जीडीपीको आकार र वार्षिक आर्थिक वृद्धिदर बागमतीको बढी, मधेस सबैभन्दा कमजोर

जीडीपीको आकार र वार्षिक आर्थिक वृद्धिदर बागमतीको बढी, मधेस सबैभन्दा कमजोर
तस्बिर : गोविन्द महतो
सुन्नुहोस्

काठमाडौं : आर्थिक वर्ष २०८२/०८३ मा कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)को वार्षिक आर्थिक वृद्धिदर सबैभन्दा धेरै बागमती प्रदेशमा र सबैभन्दा थोरै मधेस प्रदेशमा हुने अनुमान गरिएको छ। प्रतिव्यक्ति जीडीपी उच्च बागमती र न्यून मधेस प्रदेशको नै रहेको छ।

राष्ट्रिय तथ्यांक कार्यलयले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा जीडीपीको सबैभन्दा उच्च वार्षिक वृद्धिदर बागमती प्रदेशको ५.४० प्रतिशत हुने अनुमान गरिएको हो। यो कुल वार्षिक वृद्धिदरभन्दा पनि बढी हो। चालु आर्थिक वर्षको जीडीपी करिब ६६ खर्ब रुपैयाँ र जीडीपीको उपभोक्ताको मूल्यमा वृद्धिदर ३.८५ प्रतिशत हुने अनुमान कार्यालयको छ। सबैभन्दा न्यून वार्षिक वृद्धिदर भने मधेस प्रदेशको १.३१ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ।

आर्थिक वर्ष २०८२/०८३ मा बागमती प्रदेशको जीडीपी २४ खर्ब २३ अर्ब (३६.७ प्रतिशत) रुपैयाँ हुने तथ्यांक कायालयको अनुमान हो। यस्तै, कोशी प्रदेशको १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत), लुम्बिनी प्रदेशको ९ खर्ब ३७ अर्ब (१४.२ प्रतिशत), मधेस प्रदेशको ८ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत), गण्डकी प्रदेशको ५ खर्ब ९३ अर्ब (९.० प्रतिशत), सुदूरपश्चिम प्रदेशको ४ खर्ब ६४ अर्ब (७.० प्रतिशत) र कर्णाली प्रदेशको २ खर्ब ७७ अर्ब (४.२ प्रतिशत) रहने प्रारम्भिक अनुमान छ।

समीक्षा अवधिमा गण्डकी प्रदेशको वार्षिक वृद्धिदर ५.०१ प्रतिशत छ भने सुदूरपश्चिमको वार्षिक वृद्धिदर ३.२८ प्रतिशत छ। वार्षिक वृद्धिदर कोशीको ३.१३ प्रतिशत, कर्णालीको २.९४ प्रतिशत र लुम्बिनीको २.८७ प्रतिशत हुने अनुमान छ। 

औद्योगिक वर्गीकरणअनुसारको आर्थिक क्रियाकलापलाई हेर्दा आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा बागमती प्रदेशबाहेक सबै प्रदेशमा कृषिको योगदान सबैभन्दा बढी देखिन्छ। बागमती प्रदेशमा थोक तथा खुद्रा व्यापारको योगदान सबभन्दा बढी देखिन्छ। आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय तहमा दोस्रो हिस्सा ओगटेको व्यापारले कोशी तथा मधेस प्रदेशमा पनि दोस्रो हिस्सा नै ओगटेको देखिन्छ।

त्यसैगरी, बागमती प्रदेशमा घरजग्गासम्बन्धी कारोबार सेवाको हिस्सा दोस्रो स्थानमा रहेको छ। गण्डकी र कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन र रक्षाको योगदान दोस्रोस्थानमा रहेको देखिन्छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा शिक्षाको योगदान दोस्रो स्थानमा रहेको देखिन्छ। अर्कोतर्फ, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा प्रशासनिक सहयोगी सेवा, मधेस, बागमती र कर्णाली प्रदेशमा खानी तथा उत्खनन क्रियाकलापको योगदान सबैभन्दा न्यून देखिन्छ।

समीक्षा वर्षमा मधेस प्रदेशको कृषि, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सार्वजनिक प्रशासन तथा रक्षाबाहेक सबै प्रदेशका अन्य सबै क्रियाकलाप वृद्धिदर धनात्मक रहेको देखिन्छ। औद्योगिक वर्गीकरणअनुसारको मूल्य अभिवृद्धिको वार्षिक वृद्धिदर राष्ट्रिय तहमा सबैभन्दा धेरै विद्युत् तथा ग्यासको (२०.९३ प्रतिशत) रहने प्रारम्भिक अनुमान रहेकामा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर सोही क्रियाकलापको रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर वित्तीय तथा बिमा सेवाको रहने प्रारम्भिक अनुमान गरिएको छ।

कोशी प्रदेशमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापनको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ भने बागमती, गण्डकी, कर्णाली प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षाको वार्षिक वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा र मधेस प्रदेशमा कृषिको वार्षिक वृद्धिदर ऋणत्मक रहने अनुमान छ।

प्रतिव्यक्ति जीडीपी बागमतीको २ हजार ६ सय ४४ डलर
आर्थिक वर्ष २०८२/८३ मा जीडीपी सबैभन्दा धेरै बागमती प्रदेशको र सबैभन्दा कम मधेस प्रदेशको हुने संशोधित अनुमान रहेको छ। जसअनुसार बागमती प्रदेशको २ हजार ६ सय ४४ अमेरिकी डलर पुग्ने अनुमान सरकारी तथ्यांकको छ, जुन राष्ट्रिय औसतभन्दा बढी हो। चालु आर्थिक वर्षका लागि राष्ट्रिय तहमा प्रतिव्यक्ति जीडीपी १५१३ डलर हुने प्रारम्भिक अनुमान गरिएको छ।

यसपछि प्रतिव्यक्ति जीडीपी गण्डकी प्रदेशको १ हजार ६ सय ५१, कोशी प्रदेशको १ हजार ४ सय १०, लुम्बिनी प्रदेशको १ हजार २ सय ८, सुदूरपश्चिम प्रदेशको १ हजार १७०, कर्णाली प्रदेशको १ हजार १ सय ८ र मधेस प्रदेशको ९ सय ३४ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ।
 
मधेस सबैभन्दा कमजोर

चालु आर्थिक वर्ष २०८२/०८३ मा मधेसको अर्थतन्त्र सबैभन्दा कमजोर देखिएको छ। आर्थिक वर्ष २०८२/०८३ को प्रारम्भिक अनुमानमा स्थिर मूल्यमा मापन गरिएको उपभोक्ताको मूल्यको प्रादेशिक कुल गार्हस्थ्य उत्पादनको सबैभन्दा कमजोर आर्थिक वृद्धिदर मधेसको हुने अनुमान गरिएको हो।
राष्ट्रिय तथ्यांक कार्यालय धनुषा जनकपुरधामले सार्वजनिक गरेको प्रादेशिक लेखा तथ्यांकअनुसार सबैभन्दा न्यून वार्षिक वृद्धिदर मधेस प्रदेशको

१.३१प्रतिशतमा हुने प्रारम्भिक अनुमान छ। स्थिर मूल्यमा मापन गरिएको उपभोक्ता मूल्यको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन वार्षिक वृद्धिदर ३.८५ प्रतिशत मधेस प्रदेशको राष्ट्रिय वार्षिक वृद्धिदरभन्दा कम हुने प्रारम्भिक अनुमान रहेको कार्यालयका प्रमुख तथ्यांक अधिकारी शिवनारायण महतोले जानकारी दिए।

चालु आवको प्रदेशिक ग्रार्हस्थ उत्पादनको आर्थिक वृद्धिदर मधेसको १.३१ प्रतिशत रहेको छ। तथ्यांक विश्लेषण गर्दा चालु आवमा मधेसको गत वर्ष ४.४३ प्रतिशत रहेकामा अहिले १.३१ प्रतिशत मात्र भएको छ। तथ्यांकअनुसार चालु आवमा मुलुकको अर्थतन्त्रमा मधेसले ८ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत) हिस्सा ओगट्ने कार्यालयले जनाएको छ।

औद्योगिक वर्गीकरणको आर्थिक क्रियाकलापलाई हेर्दा आर्थिक वर्ष २०८१/०८२ र २०८२/८३ मा मधेस प्रदेशमा दोस्रो हिस्सा नै ओगटेको देखिन्छ। आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशको कृषि, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको सार्वजनिक प्रशासन तथा रक्षाबाहेक सबै प्रदेशका अन्य सबै क्रियाकलाप वृद्धिदर धनात्मक देखिन्छ। 

चालु आर्थिक वर्ष २०८२/०८३ मा नेपालको प्रतिव्यक्ति गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। मधेस प्रदेशको भने ९ सय ३४ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.