अल्लोवाली ‘हिसिला दिदी’
दाङ घोराहीको युनिक दिदीबहिनी अल्लो उद्योगले अल्लो, गाँजा र सिस्नोको लोक्ताबाट उत्पादन गरेका बस्तु अमेरिका, अस्ट्रेलिया, यूके, जापान, क्यानडा, कतारलगायतका देशमा लोकप्रिय छन्।
बच्चामा बजारिया रेडिमेड कपडा मन नपराउने कमै हुन्छन््। दाङ घोराही उपमहानगरपालिका–१४ की हिसिला ओली भने अरूभन्दा फरक थिइन्। उनलाई सानैदेखि हेन्डमेड सामान मन पथ्र्यो। ऊनी धागोबाट बुनेको टोपी, स्विटर, पञ्जा पाउँदा खुसी हुन्थिन्। ३१ वर्षीया ओलीले आफ्नै रुचिअनुसार २०७८ सालमा अल्लो, हेम्स (भाङ्ग्रो) र सिस्नोको लोक्ताबाट कपडा बनाउने व्यवसाय रोजिन्। युनिक दिदीबहिनी अल्लो उद्योग खोलिन्।
उनी अल्लोको लोक्ता संकलन गर्ने, प्रशोधन गर्ने, धागो कात्ने र कपडा बनाउने काम गर्छिन्। अल्लोेबाट टोपीमात्रैै चार प्रकारका बन्छन्। झोला झन् विभिन्न डिजाइनका १० प्रकारका बनाउँछिन्। स्कुल कलेज ब्यागदेखि अफिसियल र ट्राभल ब्यागको माग बढी हुन्छ। ह्याट, आउटर, सलदेखि जुत्ता र चप्पल, थरीथरीका बन्छन्। संघसंस्थाको अर्डरअनुसार पनि सामान तयार हुन्छन्।
‘अमेरिका, अस्ट्रेलिया, यूके, जापान, क्यानडा, कतारमा हाम्रो सामान पुगेको छ’, उनी भन्छिन्, ‘बीटुबी (बिजनेस टु बिजनेस) हाम्रो बजार विस्तार हुन सकेको छैन। बी टु सी (बिजनेस टु कस्टुमर)बाट हाम्रो उत्पादनको माग बढ्दो छ। आफू पनि लैजान्छन्। उपहारको रुपमा पनि रोजाइमा पर्छ।’ अल्लो र हेमका सामानको सबैभन्दा ठूलो बजार त मेला महोत्सव नै हो।
दाङमा अल्लो खेती हुँदैन तर बाहिरी जिल्लाबाट कच्चा पदार्थ लोक्ता बझाङ, बाजुरा, डोटी, अछाम, रोल्पा, रुकुम, प्युठानबाट संकलन हुन्छ। भाङ्ग्रो र सिस्नोको लोक्ता भने रुकुम, रोल्पा र प्यूठानमै पनि पाइन्छ। उत्पादित सामानको अधिकांश खपत पनि मालको चाल पाएकाले नै गर्छन्।
विद्यालय र ११ कक्षाको भर्नाको बेलामा अल्लोको झोलाको माग अलि बढी हुन्छ। दसैं, तिहार, वैशाख माघ र फागुन पनि अल्लोको सामान बिक्री हुने सिजन नै हो। ‘चाडपर्वमा उपहारका लागि अल्लोको सामान किनिन्छ,’ उनी भन्छिन्, ‘अल्लोको कपडा जाडोमा लगाउँदा न्यानो हुन्छ। गर्मीमा लगाउँदा शीतलता प्रदान गर्छ। गर्मीमा पसिना सोस्छ। एन्टिफंगल हुन्छ। एलर्जी पनि हुँदैन।’ एकैदिनमा २० देखि २५ हजार रुपैयाँसम्मको कारोबार भइरहेको छ। कारोबारबाट उनी सन्तुष्ट नै छिन्। स्वदेशी उत्पादनको मुख्य समस्या भनेकै बजारको हो। ‘अल्लोका कपडा लगााउने संस्कृति बनेको छैन। स्वदेशी उत्पादनलाई बढावा दिने राज्यको नीति पनि छैन। ग्राहकले पनि स्वदेशी उत्पादन प्रयोग गरे स्वदेशमै पैसा रहन्छ भन्ने सचेतना गराउनु जरुरी छ’, उनको सुझाव छ।
ओलीले पाँच लाख रुपैयाँबाट सुरु भएको अल्लो उद्योगको लगानी अहिले बढेर एक करोड रुपैयाँ पुगिसकेको छ। उनी एकल लगानीकर्ता हुन्। उनको व्यवसायमा भने परिवारको साथ र सहयोग छ। उनको उद्योगमा नियमित काम गर्ने १५ जना छन्। लोक्ता संकलन, प्रशोधन, धागो उत्पादनदेखि कपडा तयार गर्दा झन्डै तीन सय जनाले रोजगारी पाएका छन्। ‘महिलाका लागि महिलाको उद्योगजस्तो भएको छ। जहाँ ९९ प्रतिशत कामदार महिला नै छन्। महिलाद्वारा, महिलाका लागि, महिलाकै पोसाक उत्पादन भइरहेको छ’, उनले अनुभव सुनाइन्।
आफ्नै घरबाट सुरु भएको व्यवसायलाई विस्तार गर्ने उनको योजना छ। विदेशमा पनि बिजनेस टु बिजनेस कारोबार गर्न उनी चाहन्छिन्। त्यसका लागि उद्योग र व्यवसाय विस्तार गर्न बैंक ऋण वा अनुदान आवश्यक पर्छ। बैंकले महिला उद्यमीलाई बिना धितो ऋण दिने वा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने उनी बताउँछिन्। ‘हामीलाई बैंकले बिनाधितो ऋण पत्याउँदैन। स्थानीय, प्रदेश र संघीय सरकारले महिला उद्यमीका स्वदेशी उद्योेगलाई प्रोत्साहन गर्ने नीति देखिँदैन। आफ्नै बलबुताले उद्योग सञ्चालन भइरहेको छ’, उनले भनिन्। साना तथा महिला उद्यमीलाई सहुलियतपूर्ण ऋण लिन सरल विधि र प्रक्रिया बनाउन सरकारलाई उनको सुझाव छ।
अल्लो, भाङ्ग्रो र सिस्नोको लोक्ताबाट कपडा उत्पादन गर्ने भएकाले हिसिलालाई त्यही उत्पादनका रूपमा चिन्न थालेका छन्। सफल महिला उद्यमीका रूपमा उनलाई धेरै संघसंस्थाले सम्मान र पुरस्कृत गरिसकेका छन्। उनलाई ‘हिसिला अल्लो दाङ’ भनेर धेरैले चिन्छन्। उनी भन्छिन्, ‘हेम (गाँजाको लोक्ता)बाट कपडा उत्पादन गर्ने भएकाले कतिले त गाँजावाला दिदी पनि भनेर बोलाउँछन्। कामअनुसारकै पहिचान पाउँदा खुसी छु।’
प्रतिक्रिया दिनुहोस !