डेंगुले महामारीको रूप लिँदै छ ! के गर्ने ?

डेंगुले महामारीको रूप लिँदै छ ! के गर्ने ?
सुन्नुहोस्

हाल गर्मी बढ्नुको साथसाथै पानी पर्ने क्रमले पनि निरन्तरता पाइरहेको छ। यो लामखुट्टे वृद्धि हुन र फैलनको लागि उपयुक्त अवस्था मानिन्छ। हाल काठमाडौंलगायत विभिन्न ठाउँमा लामखुट्टे पनि देखिन थालिसकेका छन्। लामखुट्टे देखिँदै गर्दा नेपालमा डेंगु संक्रमणको जोखिम पनि बढेको छ। तर विडम्बना के छ भने डेंगु फैलाउने लामखुट्टेको नियन्त्रणतर्फ भने नागरिक तथा सरकार दुवै उदासीन देखिन्छ।

हाल नयाँ सरकारको ध्यान पनि स्वास्थभन्दा पनि राजनीतिक अनि सुशासन सुधारतर्फ बढी केन्द्रित भइरहेको देखिन्छ। नेपालमा विशेषत २–३ वर्षको अन्तराल डेंगुले महामारीको रूप लिने गरेको तथ्यांक देखिन्छ र यसैलाई आधार मान्ने हो भने अबको कुनै पनि समयमा डेंगुले महामारीको रूप लिन सक्ने देखिन्छ। काठमाडौंमा पछिल्लो पटक सन् २०२२ मा नेपालको इतिहासमा नै सबैभन्दा ठूलो डेंगुको प्रकोप देखिएको थियो। जसमा ८८ जनाको मृत्यु अनि ५४ हजार ७ सय ८४ जना संक्रमित भएको आधिकारिक तथ्यांक देखिन्छ। यद्यपि संक्रमितको संख्या भने कम्तीमा यो संख्याभन्दा तीन गुणा बढी भएको अनुमान गर्न सकिन्छ किनभने एउटा घरमा एक व्यक्तिमा संक्रमण पुष्टि हुँदा बाँकी परिवारका सदस्यले सोही प्रकृतिको लक्षणहरू देखिँदा पनि परीक्षण गर्दैनथिए। 

डेंगु फैलन नदिनु भनेको लामखुट्टे फैलन नदिनु हो भन्दा फरक नपर्ला। लामखुट्टे फैलन नदिन सबैभन्दा पहिले लामखुट्टे वृद्धि विकास हुने वातावरण सिर्जना हुन दिनु हुँदैन। लामखुट्टे वृद्धि विकास हुने वातावरण सिर्जना हुन नदिनु भनेको पानी संकलन हुने ठाउँहरू हुन नदिनु भन्ने हो। पानी संकलन हुने ठाउँहरू भन्नाले विशेषत फालिएका गाडीका टायर, ड्रम, प्लास्टिकका सामानहरू र पछिल्लो समय घरघरमा राखिएका फूलका गमलाहरू हुने पानीको संकलन बुझ्न सकिन्छ। 

यस्ता ठाउँहरूको पहिचान गरी लामखुट्टेको लार्भा नष्ट गर्नु सबैभन्दा महŒवपूर्ण मान्न सकिन्छ। यदि यी कार्यहरू गर्नमा बेवास्ता वा ढिलाइ गरेमा लामखुट्टेलाई नियन्त्रण गर्न भने असम्भव प्रायः हुने गरेको विगतको अनुभवले देखाउँछ। लामखुट्टे वृद्धि विकास हुने ठाउँहरूको पहिचान र नष्ट गर्ने समय भने अहिले नै हो अर्थात् मनसुन सुरु हुनुभन्दा अगाडि नै हो। तर दुर्भाग्यवश आजको मितिसम्म यसप्रति खासै कसैको ध्यान गएको देखिँदैन। तसर्थ आगामी दिनमा देखिन सक्ने डेंगु महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हो भने आजैबाट डेंगु वृद्धि विकास हुन सक्ने स्थानहरूको पहिचान र नष्ट गर्ने अभियानमा जुट्नु अति आवश्यक छ। 

अर्को उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो। यो त्यति व्यावहारिक त देखिँदैन तर पनि केही हदसम्म यो उपायको मद्दतले डेंगु संक्रमणलाई कम भने गर्न सकिन्छ। डेंगु फैलाउने एडिस जातको लामखुट्टे विशेषत दिनमा बढी सक्रिय हुने हुँदा यो उपाय त्यति व्यावहारिक नदेखिएको हो। लामखुट्टे दिनमा बढी सक्रिय हुने र टोक्ने भन्नुको अर्थ दिनमा जो जहाँ हुन्छ त्यहाँ लामखुट्टेले टोक्ने वा त्यस ठाउँमा डेंगु फैलने सम्भावना उच्च हुन्छ भन्ने हो। जस्तै विद्यार्थीलाई विद्यालय वा कलेजमा, कर्मचारीलाई कार्यालयमा हुँदा लामखुट्टेले टोकेको धेरै थाहा नहुने वा टोकिसकेपछि मात्र थाहा हुने हुँदा डेंगु संक्रमणको जोखिम बढ्ने गर्दछ। तसर्थ दिनमा बढी व्यथित गरिने ठाउँहरूमा लामखुट्टेको लार्भाको हुन सक्ने ठाउँको पहिचान गरी नष्ट गर्नु पर्दछ। यस्तो अभियानको लागि सरकार–नागरिकको हातेमालो अति आवश्यक हुने गर्दछ। 

नेपालमा मनसुन सुरु भएसँगै विकासको रफ्तार जस्तै सडक खन्नेजस्ता कामले पनि तीव्रता पाएको देखिन्छ। तर सडक खन्ने क्रममा खाल्डाखुल्डी हुँदा लामो समयसम्म पनि त्यसलाई नपुर्दा पानी जमेको देखिन्छ। यस्ता ठाउँमा लामखुट्टेलाई आफ्नो जीवनचक्र पूरा गर्न सहज हुने गर्दछ। सन् २०२२ मा काठमाडौंमा डेंगु महामारीमा धेरैले आफ्नो घर वरिपरि वा आफू हिँड्ने सडकमा धेरै खाल्डाखुल्डी भएको र त्यसमा पानी लामो समयसम्म जम्दा व्यापक लामखुट्टे फैलिएको देखेको भनेका थिए। तसर्थ विकासको नाममा (विशेषत सडक मर्मत वा बनाउँदा) डेंगु फैलाउने लामखुट्टेको लागि सहज वातावरण सिर्जना हुनु हुँदैन भन्ने हो। हाल गठित नयाँ सरकारले यो परिस्थितिलाई मनन् गरी मनसुन लागेसँगै यस्ता खाल्डाखुल्डीलाई शीघ्र पुरी डेंगु नियन्त्रणमा सहयोगी भूमिका निभाउनेछ भन्ने आशा गरौं। 

त्यस्तै, पछिल्लो समय घरघरमा करेसाबारी राख्ने र गमलामा फूल फुलाउने प्रचलन पनि बढ्दो छ। करेसाबारी तथा गमलामा पानी संकलन हुने र त्यो धेरै दिनसम्म रहने हुँदा लामखुट्टे जीवनचक्रको लागि राम्रो स्थान बनेको देखिन्छ। सिंगापुरजस्तो विकसित देशमा पनि घरघरमा राखिएका गमलामा संकलित पानी डेंगु नियन्त्रणको लागि अति चुनौतीपूर्ण देखिएको छ। नेपालमा पनि आगामी दिनहरूमा लामखुट्टे नियन्त्रणको लागि करेसाबारी तथा घरघरमा राखिने गमलामा संकलित पानी चुनौतीको रूपमा देखिने लगभग निश्चित प्रायः देखिन्छ। सरकारले यसप्रति पनि चेतनामूलक जानकारीहरू प्रवाह गर्नुपर्ने देखिन्छ। 

तीव्र सहरीकरणसँग सवारीसाधन पनि ह्वात्तै बढेको छ। सवारीसाधन बढ्नु भनेको मर्मत गर्ने ग्यारेजहरू पनि बढ्नु हो। यस्ता ठाउँहरूमा गाडीका पुराना टायरहरू प्रशस्त हुने तर त्यसको व्यवस्थापन भने गरेको देखिँदैन। त्यस्ता पुराना फालिएका टायरहरूमा मनसुने पानी जम्मा हुने र त्यस्ता ठाउँ लामखुट्टेको वृद्धि विकासको लागि अति उत्तम हुने गरेको विभिन्न अनुसन्धानले देखाउँछ। सन् २०१९ मा काठमाडौंमा डेंगु प्रकोपको सुरुवाती नै ग्यारेज नजिकका बासिन्दाहरूबाट भएको मेरो अनुभव छ। तसर्थ त्यस्ता ठाउँ वरिपरि पनि विशेष सरसफाइमा ध्यान दिनुपर्ने देखिन्छ। 

अन्तमा, नेपालको विगतलाई हेर्ने हो भने डेंगु फैलिसकेपछि मात्र डेंगु नियन्त्रणप्रति चासो दिएको देखिन्छ। त्यसपछि पनि खासै डेंगु नियन्त्रणको अभियानले सार्थकता पाएको भने देखिँदैन। डेंगु फैलाउने लामखुट्टे दिनमा बढी सक्रिय हुने हुँदा डेंगु फैलिसकेपछिको नियन्त्रणको उपाय खासै प्रभावकारी भएको देखिँदैन वा हँुदैन। नेपालमा दुई–तीन वर्षको अन्तरालमा नयाँ तर विगतको भन्दा थप कडा डेंगु प्रकोप देखिने गरेको अनुभवलाई आधार मान्ने हो भने अबको डेंगु पक्कै पनि विगतको भन्दा थप कडा र भयावह हुन सक्ने अनुमान गर्न सकिन्छ। डेंगु भाइरसको निश्चित एन्टिभाइरल औषधि नभएको र डेंगु फैलिसकेपछिको नियन्त्रण अहिलेसम्म प्रभावकारी नदेखिएकोले डेंगु फैलनुभन्दा अगाडि सो भाइरस फैलाउने लामखुट्टेको वृद्धि विकासलाई रोक्ने उपाय अपनाउनु नै उत्तम हुनेछ। के यस्ता उपायहरू अपनाउन ढिलो भइसकेको छैन र ? 

- पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.