राजस्थान रोयल्सलाई दोस्रो क्वालिफायरमा पराजित गर्दै गुजरात टाइटन्स फाइनलमा
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)२०२६ को दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ।
चण्डीगढी स्थित महाराजा यादावेन्द्र सिंह इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१४ रन बनाएको थियो। राजस्थानले दिएको २१५ रनको विजयी लक्ष्य पछाएको गुजरात टाइटन्सले १८.४ ओभरमा ३ विकेट गुमाउँदै २१९ रन सहित लक्ष्य पूरा गर्यो ।
गुजरातको जितमा कप्तान सुभ्मन गिलले कप्तानी पारी खेले। उनले ५३ बलमा १५ चौका र ३ छक्का सहित १०४ रनको शतकीय पारी खेलेका हुन्। पहिलो विकेटका लागि उनले ओपनर ब्याटर सुदर्शनसँग १६७ रनको उत्कृष्ट साझेदारी सहित सुरुवात गरेका थिए। सुदर्शनले ३२ बलमा आठ चौका र एक छक्का सहित ५८ रनको अर्धशतकीय पारी खेले। वासिङ्टन सुन्दरले १६ रन बनाउँदा जोश बटलर ९ र राहुल तिवातिया १७ रनमा अविजित रहे।
राजस्थान रोयल्सको लागि बलिङतर्फ जोफ्रा आर्चर, आन्द्रे बर्गर र व्रिजेस शर्माले १-१ विकेट लिए।
त्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको राजस्थान रोयल्सका लागि युवा ब्याटर वैभव सूर्यवंशीले ९६ रनको पारी खेले। उनले ४७ बलमा ८ चौका र ७ छक्का प्रहार गरे। कप्तान ज्ञान परागले ११ रन बनाउँदा रविन्द्र दलिजा ४५ र दोनोफान फरेरा ३८ रनमा अविजित रहे।
गुजरात टाइटन्सका लागि बलिङतर्फ कागिसो रावडा र जेसन होल्डरले २-२ विकेट लिए । मोहम्मद सिराज र प्रसिद्ध कृष्णले १-१ विकेट लिए।
पहिलो क्वालिफायरमा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) सँग ९२ रनले पराजित हुँदा गुजरातले दोस्रो क्वालिफायर खेलेका थिए । राजस्थानले भने एलिमिनेटरमा सनराइजर्स हैदराबादलाई ४७ रन लर पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।
आइपीएल २०२६ को फाइनल खेल आइतबार ७:४५ मा अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुनेछ।
प्रतिक्रिया दिनुहोस !