अंग्रेजी माध्यममा पढाइ हुन थालेपछि भरिँदै सामुदायिक विद्यालय
सिरहा : सिरहाको लहान नगरपालिकाका केही सामुदायिक विद्यालयहरूले अंग्रेजी माध्यममा पठनपाठन सुरु गरेपछि विद्यार्थीहरूको आकर्षण ह्वात्तै बढेको छ। निजी विद्यालयमा अध्ययनरत आफ्ना बालबालिकालाई निकालेर अभिभावकहरूले सामुदायिक विद्यालयमा भर्ना गराउन थालेका छन्। लहान नगरपालिकाको थप आर्थिक सहयोगमा पहिलो चरणमा वडा नं. ३ को ललकु माध्यमिक विद्यालय, वडा नं. १२ को मावि पडरिया थारुटोल, वडा नं. १ को पशुपति माध्यमिक विद्यालय र वडा नं. १४ को बस्तीपुर माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरु गरिएको हो।
आगामी शैक्षिक सत्रदेखि वडा नं. २४ को लेखनाथ माध्यमिक विद्यालय र वडा नं. १५ को ढोढना माध्यमिक विद्यालयमा पनि अंग्रेजी माध्यम लागू गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख महेश चौधरीले जानकारी दिए। ‘समयको माग र अभिभावकको चाहनाअनुसार अंग्रेजी माध्यम सुरु गरिएको हो तर नेपाली माध्यमको पढाइ पनि निरन्तर नै छ,’ नगर प्रमुख चौधरीले भने, ‘नगरपालिकाभरि हाल ५९ वटा सामुदायिक विद्यालयहरू सञ्चालनमा छन्।’
विद्यार्थी संख्याको चाप हेर्दा, मावि थारुटोलमा अंग्रेजी माध्यममा ४५० र नेपाली माध्यममा ७०० विद्यार्थी अध्ययनरत छन्। त्यस्तै, ललकु माविमा अंग्रेजी माध्यममा १ हजार र नेपाली माध्यममा १ हजार ४ सय विद्यार्थी छन्। भर्ना लिनुअघि विद्यालयले प्रवेश परीक्षा लिने गरेको छ। मावि पडरियाका प्रधानाध्यापक मनोज यादवका अनुसार हाल तोकिएको कोटाभन्दा बढी विद्यार्थी आएका कारण भर्ना नै रोक्नुपर्ने अवस्था सिर्जना भएको छ।
‘सामुदायिक विद्यालयप्रति गुम्दै गएको अभिभावकको विश्वास पुनः जागृत भएको छ,’ प्रधानाध्यापक यादवले भने, ‘अभिभावककै मागअनुसार अंग्रेजी माध्यम सुरु गरिएको हो, जसमा नगरपालिकाले आर्थिक सहायता र स्वयंसेवक शिक्षक उपलब्ध गराएर सहयोग गरेको छ।’ उनले उदाहरणका रूपमा आफ्नी छोरीलाई समेत निजी विद्यालयबाट हटाएर आफ्नै विद्यालयमा भर्ना गराएका छन्। विद्यालयले अंग्रेजी माध्यमका विद्यार्थीबाट कक्षाअनुसारको न्यूनतम शुल्क लिने गरेको छ।
अभिभावक अनिलकुमार चौधरीले निजी विद्यालयको तुलनामा निकै कम खर्चमा गुणस्तरीय अंग्रेजी माध्यमको शिक्षा पाइने भएकाले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएको बताए। ‘विद्यालयको अवस्था फेरिएको छ र पढाइ पनि राम्रो छ भन्ने सुनेपछि यहाँ नामाकंन गराएको हुँ,’ उनले भने।
हाल विद्यालयहरूमा पुस्तकालय, कम्प्युटर ल्याब र स्मार्ट बोर्डमार्फत पढाउने व्यवस्था मिलाइएको छ। यदि विद्यालयले छात्रावास, यातायात र चमेना गृहको समेत उचित व्यवस्थापन गर्न सके विद्यार्थीको आकर्षण अझै बढ्ने अभिभावकहरूको सुझाव छ।
प्रतिक्रिया दिनुहोस !