श्रीकृष्ण बिकको प्रहरी हिरासतमा मृत्यु प्रकरण : सांसदसहित धर्नामा परिवार
संसदीय छानबिन समिति गठनको माग
सिन्धुली : सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र युवकको मृत्यु भएको घटनाको निष्पक्ष छाबिनको माग गर्दै पीडितका आफन्तसहित सांसदहरु जिल्ला प्रशासन कार्यालयको मुल गेटमा धर्नामा बसेका छन् । सुनकोसी गाउँपालिका–३ जुम्लिडाँडाका २३ वर्षीय श्रीकृष्ण बिकको मृत्यु प्रकरणलाई लिएर सांसद, दलित अधिकारकर्मी, मृतकका आफन्त र स्थानीयवासीहरू बिहीबार राति ८ बजेदेखि अनिश्चितकालीन धर्नामा बसेका हुन् ।
विकको हिरासत कक्षभित्रै भएको मृत्युको विषयमा स्थानीय प्रशासन र प्रहरीबाट निष्पक्ष छानबिन हुने कुरामा शंका रहेको भन्दै पीडितहरु पाँचदिनदेखि जिल्ला सदरमुकाम माढीमा आन्दोलित थिए । सोही घटनामाथि निष्पक्षा छानबिनका लागि संसदीय छानविन समिति गठन गर्नुपर्ने मागसहित ६ जना प्रतिनिधि सभा सदस्यहरु समेत धर्नामा बसेका छन् ।
बिहीबारको घटनाकाबारेमा सत्य तथ्य बुझ्न काठमाडौंबाट सिन्धुलीमाढी आइपुगेका सांसदहरु खगेन्द्र सुनार, रिमा विश्वकर्मा, सुस्मा स्वर्णकार, गणेश विक, खिमा विश्वकर्मा, आशिष गजुरेल, दलित अधिकारकर्मी बाबुराम विक, प्रदिप परियारलगायत पीडित परिवार र आफन्त रातभर जिल्ला प्रशासन कार्यालयको मुलगेटमा धर्नामा बसेका हुन् ।
शुक्रबार बिहानबाट सिन्धुली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य धनेन्द्र कार्की समेत उक्त आन्दोलन ऐक्यबद्धता जनाउन आइपुगेका छन् । श्रीकृष्ण बिकलाई बैशाख ३ गते काठमाडौंको सातदोबाटोबाट बलात्कार अभियोगमा पक्राउ गरी इलाका प्रहरी कार्यालय खुर्कोटमा राखिएको थियो ।
अनुसन्धानकै क्रममा विकले बैशाख ७ गते साँझ करिब ५ बजे शौचालयको झ्यालको डण्डीमा सर्टको पासो लगाएर आत्महत्या गरेको प्रहरीले दावी गरेको छ ।
तर मृतक विककी आमा विन्दामाया विकले छोराले आत्महत्या नगरी प्रहरीले शारीरिक र मानसिक दवाव दिएर कुटपिट समेत गरेको दावी गर्दै न्यायको माग गरेकी छिन् । पीडित परिवारसँगै धर्नामा बसेका सांसद खगेन्द्र सुनारले उक्त घटनका विषयमा छनविन गर्न उच्चस्तरीय संसदीय छानविन समिति गठन गर्नुपर्ने, उक्त घटनालाई दवाउन भूमिका खेलेको हुँदा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, प्रहरी प्रमुख लालध्वज सुवेदी, इलाका प्रहरी प्रकार्यालय खुर्कोटका इन्चार्ज र उक्त समयमा ड्यूटीमा रहेका प्रहरीलाई समेत निलम्वन गरी घटनाका बारेमा छानविन गर्नुपर्ने माग गरे।
उनले भने, ‘सहमतिमा अन्तरजातीय बिवाह गरेका विकलाई दलित भएकै कारण प्रहरीसँगको मिलेमतोमा जवरजस्ती करणीको मुद्दा दर्ता गर्नु गैरकानुनी छ । सोही मुद्दाको अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्ति मारिनु थप रहस्यमयी बनेको छ । सरकारले यस घटनामा गम्भीर रुपमा छानविन गर्नु पर्दछ । दोषीमाथि हदैसम्मको कारबाही हुनु पर्दछ । पीडित परिवारलाई न्यायसहित राज्यले क्षतिपूर्ति समेत दिनु पर्दछ ।’
धर्नामा बसेकी अर्की सांसद रिमा विश्वकर्माले प्रहरी कस्टडीमा रहेका व्यक्तिको मृत्यु हुनु गम्भिर विषय भएको उल्लेख गर्दै सरकारले न्याय दिनु पर्ने बताएकी छिन् ।
‘एकातारि सरकार दलित समुदायसँग क्षमायाचना गर्ने, अर्कोतर्फ अन्तरजातीय विवाहसम्बन्धी उजुरीकै आडमा हिरासतभित्र राखिएका दलित नागरिकको शंकास्पद मृत्यु हुनु निक्कै रहस्य छ । पीडितले न्याय पाउनु पर्छ,’ उनले भनिन् । सिन्धुलीकै सांसद आशिष गजुरेलले घटना निक्कै शंकास्पद भएको उल्लेख गर्दै राज्यले निष्पक्ष छानविन र उचित क्षतिपूर्ति दिनुपर्नेमा जोड दिए ।
दलित अधिकारकर्मी केशव लोहनीले विकको आत्महत्या नभई प्रहरीको कुटपिटबाट मृत्यु भएको आशंका व्यक्त गरे । ‘प्रहरीकै कमजोरीका कारण एक जना दलित नागरिकको मृत्यु भएको छ । घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नु पर्दछ । राज्यले दलित समुदायसँग माफी माग्ने मात्र हैन दलित समयुदायलाई उचित न्याय समेत दिनु पर्दछ,’ उनले थपे ।
उक्त घटनाका दिन इलाका प्रहरी कार्यालय खुर्कोटको सिसिटिभी फुटेज समेत प्रहरीले देखाउन मानेको छैन् । प्रहरीले सो दिनको फुटेज नै नभएको दावी गरेको छ । यसअघि उक्त घटनालाई लिएर छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको थियो ।
तर प्रहरीकै मातहतमा बनेको छानबिन समितिमाथि विश्वास गर्न नसकिने भन्दै पीडित परिवारले उच्चस्तरीय छानविन समिति गठन गर्न, न्यायका लागि बोलिदिन राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोग, एड्भोकेसी फोरम, प्रहरी हेडक्वार्टर, सञ्चारकर्मीलगायतलाई आग्रह समेत गरेका छन् । तर, सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको संयोजकत्वमा बनेको छानबिन समितिले बुधबारदेखि काम सुरु गरिसकेको बताइन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीका अनुसार मृतक विक हिरासत कक्षमा लामो समयसम्म नदेखिएपछि खोजतलास गर्दा शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको बताए । उनलाई तत्काल उद्धार गरी सुनकोसी अस्पताल खुर्कोट लगिएको र पछि सिन्धुली अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सिन्धुली अस्पतालको शव गृहमा राखिएको मृतक विकको शरीरमा निलडाम तथा चोटपटक लागेको पीडित परिवारको दावी छ । विकले खोटाङ निवासी मगर थरकी १८ बर्षीया किशोरीसँग प्रेम विवाह गरेको र विवाह सम्बन्ध छुटाउनका लागि बालिका पक्षले बलत्कारको मुद्दा दर्ता गरेको बताइएको छ । बालिका पक्षले सातदोवाटो प्रहरी वृत्त काठमाडौंमा दिएको उजुरीपछि प्रहरीले पक्राउ गरी खुर्कोट प्रहरीको जिम्मा लगाएको थियो ।
उता प्रहरी हिरासतभित्र विकको मृत्यु भएको घटनाले उग्ररुप लिन थालेपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संक्षिप्त प्रतिक्रिया दिँदै कानुन सबैलाई बराबरी हुने र कानुनका बस्तुगत कुरामा टेकेर बोल्नुपर्ने भन्दै घटनालाई तथ्यगत रुपमा हेर्ने र नेपाली नागरिक सबैमा यो वा त्यो वाद वा जातिका आधारमा कुनै विभेद नगरी अनुसन्धान गर्ने बताएका छन् ।
यसैबीच सिन्धुलीको घटनालाई लिएर नेकपा एमालेका सचिव महेश बस्नेतले समेत सामाजिक सञ्जालमा लेख्दै प्रहरी हिरासतभित्र विकको शंकास्पद मृत्युले राज्यको जिम्मेवारीमाथी गम्भीर प्रश्न उठेको जनाएका छन् । उनले लेखेका छन्, ‘एकतिर दलित समुदायसँग क्षमायाचना, अर्कोतिर अन्तरजातीय बिवाहको उजुरीकै आडमा हिरासतभित्रै दलित युवकको मृत्यु ! दोहोरो चरित्र होइन न्याय देऊ सरकार ।’
प्रतिक्रिया दिनुहोस !