हिउँको ढिस्कोले आधार शिविरमै रोकिए सगरमाथा आरोही

हिउँको ढिस्कोले आधार शिविरमै रोकिए सगरमाथा आरोही
सुन्नुहोस्

गोक्यो (सोलुखुम्बु) : हिउँको ठूलो ढिस्कोले बाटो छेकिँदा १ हजारभन्दा बढी सगरमाथा आरोहण दलका सदस्यहरू सगरमाथा आधार शिविर (बेस क्याम्प) मा अड्किएका छन् । बाटो खुलाउन ८ जना ‘आइसफल डाक्टर’ ले निरन्तर एक सातादेखि गरेको प्रयास सफल हुन सकेको छैन ।

सर्वोच्च शिखर सगरमाथाको आधार शिविर र पहिलो शिविर (क्याम्प वान) को बीचमा हिउँको ठूलो ढिस्कोले बाटो छेक्दा आरोहण दलका सबै सदस्यहरू आधार शिविरमै रोकिएका हुन् । बाटो खुलाउन निरन्तर प्रयास भए पनि सफलता नमिल्दा आरोहीहरू अन्योलमा परेका छन् । आधार शिविरमा रहेका आरोहण दलका सदस्य फुर्ते शेर्पाले जानकारी दिएअनुसार बाटोमा विशाल हिउँको ढिस्को बनेका कारण यो सिजनका कुनै पनि आरोहण दल अघि बढ्न सकेका छैनन् ।

बाटो अवरुद्ध हुँदा चिनियाँ, अमेरिकी, युरोपियन, नेपाली कुनै पनि आरोहण दलका सदस्यहरू अघि बढ्न सकेका छैनन् । बाटो खुलाउनका लागि नेपाल पर्वतारोहण संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी), पर्वतारोहण सञ्चालक संघलगायतको टोली आइसफल डाक्टरको सहायतामा प्रयास गरिरहेको छ ।

सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले बाटो अवरुद्ध भएका कारण आधार शिविरमा भीडभाड बढेको र कुनै पनि आरोहण दल अघि बढ्न नसकेको जानकारी दिए । 
‘आज (आइतबार) पनि आइसफल डाक्टरहरूले निकै मेहनत गरे । ढिस्को फुटाउन वा अरू कुनै उपाय हुन्छ कि भनेर प्रयास गरियो, तर सफल भएन,’ अध्यक्ष शेर्पाले भने ।

पर्यटन विभागले यो वर्ष ४ सयभन्दा बढीलाई आरोहण अनुमति दिएको छ । तिनका गाइड र सहयोगीहरू सबै गरेर झन्डै १ हजार जना आरोहण दलमा हुने विभागका महानिर्देशक रामकृष्ण लामिछानेले बताए । उक्त हिउँको ढिस्को पूरै पग्लिन अझै केही दिन लाग्ने हुँदा सगरमाथा आरोहण केही समयका लागि अवरुद्ध हुने देखिएको छ । विज्ञहरूले वैकल्पिक बाटोको खोजी गरिरहे पनि त्यो सम्भव नभएको आरोहीहरू बताउँछन् ।
केहीले जोखिम मोलेर घुमाउरो बाटो भएर सगरमाथा जान सक्ने सम्भावना भए पनि त्यो खतरामुक्त भने छैन । ‘त्यसो गर्नुभन्दा केही दिन कुरेर ढिस्को पूरै पग्लिएपछि आरोहणमा जानु उपयुक्त हुने हाम्रो निष्कर्ष छ,’ एसपीसीसीका अध्यक्ष छिरिङ लामाले सुझाव दिएका छन् ।

सरकारले एसपीसीसीलाई दोस्रो शिविरसम्म र सञ्चालक संघलाई त्यसभन्दा माथिको बाटो बनाउने जिम्मेवारी तोकेको छ । अवरुद्ध बाटो बनाउने कामलाई ‘रोप फिक्सिङ’ भनिन्छ । तर, योपटक बाटोमा ठूलो र चुनौतीपूर्ण ढिस्को बनेका कारण आइसफल डाक्टरहरू बाटो बनाउन असफल भएका हुन् । अनुभवी आरोहीहरूका अनुसार केही दिन कुर्दा उक्त ढिस्को आफैं पग्लिन सक्ने भएकाले आरोहण दलका सबै सदस्यहरू तल आधार शिविरमै कुरेर बसेका हुन् ।

उक्त ढिस्को अर्थात् ‘सर्याक’ करिब १०० मिटर अग्लो छ । उक्त ढिस्को फुटाउनुभन्दा कुरेर पग्लिएपछि बाटो सफा हुने विकल्प अनुभवीहरूले रोजेका हुन् । ढिस्कोको उत्तम वैकल्पिक बाटो नभएका कारण पनि आरोहीहरू समस्यामा परेका हुन् । बाटो रोकिएपछि गोक्यो क्षेत्र आइपुगेका फुर्वा तेन्जी शेर्पा भन्छन्, ‘केही दिन माथि बाटो अवरुद्ध छ । यसले खर्च त बढ्ने भयो, तर पनि सुरक्षित तवरले नै आरोहण गरौं भनेर हामी पर्खिरहेका छौं ।’
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.