'सिक्ने उमेर हुँदैन'

६६ वर्षको उमेरमा धनकुटाका करवीर राईले गरे एसईई पास

६६ वर्षको उमेरमा धनकुटाका करवीर राईले गरे एसईई पास
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धनकुटा : उमेरले मानिसलाई शारीरिक रूपमा वृद्ध बनाउन सक्छ तर सिक्ने इच्छा र आत्मविश्वास बलियो भए उमेर कहिल्यै बाधक बन्दैन भन्ने उदाहरण धनकुटाका ६६ वर्षीय करवीर राई बनेका छन् । वि.सं. २०१७ सालमा जन्मिएका राईले ६६ वर्षको उमेरमा एसईई परीक्षा उत्तीर्ण गर्दै धेरैका लागि प्रेरणादायी उदाहरण बनेका हुन् । राईको शैक्षिक यात्रा निकै लामो,संघर्षपूर्ण र धैर्यताले भरिएको छ ।

उनले पहिलो पटक वि.सं. २०४० सालमा साविक चुङवाङ गाविस, हाल पाख्रिवास नगरपालिका–१० स्थित भारती माध्यमिक विद्यालयबाट टेस्ट परीक्षा दिएका थिए । त्यसपछि त्यतिबेलाको एसएलसी परीक्षा दिएका थिए । त्यसबेला गणित, विज्ञान र भूगोल विषयमा असफल भएपनि अरु विषयमा राम्रो अंक ल्याएर पास गरेका थिए । त्यसपछि उनको पढाइ बीचमै रोकिएको थियो ।

तर, मनभित्रको पढ्ने इच्छा भने कहिल्यै मरेन । गाउँमा निष्क्रिय बस्नुभन्दा केही नयाँ गर्ने सोचका साथ उनले पुनः अध्ययन सुरु गर्ने निर्णय गरे । राईका अनुसार उनले २०८० सालदेखि नियमित रूपमा परीक्षाको तयारी थालेका थिए । उनले धरानस्थित सगरमाथा डल्फिन कलेजबाट प्राइभेट फाराम भरेर अध्ययन अघि बढाएका हुन् । कठिन लाग्ने गणित र अंग्रेजी विषयका लागि ट्युसन पढे भने अन्य विषय स्वअध्ययनमार्फत् तयारी गरे । वि.सं. २०८० सालमा उनले पाँच विषयमा सफलता प्राप्त गरेका थिए । गतवर्ष गणित र अर्थशास्त्र विषयको परीक्षा दिएपनि अर्थशास्त्र उत्तीर्ण गरेको थिए । यस वर्ष गणित विषयमा समेत उत्तीर्ण भएपछि उनले एसईई पूरा गर्न सफल भएका हुन् ।

पाख्रिवास नगरपालिका–७ घर भई हाल धनकुटा नगरपालिका–१ मा बसोबास गर्दै आएका राई सामाजिक क्षेत्रमा पनि सक्रिय व्यक्तित्व हुन् । वि.सं. २०४९ सालमा बहुदल स्थापना भएपछि उनी साविक मुगा गाविसको उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनको परिवारमा श्रीमती करुणा देवान, दुई छोरा, तीन छोरी तथा नाति–नातिनाहरू छन् । उनका जेठा नाति अहिले कक्षा ७ र जेठी नातिनी कक्षा ६ मा अध्ययनरत छन्। नाति–नातिनासँगै हजुरबुबाले पनि परीक्षा उत्तीर्ण गरेपछि परिवारका सदस्यहरुमा खुसीयाली छाएको उनले बताए ।

एसईई उत्तीर्ण गरेपछि अब ११ र १२ कक्षा अध्ययन गर्ने इच्छा रहेको उनले व्यक्त गरेका छन् । धनकुटाको वातावरण राम्रो भएकाले यहीँको कुनै कलेजमा प्लस टु अध्ययन गर्ने योजना रहेको उनको भनाइ छ । करवीर राईको सफलताले 'सिक्ने कुनै उमेर हुँदैन'भन्ने भनाइलाई पुनः प्रमाणित गरेको छ । उनी अहिले धेरै युवा विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.