वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालार्य पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका–९ बस्ने दोलखा शैलुङ गाउँपालिका–४ घर भएका ३९ वर्षीय दावा योञ्जन र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने बारा आदर्श कोटवाल गाउँपालिका–४ घर भएका २७ वर्षीय अनिल कुमार यादव रहेका छन् ।
पक्राउ परेकामध्ये दावाले सर्विया र युएई पठाइ दिन्छु भन्दै ७ जना पीडितहरूबाट ११ लाख ४५ हजार रूपैयाँ र अनिलले मलेसिया पठाइ दिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ८७ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दावालाई भक्तपुर सूर्यविनायक नगरपालिका–९ बाट र अनिललाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस !