पक्षघातको उपचारमा थ्रोम्बेक्टोमीले ल्याएको परिवर्तन

पक्षघातको उपचारमा थ्रोम्बेक्टोमीले ल्याएको परिवर्तन

४५ वर्षीय पुरुष अचानक घरमै ढले । उनको शरीरको दायाँ भाग चल्न छाडेको थियो र बोल्नसमेत सकिरहेका थिएनन् । सुरुमा परिवारले केही समयपछि ठीक होला भन्ने सोचे। तर अवस्था छिट्टै बिग्रिँदै गएपछि उनलाई तुरुन्त अस्पताल लगियो। जाँच गर्दा मस्तिष्कको बायाँ भागमा रगत पुर्‍याउने मुख्य रक्तनली पूर्ण रूपमा बन्द भएको पाइयो । यस्तो प्रकारको स्ट्रोक समयमै उपचार नगरे स्थायी पक्षघात वा मृत्युको कारण बन्न सक्ने भएकाले तुरुन्त मेकानिकल थ्रोम्बेक्टोमी पद्धतिबाट उपचार गरियो ।

के हो थ्रोम्बेक्टोमी उपचार पद्धति ? 

यो आधुनिक चिरफार बिना गरिने उपचार हो, जसमा रक्तनलीभित्र रहेको ढिक्का र थक्का निकालेर मस्तिष्कमा पुनः रगतको प्रवाह गराइन्छ। उपचार सफल भएपछि केही घण्टामै पहिले नचल्ने हातखुट्टा चल्न थाले । अर्को दिनसम्म बोलीमा पनि उल्लेखनीय सुधार आयो। केही हप्ताभित्रै फेरि आफैं हिँड्न सक्ने र सामान्य जीवनमा फर्किन सफल भए ।

यस्ता घटनाले समयमै उपचार पाउँदा बिरामीको जीवनमा कति ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने स्पष्ट देखाउँछन् । पहिले जीवनभर पक्षघात हुने सम्भावना भएका बिरामी आज पुनः सामान्य जीवनमा फर्किन सफल भइरहेका छन् । पछिल्लो एक दशकमा स्ट्रोक उपचारमा भएको प्रगतिले पहिले असम्भव ठानिएका धेरै अवस्थालाई सम्भव बनाएको छ । गम्भीर अशक्तता, बोली हराउने वा मृत्युको जोखिममा रहेका बिरामीहरूले अहिले समयमै उचित उपचार पाएमा सामान्य जीवन बाँच्ने अवसर पाएका छन् ।

मेकानिकल थ्रोम्बेक्टोमी आधुनिक चिकित्साशास्त्रको सबैभन्दा महत्वपूर्ण उपलब्धिमध्ये एक बनेको छ । यसले केवल बिरामीको ज्यान बचाउने मात्र होइन, जीवनको गुणस्तर पनि पुनस्र्थापित गर्ने काम गरेको छ । यसको प्रभाव अस्पतालसम्म मात्र सीमित छैन । जीवनभर हेरचाह गर्नुपर्ने अवस्थामा पुगेका परिवारहरूले आफ्ना सदस्यलाई पुनः स्वतन्त्र जीवनमा फर्किएको देखेका छन् र स्थायी अशक्त हुने निश्चितजस्तै देखिएका बिरामीहरू फेरि काम, परिवार र समाजमा फर्किन सफल भएका छन् । त्यसैले मेकानिकल थ्रोम्बेक्टोमी चिकित्सा क्षेत्रमा मात्र होइन, सामाजिक र आर्थिक दृष्टिले पनि ठूलो उपलब्धि बनेको छ ।

स्ट्रोक आज पनि विश्वभर मृत्यु तथा दीर्घकालीन अशक्तताको प्रमुख कारणमध्ये एक हो । मस्तिष्कमा रगतको प्रवाह अचानक बन्द हुँदा हुने इस्केमिक स्ट्रोक सबै स्ट्रोकमध्ये करिब ८५ प्रतिशतमा देखिन्छ । धेरै अवस्थामा मस्तिष्कको ठूलो भागमा रगत पुर्‍याउने मुख्य रक्तनली बन्द हुन्छ, जसलाई लार्ज भेसल अकलुजन भनिन्छ। यस्तो स्ट्रोक अत्यन्त गम्भीर हुन्छ र तत्काल उपचार आवश्यक पर्छ। जब मस्तिष्कमा रगत पुर्याउने रक्तनली अचानक बन्द हुन्छ, केही मिनेटमै मस्तिष्कका कोषहरू नष्ट हुन थाल्छन् ।

सन् २०१५ मा प्रकाशित विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले मेकानिकल थ्रोम्बेक्टोमीको प्रभावकारिता प्रमाणित गरेपछि विश्वभर स्ट्रोक उपचारमा ठूलो परिवर्तन आयो । त्यसपछि मेकानिकल थ्रोम्बेक्टोमी ठूलो रक्तनली बन्द हुने स्ट्रोकको मानक उपचारका रूपमा स्थापित भयो । विकसित तथा विकासशील दुवै देशमा विशेष स्ट्रोक केन्द्र, अत्याधुनिक इमेजिङ, आपत्कालीन उपचार प्रणाली तथा विशेषज्ञ टोलीको विकास तीव्र रूपमा हुन थाल्यो । 

टाइम इज ब्रेन अर्थात् समय नै मस्तिष्क हो भन्ने अवधारणा अहिले विश्वभर स्वीकार गरिएको छ। किनकि स्ट्रोक हुँदा प्रत्येक मिनेटमा लाखौं मस्तिष्क कोष नष्ट भइरहेका हुन्छन् । त्यसैले छिटो पहिचान, छिटो अस्पताल पु¥याउने व्यवस्था, छिटो जाँच र छिटो उपचार आधुनिक स्ट्रोक सेवाको मुख्य आधार बनेका छन् । मेकानिकल थ्रोम्बेक्टोमी व्यापक रूपमा प्रयोग हुनुअघि उपचारका विकल्प सीमित थिए। नसाबाट दिइने ढिक्का पगाल्ने औषधिले केही बिरामीलाई फाइदा गरे पनि ठूलो रक्तनली बन्द भएको अवस्थामा यो मात्र पर्याप्त नहुन सक्थ्यो। धेरै बिरामीमा रक्तनली पूर्ण रूपमा नखुल्ने भएकाले उपचारपछि पनि गम्भीर पक्षघात रहिरहन्थ्यो ।

मेकानिकल थ्रोम्बेक्टोमी भनेको बन्द भएको रक्तनलीभित्रको ढिक्का निकालेर पुनः रगतको प्रवाह गराउने आधुनिक उपचार हो। परम्परागत न्युरो सर्जरीमा जस्तो टाउको खोल्नुपर्ने आवश्यकता यसमा पर्दैन। यो प्रक्रिया सामान्यतया तिघ्रा वा हातको रक्तनलीमा सानो प्वाल बनाएर सुरु गरिन्छ। त्यसपछि पातलो तथा लचिलो ट्युब अर्थात् क्याथेटर शरीरभित्रको रक्तनली हुँदै मस्तिष्कसम्म पुर्याइन्छ। एक्सरेको सहायताले बन्द भएको रक्तनलीसम्म पुगेर विशेष उपकरणद्वारा ढिक्का निकालिन्छ । ढिक्का हटेपछि तुरुन्त रगतको प्रवाह पुनः सुरु हुन्छ । 

यस उपचारको सबैभन्दा ठूलो फाइदा भनेको यो न्यून चिरफारमा आधारित हुनु हो। परम्परागत मस्तिष्क शल्यक्रियामा टाउको खोल्नुपर्ने, धेरै रगत बग्ने, संक्रमणको जोखिम हुने तथा लामो समय अस्पताल बस्नुपर्ने सम्भावना हुन्छ। तर थ्रोम्बेक्टोमीमा शरीरमा सानो प्वाल मात्र बनाइन्छ, जसले बिरामीलाई कम पीडा हुन्छ र छिटो निको हुन मद्दत गर्छ। यसको अर्को महत्वपूर्ण फाइदा गति हो। स्ट्रोक उपचारमा प्रत्येक मिनेट महत्वपूर्ण हुन्छ। मेकानिकल थ्रोम्बेक्टोमीले बन्द रक्तनली छिटो खोल्न मद्दत गर्ने भएकाले मस्तिष्कको धेरै भाग बचाउन सकिन्छ। 

रक्तप्रवाह चाँडै पुनस्र्थापित भए बिरामीको निको हुने सम्भावना धेरै बढ्छ। खुला शल्यक्रियाको तुलनामा यसपछि बिरामीको सुधार पनि छिटो हुन्छ। धेरै बिरामी केही घण्टा वा दिनमै बोल्न, चल्न वा चेतना फर्काउन सक्षम हुन्छन् । अस्पताल बसाइ छोटो हुन्छ र दीर्घकालीन अशक्तताको जोखिम पनि कम हुन्छ । यो प्रक्रिया तुलनात्मक रूपमा सुरक्षित पनि मानिन्छ। आधुनिक इमेजिङ तथा विशेष उपकरणको प्रयोगले वरपरको मस्तिष्कमा हुने क्षति कम हुन्छ। अनुभवी केन्द्रहरूमा अहिले यो उपचार अत्यन्त प्रभावकारी र सुरक्षित मानिन्छ।

नेपालले पनि पछिल्ला वर्षहरूमा स्ट्रोक उपचारमा महत्वपूर्ण प्रगति गरेको छ। सीमित स्रोतसाधनका बाबजुद उन्नत न्युरोभास्कुलर सेवातर्फ देशले महत्वपूर्ण कदम चालेको छ। सन् २०२० मा उपेन्द्र देवकोटा स्मृति न्युरो अस्पतालमा नेपालको पहिलो बाइप्लेन क्याथ ल्याबमार्फत मेकानिकल थ्रोम्बेक्टोमी सेवा सुरु हुनु नेपाली स्वास्थ्य क्षेत्रको ऐतिहासिक उपलब्धि थियो। यस सेवाको सुरुवातसँगै नेपालमै गम्भीर स्ट्रोक भएका बिरामीले अत्याधुनिक उपचार पाउने अवसर पाए। 

यसअघि विदेश जानुपर्ने वा उपचार नै उपलब्ध नहुने अवस्था थियो। नेपालको पहिलो बाइप्लेन क्याथल्याबले केवल थ्रोम्बेक्टोमीमात्र होइन, एन्युरिज्म, रक्तनली विकृति तथा अन्य जटिल न्युरो भास्कुलर रोगहरूको न्यून चिरफार उपचारको बाटो पनि खोलेको छ। नेपालमा यस्तो सेवा सुरु गर्न विशेष तालिम, आधुनिक उपकरण, दक्ष जनशक्ति तथा विभिन्न विभागबीच सहकार्य आवश्यक थियो। स्ट्रोक विशेषज्ञ, न्युरो इन्टरभेन्सन चिकित्सक, न्युरोसर्जन, एनेस्थेसिया विशेषज्ञ, रेडियोलोजिस्ट, नर्स तथा प्राविधिकहरूको संयुक्त प्रयासले यो सम्भव भएको हो।

अझै छ, चुनौती

यद्यपि अझै धेरै चुनौतीहरू बाँकी छन् । धेरै मानिसलाई स्ट्रोकका लक्षणबारे पर्याप्त जानकारी छैन। धेरै बिरामी अस्पताल पुग्दा उपचारको उपयुक्त समय नाघिसकेको हुन्छ। ढिलो यातायात, जनचेतनाको कमी, सीमित स्ट्रोक केन्द्र तथा उन्नत इमेजिङको अभाव अझै समस्या बनेका छन् । यसका लक्षण चिन्न बी फास्ट भन्ने सरल तरिका प्रयोग गरिन्छ । बी अर्थात् ब्यालेन्स सन्तुलन बिग्रिनु वा अचानक चक्कर लाग्नु, ई अर्थात् आइज आँखामा समस्या जस्तै धमिलो देखिनु वा दृष्टि हराउनु, एफ अर्थात् फेस अनुहारको एक भाग बांगिनु वा मुस्कान असमान देखिनु, ए अर्थात् आर्म एक हात कमजोर हुनु वा माथि उठाउँदा तल झर्नु, एस अर्थात् स्पिच बोली अस्पष्ट हुनु वा बोल्न नसक्नु र टी अर्थात टाइम तुरुन्त अस्पताल लैजानुपर्ने समय हो ।

किनकि ढिलाइ गर्दा स्थायी अशक्तता वा मृत्यु हुन सक्छ। गम्भीर स्ट्रोकको आधुनिक उपचारमध्ये एक मेकानिकल थ्रोम्बेक्टोमी समयमै गर्नुपर्ने हुन्छ। सामान्यतया लक्षण सुरु भएको ६ घण्टाभित्र प्रभावकारी हुन्छ । र, विशेष अवस्थामा २४ घण्टासम्म पनि गर्न सकिन्छ । जसले देखाउँछ कि स्ट्रोकमा छिटो पहिचान र तुरुन्त अस्पताल पुग्नु नै जीवन र मस्तिष्क बचाउने सबैभन्दा महत्वपूर्ण कुरा हो । 

विश्व थ्रोम्बेक्टोमी दिवस प्रत्येक वर्ष स्ट्रोक तथा यसको आधुनिक उपचारबारे जनचेतना फैलाउने उद्देश्यले मनाइन्छ । सन् २०२६ मा विश्व चिकित्सा समुदायले मेकानिकल थ्रोम्बेक्टोमीलाई मानक उपचारका रूपमा स्वीकार गरिएको एक दशक पूरा भएको महत्वपूर्ण अवसर मनाइरहेको छ। विश्व थ्रोम्बेक्टोमी दिवस केवल प्रविधिको उत्सवमात्र होइन। 

यो विज्ञान, नवप्रवर्तन, सहकार्य तथा समयमै उपचारले मानव जीवनमा कति ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने सन्देश पनि हो। विश्वव्यापी अनुसन्धानदेखि नेपालमा उपेन्द्र देवकोटा स्मृति न्युरो अस्पतालमार्फत सुरु भएको आधुनिक स्ट्रोक सेवासम्मको यात्राले निराशाजनक अवस्थालाई पनि आशामा बदल्न सकिने प्रमाणित गरेको छ। पछिल्लो दशकमा हासिल भएको प्रगति आधुनिक न्युरोसाइन्स तथा इन्टरभेन्सनल चिकित्साशास्त्रको सबैभन्दा प्रेरणादायी सफलतामध्ये एक हो । र, नेपाल त्यस यात्राको महत्वपूर्ण हिस्सा बनिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.