एक प्रतिवेदनले औंल्याएको छ।कानुनले सम्मानजनक प्रसूति सेवाको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा गर्भवती महिलाहरू विभिन्न प्रकारका दुव्र्यवहार र हिंसाको सिकार भइरहेको प्रतिवेदनमा उल्लेख छ।
महिला, कानुन र विकास मञ्च (एफडब्लूएलडी)ले बुधबार सार्वजनिक गरेको ‘नेपालमा गर्भवती, प्रसव र प्रसवोत्तर महिलाहरूले भोगेका दुव्र्यवहार, हिंसा र अधिकार उल्लंघनसम्बन्धी तथ्य अन्वेषण अध्ययन’ प्रतिवेदनमा गर्भवती, प्रसव र प्रसवोत्तर अवस्थाका एकतिहाइभन्दा बढी महिलाहरूले हिंसा भोग्नुपरेको उल्लेख छ।धेरैजसो गृहिणी हिंसाको सिकार बनेको र परिवारका सदस्य, नातेदार, छिमेकी तथा श्रीमान् पीडक भएको पाइएको छ।त्यसैगरी, उल्लेख्य मात्रामा सेवाप्रदायकबाट पनि हिंसा भएको देखिएको छ।भावनात्मक, शारीरिक र यौन हिंसाहरूमध्ये भावनात्मक हिंसा एकतिहाइभन्दा बढी हुने गरेको छ।ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रका महिलामा बढी हिंसा भएको र मधेसका गर्भवती तथा सुदूरपश्चिमका प्रसव र प्रसवोत्तर महिलाहरूले बढी भावनात्मक हिंसा भोग्नुपरेको देखिएको छ।
अधिवक्ता सविन श्रेष्ठका अनुसार नेपालमा गर्भावस्था, प्रसव र सुत्केरी अवस्थामा महिलाहरूले भोग्नुपरेका विभिन्न प्रकारका दुर्व्यवहार र अधिकार उल्लंघनको प्रकृति पहिचान गरी विस्तृत रूपमा दस्ताबेजीकरण हुन आवश्यक छ।‘विशेषत: गर्भवती र सुत्केरी अवस्थामा रहेका महिलाहरूले सम्मानजनक अधिकार पाउन सकेका छैनन्।उनीहरू गर्भमा रहेको बच्चाको लिंगका आधारमा पनि हिंसा भोगिरहेका छन्।
- ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रका महिलामा बढी हिंसा
- मधेसका गर्भवती तथा सुदूरपश्चिमका प्रसव र प्रसवोत्तर महिलाहरूले भोग्दै भावनात्मक हिंसा
छोरी जन्माउने महिलाहरू अझ बढी हिंसाको जोखिममा छन्,’ उनले भने।स्थलगत अध्ययनका क्रममा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा बसोबास गर्ने ५६० गर्भवती, ५६० प्रसव र ५६० प्रसवोत्तर गरी कूल १ हजार ६ सय ८० महिलासँग प्रश्नावली सोधिएको थियो।७ वटा प्रदेशका १४ जिल्लाका २८ वटा पालिकामा यो अध्ययन गरिएको थियो।प्रत्येक पालिकाबाट ६० महिला (२० गर्भवती, ४२ दिनभित्रका २० सुत्केरी र ३ महिनाभित्रका २० सुत्केरी) लाई अध्ययनमा सहभागी गराइएको थियो।
प्रतिवेदन अनुसार ३८.४ प्रतिशत गर्भवती, ३७.९ प्रतिशत प्रसव र ३५.९ प्रतिशत सुत्केरी महिलाले हिंसा भोग्नुपरेको छ।यसैगरी, ३०.७ प्रतिशत गर्भवती, ३२.७ प्रतिशत प्रसव र ३० प्रतिशत प्रसवोत्तर महिलाले भावनात्मक हिंसा भोगेका छन्।यस्तै, ४.५ प्रतिशत गर्भवती, ३.२ प्रतिशत प्रसव र ४.५ प्रतिशत प्रसवोत्तर महिलाले शारीरिक हिंसा भोगेका छन् भने १६.१ प्रतिशत गर्भवती, ९.५ प्रतिशत प्रसव र १६.४ प्रतिशत प्रसवोत्तर महिलाले यौन हिंसा भोग्नुपरेको तथ्यांक छ।
हिंसा गर्नेमा परिवारका सदस्य र नातेदार सबैभन्दा अगाडि देखिन्छन्।६० प्रतिशत गर्भवती, ६४.४ प्रतिशत प्रसव र ७१ प्रतिशत प्रसवोत्तर महिलामाथि परिवारका सदस्य र नातेदारबाट हिंसा हुने गरेको छ।यसैगरी, ५२.१ प्रतिशत गर्भवती, ४४.९ प्रतिशत प्रसव र ४७.८ प्रतिशत प्रसवोत्तर महिलामाथि श्रीमान्ले हिंसा गरेको पाइएको छ।साथै, २६ प्रतिशत गर्भवती, २२.७ प्रतिशत प्रसव र १३.४ प्रतिशत प्रसवोत्तर महिलामाथि सेवाप्रदायकबाट हिंसा हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस !