थापा र शर्माका आ–आफ्नै उम्मेदवार सहमति नहुँदा कांग्रेस दलको नेता चुनावबाटै

थापा र शर्माका आ–आफ्नै उम्मेदवार सहमति नहुँदा कांग्रेस दलको नेता चुनावबाटै

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गरेको छ। नेता चयनका लागि पार्टीद्वारा गठित निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली प्रकाशन गर्दै प्रक्रिया अघि बढाएको हो। कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार मनोनयन दर्ता र निर्वाचन हुँदैछ। त्यसअघि बिहीबार नै सिंहदरबारमा निर्वाचन समितिले संसदीय दलको संशोधित विधान पेस गरेको छ। सांसदहरूले छलफल गरी विधान पारित गरेर अनुमोदनका लागि पार्टीलाई पठाएका छन्।

फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो। निर्वाचन समितिका संयोजक एवं सहमहामन्त्री प्रकाश रसाइलीले दलको नेता चयनका लागि सबै प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै भने, ‘सांसदहरूको छलफलपछि विधान पारित भएर अनुमोदनका लागि पार्टीलाई पठाइसकिएको छ। निर्वाचन कार्यतालिकाअनुसार काम अघि बढिरहेको छ। संसदीय दलको विधानमा धेरै हेरफेर भने भएको छैन।’

रसाइलीले २०७४ को संसदीय दलको विधानलाई संशोधन गर्दै नयाँ विधान पेस भएको जानकारी दिए। उनका अनुसार पेस भएको विधानमा संशोधन गर्नुपर्ने भए शुक्रबार बिहान ८ बजेसम्म प्रस्ताव पेस गर्ने समय दिइएको छ। आकांक्षीसमेत रहेका सांसद अर्जुननरसिंह केसीले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया सुरु भए पनि अन्तिम समयसम्म सहमतिको प्रयास गरिने बताए। सहमति हुन नसके प्रक्रियाबाटै नेता चयन गरिने उनको भनाइ छ। उनले भने, ‘अन्तिम सत्रसम्म सहमतिको प्रयास गरिनेछ।’  

कार्यतालिका अनुसार उम्मेदवारले दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने, उम्मेदवारको प्रथम नामावली दिउँसो ३:१० मा सार्वजनिक गर्ने र ३:२० सम्म उम्मेदवारीमा दाबी विरोध गर्ने समय निर्धारण गरिएको छ। दाबी विरोधउपर जाँचबुझ दिउँसो ३:२५ बजे, उम्मेदवारको दोस्रो नामावली प्रकाशन दिउँसो ३:३० बजे गरिनेछ।

उम्मेदवारको नाम फिर्ता लिने समय दिउँसो ४:३० बजे, अन्तिम नामावली प्रकाशन ४:४० बजे र ५ बजे मतदान हुनेछ। मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ। शुक्रबार नै मतगणना र मतपरिणाम सार्वजनिक गरिनेछ। सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा निर्वाचन समिति गठन भएको छ। समितिले केही दिनअघि तालिका सार्वजनिक गरेर ११ गते चयन प्रक्रियालाई पूर्णता दिने घोषणा गरेको थियो। सोहीबमोजिम मतदाता नामावली सार्वजनिक भइसकेको छ।

आकांक्षीहरू को–को ?  

कांग्रेस संसदीय दलको नेतामा अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्यलगायतको अहिलेसम्म दाबी छ। नयाँ पुस्ताका नेताहरूको रोजाइमा निस्कल राई र महिलातर्फ बासना थापा पनि परेका छन्। यीमध्ये उम्मेदवारी दिनेहरूबीच नै प्रतिस्पर्धा हुनेछ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको झन्डै दुई महिना पुग्न लाग्दा पनि कांग्रेसले नेता चयनमा ढिलाइ गरेको छ। यसको मुख्य कारण सर्वसम्मतिको अभाव र आकांक्षी धेरै हुनु हो। 

प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले दलको नेता चयन गर्न नसक्दा संवैधानिक परिषद्ले पूर्णता पाउन सकेको छैन। सभापति थापा निकट एक नेताले शीर्ष नेतृत्वले व्यक्ति रोज्न खोज्दा समस्या देखिएको भन्दै भने, ‘नेताहरूको इन्ट्रेस्ट बाझिएकाले पनि ढिलाइ भएको हो। यद्यपि अब मिल्नु र सकेसम्म सहमति गर्नु, नत्र चुनावकै विकल्प छैन।’

सभापति गगन थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य र उपसभापति विश्वप्रकाश शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई अगाडि सार्न खोजेका छन्। आङ्देम्बे पाँचथरबाट समानुपातिकमा निर्वाचित सांसद हुन्। अर्कोतिर सभापति थापाका नातामा ससुरा पर्ने शीर्ष नेता अर्जुननरसिंह केसी पनि बलियो दाबेदार छन्। यद्यपि सभापति थापा केसीको पक्षमा देखिएका छैनन्। थापा निकट नेता भन्छन्, ‘आफ्नो नजिकको मान्छेलाई बनाउ भन्ने चाहना सबैलाई हुन्छ। यो विषयलाई लिएर पार्टीभित्र विवाद छैन। सहमति नभए निर्वाचन हुन्छ।’

आकांक्षी आङ्देम्बे १४औं महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवाको प्यानलबाट सहमहामन्त्रीमा निर्वाचित भएका थिए। २०६४ को निर्वाचनपछि कांग्रेसमा संसदीय दलको नेता सर्वसम्मत चयन भएको छैन। निर्वाचनबाटै नेता छानिने गरेका छन्। २०७९ को निर्वाचनपछि सभापति थापा र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भएको थियो, जसमा देउवा विजयी भएका थिए। २१ फागुनमा सम्पन्न निर्वाचनमा कांग्रेसबाट ३८ मध्ये प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.