रास्वपामाथि सांसद राईको आरोप-तपाईंहरु बाउको चिहान खनेर छोराको शालिक बनाउँदै हुनुहुन्छ
काठमाडौं : नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ‘बाउको चिहान खनेर छोराको शालिक बनाउँदै’ गरेको भन्दै आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको आजको वैठकलाई सम्बोधन गर्दै एमाले सांसद राईले विगतमा रास्वपा सांसदहरुलाई संसदको मूल्य मान्यता अनुसार सदन चलाउ भन्दा नारा लगाएको, सदनमा सुतेको सम्झाएका छन् । आफूहरु सत्तामा हुँदा रास्वपा सांसदहरुले नाराबाजी गर्दा, सदनमै सुत्दा पनि आफूहरुले कुनै जवाफ नदिएको बताउँदै आज रास्वपा सरकारमा हुँदा आफू छक्क परेको बताए ।
उनले रास्वपाले अहिले बाउको चिहान खनेर छोराको शालिक बनाउँदै गरेको आरोप लगाउँदै भने, ‘यो गल्ती हुनेछ, यसो गर्नु हुँदैन ।’ सबैले बोल्न पाउने, सबैले चिया खान पाउने संसद भवन कति राम्रो थियो भन्दै सांसद राईले प्रश्न गरे, ‘त्यो संसद भवन कसले जलायो ?’
सांसद राईले अहिले विद्यालयमा ‘सिट प्लानिङ’ गरे जस्तो रास्वपाले सदन चलाइरहेको आरोप समेत लगाए । उनले प्रश्न गरे, ‘त्यो संसद भवन नजलेको भए के हुन्थ्यो, आज तपाईले त्यो सिट प्लानिङ गर्न सक्नु भयो ?’ उनले आज सांसदहरु पाँच–छ कक्षाको विद्यार्थीहरु जस्तै बसिरहेको गुनासो गरे ।
रास्वपालाई काम गर्न र देश बनाउन जनताले अभिमत दिएको बताउँदै सांसद राईले यत्रो शक्तिशाली जनमतबाट आएको पार्टीले आफ्नो प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने समस्या निजी हो कि होइन भन्दै प्रश्न गरेका छन् । नजिकै भएको प्रधानमन्त्रीलाई रास्वपाले सदनमा उपस्थित गराउन नसकेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !