होसियार, खिइँदै छ हड्डी
उमेर बढ्दै जाँदा शरीरका हड्डी कमजोर हुनु स्वाभाविक मानिन्छ। तर पछिल्लो समय यो समस्या बुढ्यौलीमा मात्र सीमित छैन। युवा पुस्तामा समेत हड्डी खिइने समस्या बढ्दै गएको छ। कतिपय अवस्थामा सामान्य लड्दा पनि हड्डी भाँचिने जोखिमसमेत देखिन थालेको छ। शरीरमा हड्डीको गुणस्तर (बोन क्वालिटी) घट्दै जाँदा खिइने र भाँचिने समस्या देखिन्छ। जसलाई अस्टियोपोरोसिस भनिन्छ। तर अहिले बढ्दो रूपमा देखिन थालेको समस्या अस्टिओआर्थराइटिस हो। जसलाई जसलाई सामान्य भाषामा हड्डी खिइने भनेर चिनिन्छ।
के हो, हड्डी खिइने समस्या ?
हाम्रो शरीरका जोर्नीहरूमा रहेको नरम संरचना ‘कार्टिलेज’ (कुरकुरे हड्डी) ले दुई हड्डीलाई सहज रूपमा चल्न मद्दत गर्छ। यही कार्टिलेज क्रमशः घिस्रिँदै जाँदा जोर्नी कडा हुने, घर्षण बढ्ने र अन्ततः दुखाइ सुरु हुने अवस्था नै हड्डी खिइनु हो। सुरुवातमा खासै पीडा नदेखिए पनि समस्या गहिरिँदै जाँदा नसा च्यापिने र असह्य दुखाइ हुने हुन्छ। अधिकांशमा घुँडा, कम्मर, ढाडको हड्डी खिइने र नसा च्यापिने समस्या बढ्दै गएको छ।
यो समस्या बढ्नुमा जीवनशैली मुख्य कारण बनेको छ। जंकफुड र अस्वस्थ खानपान, अधिक मोटोपन, लामो समय कुर्सीमा बस्ने बानी, मोबाइल र कम्प्युटर प्रयोग गर्दा गलत पोस्चर, शारीरिक गतिविधिको कमी र मोटोपन बढ्दा जोर्नीले धान्नुपर्ने भार बढ्छ। जसले हड्डी खिइने प्रक्रियालाई तीव्र बनाउँछ।
हाम्रा कतिपय बानीले पनि समस्या निम्त्याइरहेको छ। घुँडा खुम्च्याएर लामो समय बस्नु, कुप्रिएर काम गर्ने, टाउको झुकाएर मोबाइल चलाउने, आँखाको स्तरभन्दा माथि र तल टीभी हेर्नेलगायतका बानीले जोर्नीमा अनावश्यक दबाब सिर्जना गर्छन्।
रोकथामका उपाय
- जंक फुड सेवन नगर्ने
- सन्तुलित तौल कायम राख्नु
- कमोड प्रयोग गर्नु (घुँडा बढी नखुम्च्याउन)
- कुर्सीमा सिधा बस्ने
- बस्दा ढाड र टाउको सपोर्ट हुने व्यवस्था गर्ने
- गरुंगो सामान निहुरिएर नउठाउने
- नियमित हलुका व्यायाम गर्ने
- उपचार पनि छ
घुँडाको जोर्नी पूर्ण रूपमा खिइसकेपछि जोर्नी प्रत्यारोपण (जोइन्ट रिप्लेसमेन्ट) गर्न सकिन्छ। यो उपचार नेपालमै उपलब्ध छ। हड्डी खिइने समस्या अब उमेरसँग मात्र जोडिएको रोग रहेन। बदलिँदो जीवनशैलीले यसलाई युवा पुस्ताको स्वास्थ्य चुनौती बनाइरहेको छ। समयमै सावधानी अपनाएन भने सामान्य दुखाइबाट सुरु भएको समस्या भविष्यमा जटिल र महँगो उपचारसम्म पुग्न सक्छ।
प्रतिक्रिया दिनुहोस !