परराष्ट्रमन्त्री खनाल र युक्रेनका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, नेपालीलाई थुनामुक्त गर्न आग्रह
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र युक्रेनका विदेशमन्त्री एन्ड्री सिबिहाबीच टेलिफोन वार्ता भएको छ। बिहीबार भएको संबादमा उनीहरूले नेपाल-युक्रेन सम्बन्धका विविध पक्षमा छलफल गरेका छन्।
युक्रेनमा युद्धबन्दीका रूपमा थुनामा रहेका नेपाली नागरिकहरूको विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
संवादमा मन्त्री खनालले नेपाल सरकारको नीति स्पष्ट पार्दै परम्परागत सम्झौता भएका मुलुकबाहेक अन्य कुनै पनि विदेशी सेनामा नेपाली नागरिक भर्ती हुन नदिने बताएका थिए।
उनले युक्रेनी सुरक्षाबलको नियन्त्रणमा रहेका ९ जना नेपाली नागरिकलाई मानवीय आधारमा रिहा गरी स्वदेश फर्काइदिन आग्रह गरेका थिए। जवाफमा युक्रेनका विदेशमन्त्री सिबिहाले उक्त विषयमा छलफल गर्न आफ्नो पक्ष तयार रहेको आश्वासन दिएका थिए।
सिबिहाले खनाललाई नेपालको परराष्ट्रमन्त्री पद सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको कामना पनि व्यक्त गरेका थिए। दुवै पक्षले नेपाल-युक्रेन द्विपक्षीय सम्बन्ध सुदृढ रहेकोमा सन्तुष्टि व्यक्त गर्दै कृषि, पर्यटन र शिक्षा लगायतका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !