नतिजामात्रै सुधार कि शिक्षा पनि ?

नतिजामात्रै सुधार कि शिक्षा पनि ?

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। नतिजा सुध्रिएको समाचार छ। तर सँगसँगै प्रश्न पनि उठेको छ, यो सुधार के साँच्चीकै शैक्षिक गुणस्तरको प्रतिबिम्ब हो ? या केवल एउटा आँकडाको खेल मात्रै ? ८१ सालमा आएको नतिजा अनुसार ४८ प्रतिशतमात्रै उत्तीर्ण भएका थिए।

त्यस बखत तत्कालीन प्रधानमन्त्रीले जबरजस्त रूपमा भनेका थिए, आउँदो वर्ष नतिजा अझै सुधारेर ७० प्रतिशत उत्तीर्ण गराउँछौं। लगत्तै त्यस्तो नतिजा आएन। तर यसपालिको झन्डै त्यता नै उन्मुख रह्यो। यसपालिको नतिजा पनि गएको वर्षभन्दा ४ प्रतिशतले सुधारिएकै देखिन्छ। यसपालिको नतिजामात्रै सुधारिएको होइन, समय र जाँच्ने तरिकाका पनि फेरबदल आयो।

राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार बनेलगत्तै भएको परीक्षाको नतिजा तुरुन्तै आउनुपर्ने सरकारको दबाब थियो। त्यसैले परीक्षा केन्द्रमै ३ दिनभित्र कापी जाँचेर पठाइएको थियो। अनि नतिजा परीक्षा भएको १ महिनामै आयो। नतिजा आउन हुने बिलम्वको अन्त्यलाई सुधार मान्नै पर्छ। तर हतारहतार परीक्षा केन्द्रमै जाँचिएको उत्तरलाई सही वा वाञ्छनीय नम्बर दिइएकाले नै नतिजा सुधार भएको हो वा जसरी नि उत्तीर्ण गर्ने मक्सद राखिएको हो भन्ने थाहा हुँदैन। त्यसको प्रक्रिया विश्वसनीय हुन सकेको छैन। सन्देह छ। ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थी पोहोर ४८ हजारको हाराहारीमा थिए र यसपालि पनि त्यस्तै छ। जिपिए बढाउने विद्यार्थी बढेनन् नै।

अनि कुल उत्तीर्ण प्रतिशत गत वर्षभन्दा ४ प्रतिशत बढेर ६६ पुगेको छ। यो प्रतिशतको वृद्धि वा सुधारलाई शैक्षिक सुधार मान्न सकिन्छ वा सकिन्न भन्ने प्रश्न पेचिलो छ। प्रदेशगत रूपमा हेर्ने हो भने दुर्गमको नतिजाले अझै खुसी दिन सकेको छैन। खासमा देशमा समृद्धिको चाहना राख्नेहरूले शिक्षामा सुधार चाहेका छन्। आमजनता शिक्षा र स्वास्थ्यमा सरकारले दायित्व पूरा गर्न नसकेको ठान्छन्, अनुभूति गर्छन्। सामुदायिक विद्यालयहरू लथालिंग छन्। सरकारले शिक्षालाई पर्याप्त बजेट दिँदैन र व्यवस्थापनमा चरम दलीयकरण छ। त्यसमा सुधार गरी विद्यार्थीलाई जीवन जिउने कला सिकाउने र समाजका विभिन्न क्षेत्रमा योगदान गर्न सक्ने सक्षम नागरिक बनाउने शिक्षालाई मात्रै सफल मान्न सकिन्छ। त्यस मानेमा हाम्रो शिक्षा क्षेत्र निराशाजनक नै छ।

खास नतिजामा सुधार सरकारको चाहना हुनसक्छ, अघिल्लो सरकारले चाहेजस्तै तर शिक्षा सुधार भनेको त्योमात्रै होइन। शिक्षा भनेको चेतना र ज्ञानको दियो हो। हाम्रा विद्यार्थीले अंक धेरै ल्याउन थालेका हुन् कि ज्ञानको विस्तार भएको हो ? त्यो भविष्यले देखाउनेछ। भोलिका दिनमा समाजमा विद्यार्थीले पुर्‍याउने योगदानबाट मात्रै शिक्षाको सुधार मापन गर्न सकिन्छ। जुन अंकजस्तै प्रष्ट नदेखिन सक्छ। फगत अंकमा भएको वृद्धिलाई मात्रै सुधार मान्नु हुँदैन। समग्र शिक्षा क्षेत्रकै सुधार गरी सबल, जिम्मेवार नागरिक उत्पादनमा शिक्षा केन्द्रित गरिनुपर्छ। शिक्षामा हुने सुधारले मात्रै समग्र देशको सुधार सम्भव हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.