सुनकोशी र दूधकोशीको ज्योतिर्घाटमा एकैसाथ दुई झोलुंगे पुल

सुनकोशी र दूधकोशीको ज्योतिर्घाटमा एकैसाथ दुई झोलुंगे पुल
सुनकोशी र दूधकोशीमा एकैसाथ बनेका झोलुंगे पुल। तस्बिर सौजन्यः विष्णु तामाङ
सुन्नुहोस्

सुनसरी : खोटाङ, ओखलढुंगा र उदयपुर जिल्लालाई जोड्ने ऐतिहासिक महत्त्वका दुई झोलुंगे पुल एकसाथ निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन्। 

सुनकोशी र दूधकोशी नदीको संगमस्थल ज्योतिर्घाटमा निर्माण गरिएका यी पुलले तीन जिल्लाबीचको आवतजावतलाई सहज बनाउनुका साथै पर्यटन, व्यापार, कृषि तथा सामाजिक सम्बन्ध विस्तारमा नयाँ सम्भावना सिर्जना गरेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ ठुलढुंगा, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानी र उदयपुरको कटारी नगरपालिका–१४ लेखानीलाई जोड्ने गरी सुनकोशी र दूधकोशी नदीमाथि एकसाथ दुईवटा झोलुंगे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको हो। 

सुनकोशी र दूधकोशी दुवै सप्तकोशीका प्रमुख सहायक नदी हुन्। यी नदीको संगमस्थलका रूपमा परिचित ज्योतिर्घाट प्राकृतिक तथा धार्मिक दृष्टिलेसमेत महत्त्वपूर्ण क्षेत्र मानिन्छ।

हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले झोलुंगे पुल सञ्चालनमा आएपछि तीन जिल्लाका नागरिकलाई आवतजावतमा ठूलो सहजता भएको बताइन्। उनका अनुसार यस क्षेत्रको पर्यटन प्रवर्धन, आर्थिक गतिविधि विस्तार तथा स्थानीय उत्पादनको बजारीकरणमा समेत पुलले महत्त्वपूर्ण भूमिका खेल्नेछ। ‘ज्योर्तिघाटमा झोलुंगे पुल सञ्चालनमा आएसँगै तीन जिल्लाका नागरिकबीचको दूरी घटेको छ,’ मेयर राईले भनिन्, ‘अब मानिसहरूलाई जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता हटेको छ। यसले पर्यटन विकासमा समेत नयाँ आयाम थप्ने विश्वास गरेका छौं।’

पुल निर्माणपछि दूधकोशी तरेर खोटाङको हलेसी तुवाचुङ नगरपालिकाबाट ओखलढुंगाको मानेभञ्ज्याङ हुँदै सुनकोशी पार गरेर उदयपुरको कटारी पुग्न सहज भएको मानेभञ्ज्याङ गाउँपालिका–४ का वडाध्यक्ष विष्णु तामाङले बताए। उनका अनुसार विगतमा वर्षामा नदी तर्न निकै कठिन हुने गरेको थियो भने कतिपय अवस्थामा स्थानीयवासी घण्टौं घुमाउरो बाटो प्रयोग गर्न बाध्य हुन्थे। ‘पुल बनेपछि तीन जिल्लाका नागरिकको दैनिक जीवन निकै सहज भएको छ,’ तामाङले भने, ‘विद्यार्थी, किसान, व्यापारी तथा सर्वसाधारण सबैलाई प्रत्यक्ष लाभ पुगेको छ।’

सस्पेन्सन ब्रिज डिभिजन, पुलचोक, ललितपुरका योजना प्रमुख शंकर बुढाथोकीले झोलुंगे पुल केवल फलाम, तार र संरचनाको संयोजन मात्र नभई विकास, समृद्धि, आशा र अवसरलाई जोड्ने माध्यम भएको बताए। उनका अनुसार पुलले भौगोलिक दूरी मात्र घटाउँदैन, मानिसहरूबीचको सामाजिक र भावनात्मक सम्बन्धलाई समेत मजबुत बनाउँछ।
‘ज्योर्तिघाटका यी पुलले ओखलढुंगा, खोटाङ र उदयपुरका हजारौं नागरिकलाई सुरक्षित आवागमनको सुविधा प्रदान गरेका छन्,’ बुढाथोकीले भने, ‘विद्यालय, स्वास्थ्य संस्था, कृषि उत्पादनको बजार पहुँच तथा व्यापारिक गतिविधिमा समेत यसले सकारात्मक प्रभाव पार्नेछ। नदी वारिपारिका समुदायबीचको सामाजिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।’

झोलुंगे पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन, पुलचोक, ललितपुर र निर्माण व्यवसायी श्री अपर तामाकोशी/जेके जेभी, काठमाडौंबीच २०७९ साउन ६ गते सम्झौता भएको थियो। जटिल भौगोलिक बनावट, दुर्गम भूभाग तथा नदीको चुनौतीपूर्ण अवस्थाका बाबजुद निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनले बताए।

खोटाङ–ओखलढुंगा जोड्ने पुलको लम्बाइ १३४ मिटर रहेको छ भने ओखलढुंगा–उदयपुर जोड्ने पुल १७८ मिटर लामो छ। दुवै पुलको कुल लम्बाइ ३१२ मिटर रहेको छ। करिब ३ करोड ३१ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न गरिएको राष्ट्रिय गानका रचनाकार तथा यस आयोजनाका लागि लामो समयदेखि पहलकर्ता प्रदीपकुमार राई ‘व्याकुल माइला’ले जानकारी दिए। व्याकुल माइलाका अनुसार ज्योर्तिघाटमा पुल निर्माणको आवश्यकता लामो समयदेखि महसुस गरिए पनि विभिन्न कारणले योजना अघि बढ्न सकेको थिएन। 

स्थानीय, जनप्रतिनिधि र सरोकारवाला निकायको निरन्तर पहलपछि अन्ततः पुल निर्माण सम्भव भएको उनले बताए। ‘यो केवल पुल निर्माणको विषय होइन, तीन जिल्लाका नागरिकको दशकौं पुरानो सपना पूरा भएको क्षण हो,’ उनले भने, ‘यसले विकासको नयाँ ढोका खोलेको छ।’

पुलको उद्घाटन खोटाङका पूर्वसांसद टंक राई र ओखलढुंगाका जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले संयुक्त रूपमा गरेका थिए। उद्घाटन कार्यक्रममा तीन जिल्लाका जनप्रतिनिधि, स्थानीय तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।

पुल सञ्चालनमा आएपछि ज्योर्तिघाट अहिले नयाँ आकर्षणको केन्द्र बनेको छ। पुलको मनोरम दृश्य, सुनकोशी–दूधकोशीको संगम र वरपरको प्राकृतिक सौन्दर्य अवलोकन गर्न दैनिक रूपमा स्थानीय तथा बाह्य पर्यटक पुग्न थालेका छन्। विशेषगरी, युवापुस्ताले पुलमा फोटो खिच्ने, भिडियो बनाउने तथा सामाजिक सञ्जालका लागि सामग्री तयार गर्ने क्रम बढेको छ।

स्थानीयका अनुसार विगतमा ओझेलमा परेको ज्योतिर्घाट अहिले पर्यटकीय गन्तव्यका रूपमा परिचित हुन थालेको छ। तीन जिल्लाको संगम क्षेत्रमा निर्माण भएका यी झोलुंगे पुलले केवल नदीमाथि मार्ग बनाएका छैनन्, बरु विकास, सम्भावना र सामाजिक एकताको नयाँ सेतु निर्माण गरेको पूर्वसांसद राईले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.