जानकी मन्दिरको मौन महिमा
जानकी मन्दिर एउटा धार्मिक स्थल मात्र होइन, मिथिला सभ्यता, कला, संस्कार र ऐतिहासिक चेतनाको जीवित प्रतीक हो। हिन्दु धर्मावलम्बीको गहिरो आस्थासँग जोडिएको यो मन्दिर नेपालकै पहिचान बोकेको सांस्कृतिक सम्पदा हो। करिब १ सय १५ वर्ष पुरानो यो भव्य मन्दिर आज विश्व सम्पदा सूचीमा सूचीकृत हुन संघर्षरत छ। तर, यसको संरक्षण र व्यवस्थापनमा देखिएको उदासीनताले राष्ट्रकै गौरव जोखिममा परेको छ। मुगल, राजपुताना र मिथिला शैलीको अद्भुत मिश्रणमा निर्मित जानकी मन्दिर ४१ हजार ५ सय ५५ वर्गफिट क्षेत्रफलमा फैलिएको छ।
५० फिट अग्लो यस मन्दिरमा साना–ठूला गरी ६० कोठा छन्। सन् १८९६ मा टिकमगढकी रानी वृषभानु कुँवरले शिलान्यास गरेको यो मन्दिर सन् १९११ मा उद्घाटन गरिएको थियो। निर्माणमा त्यतिबेला ९ लाख रुपैयाँ खर्च भएको जनविश्वासका कारण यसलाई ‘नौलखा मन्दिर’ पनि भनिन्छ। यसभित्रको वास्तुकला, मिथिला संस्कृति अनुसारको पूजा–पद्धति र राम–सीतालाई छोरी–ज्वाइँका रूपमा गरिने सम्मानले यसलाई अन्य सम्पदाभन्दा विशिष्ट बनाएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत हुन कुनै सम्पदाले विश्वकै लागि विशिष्ट मूल्य बोकेको हुनुपर्छ। जानकी मन्दिरमा त्यो विशेषता पर्याप्त मात्रामा विद्यमान छ। यही कारणले यसलाई विश्व सम्पदामा सूचीकृत गराउन एक दशकदेखि प्रयास भइरहेका छन्। अहिले सरकारले मन्दिर वरपरको क्षेत्रलाई ‘संरक्षित स्मारक क्षेत्र’ घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ। शिवमन्दिर, राममन्दिर, जनकचोक, तेलहामडहा पोखरीदेखि बाह्रबिघासम्मको क्षेत्रलाई संरक्षण दायरामा ल्याउने तयारी सकारात्मक कदम हो। सम्पदा सूचीमा सूचीकृत हुनु भनेको युनेस्कोले समेत सम्पदालाई संरक्षण गर्नु हो। महत्वपूर्ण कला र संस्कृति बोकेको यो मन्दिरको महिमा र पुरातत्वलाई उजागर गर्न काम भने सरकारले गर्नुपर्छ। स्मारक क्षेत्र घोषणा र भाषणले सम्पदा जोगिँदैन। संरक्षणको नाममा गरिएका अवैज्ञानिक निर्माणले मन्दिरको मौलिकतामाथि नै आघात पुर्याइरहेका छन्।
केही वर्षअघि जडान गरिएका कमसल मार्बल र ग्रेनाइट, विद्युतीकरणका क्रममा गरिएका ड्रिलिङ तथा अव्यवस्थित मर्मतसम्भारले मन्दिरको पुरातात्विक सौन्दर्य बिगारेको छ। विश्व सम्पदा सूचीमा सूचीकृत हुन पहिलो सर्त नै मौलिकता जोगाउनु हो। यदि यही अवस्था जारी रह्यो भने विश्व सम्पदाको सपना कागजमै सीमित हुनेछ। मौलिकता जोगाउने दायित्व पुरातत्व विभाग तथा मन्दिर व्यवस्थापन गर्ने निकायहरूको हो। अहिले हुने सानो कमजोरीले सांस्कृतिक तथा पुरातात्विक महत्वमा गम्भीर क्षति पु¥याउन सक्छ। यसतर्फ गम्भीर भएर सरकारी संयन्त्रले संरक्षणको कामसँगै प्रवर्धन तथा उजागर गर्ने गर्नुपर्छ। जानकी मन्दिर धार्मिक आस्थाको केन्द्र मात्र होइन, नेपालको सांस्कृतिक कूटनीति र पर्यटन विकासको आधार पनि बन्न सक्छ।
विवाहपञ्चमी, रामनवमी, झुला महोत्सवजस्ता पर्वमा लाखौं श्रद्धालु आउँछन्। विश्व सम्पदामा सूचीकृत भए यस क्षेत्रको पर्यटन, रोजगारी, होटल व्यवसाय, हस्तकला र स्थानीय अर्थतन्त्रमा ठूलो परिवर्तन आउन सक्छ। युनेस्कोको नक्सामा परेको सम्पदाले विश्वव्यापी प्रचार पाउँछ, जसले अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्छ।
तर, यसका लागि सरकार, स्थानीय तह, पुरातत्व विभाग, मन्दिर व्यवस्थापन पक्ष र नागरिक समाज सबै एकमत हुन आवश्यक छ। मन्दिर वरपरको अव्यवस्थित सहरीकरण नियन्त्रण गर्नुपर्छ। अतिक्रमित क्षेत्र हटाउनुपर्छ। मन्दिरको आय–व्यय पारदर्शी बनाउनुपर्छ। सम्पदाको संरक्षण विज्ञको सल्लाहबिना कुनै निर्माण कार्य गर्न रोक लगाउनुपर्छ। पुरातात्विक सम्पदा फेरि बनाएर बनाउन सकिँदैन। यस्ता सम्पदाको मूल्य समय, इतिहास, संस्कृति र सभ्यताले निर्धारण गर्छ। त्यसैले जानकी मन्दिरको महिमा बुझ्नु भनेको मिथिला सभ्यता, राष्ट्रिय पहिचान र भावी पुस्ताको सांस्कृतिक भविष्य जोगाउनु हो।
अब पनि गम्भीर नबन्ने हो भने नेपालले आफ्नै गौरव गुमाउनेछ। सम्पदा सूचीमा समावेशका लागि त्यसै अनुरूपको तयारीमा सरकार जुट्नुपर्छ। सानो तयारीले सम्पदा सूचीमा सूचीकृत हुन सक्दैन भन्ने विषयमा कपिलवस्तुको तिलौराकोटबाट सिक्नुपर्छ। सम्पदामा सूचीकृत विषय भूराजनीतिसँग पनि उत्तिकै जोडिएको विषयलाई समेत ध्यानमा राखेर संरक्षणसँगै सूचीकरणमा ध्यान दिन आवश्यक छ।
प्रतिक्रिया दिनुहोस !