जनप्रतिनिधि र कर्मचारीले आफ्ना सन्तानलाई सरकारी विद्यालयमै पढाउनु पर्ने
नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीले आफ्नो सन्तानलाई अनिर्वाय रुपमा सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने निर्णय गरेको छ । उक्त निर्णय चालु शैक्षिक सत्रदेखि नै लागू भएको छ ।
तारकेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको बैठकमा शिक्षामा परिवर्तनको लागि उक्त निर्णय गरिएको गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले जानकारी दिए । अध्यक्ष अधिकारीले वैठकमा प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मत निर्णय भएसँगै तारकेश्वर गापाकाभित्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित सरकारी सेवा सुविधा उपभोग गर्दै आएका व्यक्तिका सन्तानले अनिवार्य रूपमा सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने भएको छ ।
अध्यक्ष अधिकारीको प्रस्तावलाई गाउँकार्यपालिका बैठकले सर्वसम्मत पारित गरेसँगै सो निर्णय चालु शैक्षिक सत्रदेखि नै कार्यान्वयनमा आउने भएको छ। तारकेश्वर गापाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यसहित सर्वसम्मत रुपमा गरेको यस निर्णयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसहित सामुदायिक विद्यालयप्रतिको आकर्षण बृद्धि गराउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको अध्यक्ष अधिकारीको भनाई छ।
अध्यक्ष अधिकारीका अनुसार शिक्षा सुधार अभियानलाई प्रभावकारी बनाउने गाउँपालिकाको रणनीति योजना अन्तर्गत उनले नै प्रस्ताव पेश गरेर कार्यपालिकाबाट सर्वसम्मत निर्णय भएको हो । कार्यपालिका बैठकको निर्णयअनुसार गाउँपालिकाभित्रका सबै जनप्रतिनिधि, गाउँपालिका तथा मातहतका वडा कार्यालयका कर्मचारी, विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक तथा कर्मचारी, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलगायतले आफ्ना सन्तानलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने भएको छ ।
निर्णयको कार्यान्वयन, प्रभावकारी अनुगमन तथा मूल्याङ्कनका लागि अध्यक्ष अधिकारीले सम्बन्धित शाखालाई आवश्यक निर्देशन समेत दिएका छन् । सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर उकास्ने रणनीतिमा निरन्तर काम गरिरहेको गाउँपालिकाको यो निर्णय सोही अभियान अन्तर्गतको एक विशेष कदम भएको अध्यक्ष अधिकारीले बताए ।
अध्यक्ष अधिकारीले निर्णयको प्रभावकारी कार्यान्वयन, अनुगमन र मूल्याङ्कनका लागि सम्बन्धित शाखालाई निर्देशन समेत दिएका छन् । तारकेश्वर नुवाकोटको पर्यटकीय गापा हो ।
शिवपुरी शिक्षामा साविका तालिका
यता शिक्षामा साविककै कार्यतालिका मजवुत रहेको ठहर गर्दै नुवाकोटको शिवपुरी गाउँपालिकाले पठनपाठन गर्न निर्देशन दिएको छ । चालु शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन सुरु गर्न गापाले सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो ।
नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार गरिएको शैक्षिक कार्य अनुसार शैक्षिक सत्र ढिलो सुरु हुने र सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाले विद्यालयको शैक्षिक गतिविधिमा असर पर्ने देखिएको उल्लेख गरिएको शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाद्वारा जारी सूचनामा उल्लेख छ । संघीय सरकारको निर्णयका कारण शिक्षक, विद्यार्थी तथा अभिभावकबीच अन्योलता सिर्जना भएको जनाइएको छ ।
उक्त अवस्थालाई मध्यनजर गर्दै गाउँ शिक्षा समितिको बैठकले यहि वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने तथा आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले सबै सामुदायिक विद्यालयलाई भर्ना प्रक्रिया तत्काल सुरु गरी नियमित रूपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस !