संयुक्त राष्ट्रसंघको चेतावनी : सन् २०३० सम्म विश्वले रेकर्ड तोड्ने गर्मी वर्ष झेल्ने निश्चित

संयुक्त राष्ट्रसंघको चेतावनी : सन् २०३० सम्म विश्वले रेकर्ड तोड्ने गर्मी वर्ष झेल्ने निश्चित

काठमाडौं : जलवायु संकट गहिरिँदै जाँदा सन् २०३० भित्र विश्वले नयाँ रेकर्ड तोड्ने गर्मी वर्ष देख्ने लगभग निश्चित देखिएको संयुक्त राष्ट्र संघअन्तर्गतको विश्व मौसम विज्ञान संगठनले चेतावनी दिएको छ । यस वर्षको अन्त्यतिर एल निनो मौसमीय घटना विकसित हुने अपेक्षा गरिएकाले विश्व तापक्रमको रेकर्ड सन् २०२७ मै तोडिन सक्ने बताइएको छ ।

जीवाश्म इन्धनबाट हुने कार्बन डाइअक्साइड उत्सर्जन निरन्तर बढिरहेको छ, जसले पृथ्वीमा थप ताप थुनेर राखिरहेको छ र चरम मौसमीय घटना बढाइरहेको छ । यही कारण बेलायत र युरोपमा यस साता रेकर्ड तोड्ने गर्मीको लहर देखिएको छ । विश्वव्यापी तापवृद्धिका कारण अहिले नै प्रत्येक मिनेट एक जनाको ज्यान गइरहेको अनुमान गरिएको छ । उत्सर्जन तीव्र रूपमा घटाइएन भने मृत्यु र क्षतिको संख्या अझ बढ्ने चेतावनी दिइएको छ ।

बेलायतको मौसम कार्यालयले विश्व मौसम विज्ञान संगठनका लागि तयार पारेको प्रतिवेदन अनुसार सन् २०२६ देखि २०३० बीच कम्तीमा एक वर्ष सन् २०२४ भन्दा पनि बढी तातो हुने सम्भावना ८६ प्रतिशत छ । त्यस्तै, २०२६–२०३० को पाँच वर्षे औसत तापक्रम औद्योगिक युगअघि भन्दा १.५ डिग्री सेल्सियसभन्दा बढी हुने सम्भावना ७५ प्रतिशत रहेको छ ।

संयुक्त राष्ट्रसंघका जलवायु प्रमुख साइमन स्टिलले भने, ‘युरोपमा देखिएको पछिल्लो गर्मीको लहर जलवायु संकटको बढ्दो मानवीय र आर्थिक असरको कठोर सम्झना हो । भारत तथा एशियाका अन्य भागहरू पनि गम्भीर रूपमा प्रभावित भइरहेका छन् ।’ उनले थपे, ‘चरम गर्मी र जलवायु परिवर्तनका अन्य बढ्दो क्षतिबाट मानव जीवन, व्यवसाय र अर्थतन्त्र जोगाउनु प्रत्येक राष्ट्रको मुख्य जिम्मेवारी हो र यसको सुरुवात जीवाश्म इन्धनको लतलाई धेरै छिटो अन्त्य गर्नबाट हुन्छ ।’ उनले स्वच्छ ऊर्जा अहिले जीवाश्म इन्धनभन्दा सस्तो र छिटो उत्पादन गर्न सकिने बताए ।

वैज्ञानिकहरूले १.५ डिग्री सेल्सियसभन्दा बढी तापवृद्धिले झन् भीषण गर्मी, खडेरी, आँधी र बाढी निम्त्याउने तथा समुदायहरूलाई अनुकूलन गर्न अझ कठिन बनाउने चेतावनी बारम्बार दिँदै आएका छन् । तर तापवृद्धिको प्रत्येक अंश घटाउन सकिए क्षति पनि त्यति नै कम हुने उनीहरूको भनाइ छ ।
औद्योगिक युगअघि भन्दा तापक्रम वृद्धि १.५ डिग्रीभित्र सीमित राख्ने पेसिर सम्झौताको लक्ष्य २० वर्षको औसतमा मूल्यांकन गरिन्छ । तर अहिले यो लक्ष्य पूरा हुने सम्भावना कम हुँदै गएको छ । यद्यपि तत्काल कदम चालिए २ डिग्रीको कमजोर लक्ष्य भने अझै सम्भव रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार २०२६–२०३० बीच कुनै एक वर्षमा तापक्रम २ डिग्रीभन्दा माथि पुग्ने सम्भावना १ प्रतिशत भन्दा कम छ । विश्व तापक्रम एल निनोका कारण अझ बढ्ने अनुमान गरिएको छ । अमेरिकी राष्ट्रिय महासागर तथा वायुमण्डलीय प्रशासन का अनुसार डिसेम्बर २०२६ देखि फेब्रुअरी २०२७ बीच एल निनो विकसित हुने सम्भावना ९६ प्रतिशत छ, जसमा ‘सुपर एल निनो’ हुने सम्भावना ३५ प्रतिशत छ ।

एल निनो प्रशान्त महासागरमा हावाको दिशामा हुने परिवर्तनका कारण विकसित हुन्छ, जसले समुद्रमा सञ्चित ताप वायुमण्डलमा छोड्छ । प्रतिवेदनका मुख्य लेखक लिओन हरमन्सनले भने, ‘२०२६ को अन्त्यतिर एल निनो आउने पूर्वानुमान गरिएको छ, जसले त्यसपछिको वर्ष २०२७ लाई अर्को रेकर्ड तोड्ने गर्मीको वर्ष बनाउने सम्भावना बढाउँछ ।’ 

नयाँ प्रतिवेदनले आगामी पाँच वर्षमा आर्कटिक क्षेत्रमा जाडोयामको तापक्रम हालको औसतभन्दा २.८ डिग्री सेल्सियस बढी हुने अनुमान गरेको छ । यसको अर्थ आर्कटिक क्षेत्र विश्व औसतभन्दा तीन गुणा छिटो तातिरहेको छ । प्रतिवेदनमा वर्षाबारे पनि पूर्वानुमान गरिएको छ । आगामी पाँच वर्ष मेदेखि सेप्टेम्बरसम्म उत्तरी युरोप, साहेल क्षेत्र, अलास्का र साइबेरियामा सामान्यभन्दा बढी वर्षा हुने सम्भावना छ भने अमेजन क्षेत्र बढी सुख्खा हुने अनुमान गरिएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.