नाम बाल सुधार गृह : न गतिलो बास, न पेटभरी खाना
हेटौंडा : मकवानपुरमा रहेको बाल सुधार गृहमा क्षमता भन्दा बढी बालकहरू बस्न बाध्य रहेको पाइएको छ । हेटौंडा उपहानगरपालिका–११ स्थित थानाभर्याङमा रहेको बाल सुधार गृह ३० देखि ३५ जना क्षमताको भएता पनि उक्त सुधार गृहमा ८९ जना बालकहरू बस्न बाध्य रहेका छन् ।
करिब ५ कठ्ठा जमिनमा निर्माण गरिएको भवन अत्यन्त साँघुरो छ । उक्त भवनमा करिब २२ वटा जिल्लाका ८९ जना बालकहर ५ वटा कोठामा कोचिएर बस्न बाध्य रहेको बालसुधार गृहका प्रमुख प्रदीप गौतमले बताए । उनले भने,'सुधार गृहमा क्षमता भन्दा बढी भएपछि भुँईमा सुत्नु पर्ने बाध्यता रहेको छ।'
यस्तै खानपिन,शौचालय,खेलकुद,पुस्तकालयलगायतको समस्या समेत रहेको छ । भक्तपुर ठिमीस्थित बालगृहमा भएको विवादपछि सरकारले उपत्यका बाहिरका विभिन्न बालसुधार गृहमा बालबालिकाहरूलाई स्थानान्तरण गरेको थियो ।
उक्त समयमा त्यहाँ रहेका ३० जना बालकलाई मकवानपुरमा रहेको सुधार गृहमा ल्याएको थियो । भक्तपुरको ठिमी स्थित बालगृहमा पुःन उक्त बालकहरू मकवानपुरबाट स्थानान्तरण गरेर नलगेपछि समस्या भएको हो ।
मकवानपुरमा रहेको बाल सुधार गृहमा ८ जना १८ वर्ष माथिका रहेका छन् भने सबैभन्दा बढी जबरजस्तीकरणी मुद्दाका आरोपित ६२ जना रहेका छन् । यस्तै कर्तव्य ज्यान मुद्दाका १० जना,लागु औषध मुद्दाका ९ जना ,साथै अन्य विभिन्न मुद्दाका गरी ८९ जना बालक सुधार गृहमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस !