अमेरिकाले दियो इरानका खेलाडीलाई भिसा

इरान भन्छ : अमेरिकाले खेलकुदमा पक्षपातपूर्ण राजनीति भित्र्यायो

अमेरिकाले दियो इरानका खेलाडीलाई भिसा

न्युयोर्क : अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) विश्वकपमा प्रतिस्पर्धा गर्न लागेको इरानको फुटबल टोलीले अमेरिकाको भिसा पाएको छ। अमेरिकी अधिकारीहरूले फिफा विश्वकपका लागि इरानका खेलाडी तथा अफिसियललाई अमेरिका प्रवेशको भिसा उपलब्ध गराएको जनाएको छ। इरानका खेलाडीले फिफा विश्वकप उद्घाटन हुनुभन्दा १० दिनअघि मात्रै भिसा पाएका हुन्। 

अमेरिकी अधिकारीहरूले जारी गरेको एक वक्तव्यमा विश्वकपका लागि खेलाडी र केही अफिसियललाई भिसा दिएको जनाउँदै विश्वकपका नाममा कुनै आतंकवादीलाई अमेरिका प्रवेश गर्न नदिने बताएका छन्। ‘फिफा विश्वकपमा सहभागी इरानका खेलाडी र अफिसियललाई आवश्यक भिसा प्रदान गरिएको छ’, अमेरिकी अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘तर, विश्वकपको बहाना बनाएर भिसाको दुरुपयोग गर्दै अमेरिका छिर्न चाहने आतंकवादीले भने कुनै पनि हालतमा भिसा पाउँदैनन्। उनीहरूलाई अमेरिका प्रवेश गर्न दिइने छैन।’ अमेरिकी अधिकारीहरूले इरानका खेलाडी र आवश्यक सहायक कर्मचारीलाई शुक्रबार भिसा दिएको दाबी गरेका छन्। 

इरानले भने राष्ट्रिय टोलीका अधिकांश सदस्यले भिसा पाए पनि आफ्ना केही अतिरिक्त खेलाडी, अफिसियल, सहयोगी र इरान फुटबल महासंघका पदाधिकारीलाई भिसा नदिएको आरोप लगाएको छ। टर्कीमा रहेको इरानको दूतावासले अमेरिकाले खेलमा पक्षपातपूर्ण राजनीति भित्र्याएको आरोप लगाएको छ। ‘हाम्रा केही अतिरिक्त खेलाडी, अफिसियल र सहयोगीलाई भिसा नदिनु भनेको अमेरिकाले खेलकुदमा पक्षपातपूर्ण राजनीतिक हस्तक्षेप गर्नु हो। अमेरिकाले हाम्रो फुटबल टोलीको मनोबल गिराउन जानी जानी भेदभावपूर्ण व्यवहार देखाएको छ’, दूतावासले भनेको छ। दूतावासले अमेरिकाको पक्षपातपूर्ण निर्णय हस्तक्षेप गर्न आग्रह गरेको छ। इरानको सरकारी सञ्चार माध्यमका अनुसार अमेरिकाले इरान फुटबल महासंघका अध्यक्षलगायत थुप्रै इरानीलाई भिसा दिन इन्कार गरेको छ।  

भिसा समस्याकै कारण इरानले आफ्नो प्रशिक्षण शिविर अमेरिकाको एरिजोनास्थित टक्सनबाट मेक्सिकोमा सारेको थियो। इरान फुटबल महासंघका अध्यक्ष मेहदी ताजले त्यसबेला भिसा समस्याका कारण यो निर्णय गर्नुपरेको बताएका थिए। इरानले यसअघि फिफा विश्वकप फुटबलमा सहभागी नहुने बताउँदै आएको थियो। फिफाको आग्रहमा विश्वकपमा सहभागी हुन राजी भएको इरानले फिफा र आयोजक राष्ट्रसँग केही शर्त राखेको थियो। अमेरिकासँगको भूराजनीतिक तनावका कारण फुटबलमा पनि असर देखिन थालेपछि इरानले शर्तसहित विश्वकपमा सहभागिता जनाउने घोषणा गरेको थियो। 

इरानी फुटबल महासंघ (एफएफआईआरआई)ले आफ्नो देशको विश्वास, संस्कृति, मूल्यमान्यता, राष्ट्रिय पहिचान र गरिमाको मूल्यबाट पछि नहट्ने भन्दै विश्वकपमा खेल्ने जनाएको हो। ‘हामी निश्चित रुपमा विश्वकपमा सहभागी हुन्छौं। तर, आयोजकले हाम्रो केही शर्त पूरा गर्नुपर्ने हुन्छ’, एफएफआईआरआईले भनेको थियो, ‘विश्वकपका नाममा आफ्नो विश्वास, संस्कृति र सिद्धान्तबाट भने पछि हट्दैनौं।’ 

केही समय पहिले इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजलाई गत महिना क्यानडामा प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो। फिफा सम्मेलनमा सहभागी हुन क्यानडा गएका मेहदीलाई क्यानडाले प्रवेश नदिई फिर्ता पठाइदिएको थियो। त्यसपछि इरानले विश्वकपमा सहभागी हुन १० वटा सर्त फिफासमक्ष राखेको थियो। इरानले आफ्ना खेलाडी, प्रशिक्षक र अफिसियलसँगै इस्लामिक रिभोल्युसनरी गार्ड कोप्र्ससँग सम्बन्धित व्यक्तिहरूलाई पनि प्रवेश अनुमति दिनुपर्ने माग राखेको छ। 

यस्तै आफ्नो राष्ट्रिय झण्डा र राष्ट्रिय गानको सम्मान हुनुपर्ने, विमानस्थल, होटल र रंगशालामा थप सुरक्षा व्यवस्था मिलाउनुपर्ने माग पनि गरेको थियो। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानी खेलाडीहरूलाई विश्वकपमा स्वागत गरिने बताउँदै इरानको सैन्य समूहसँग सम्बन्धित व्यक्तिमाथि प्रतिबन्ध लाग्न सक्ने चेतावनी दिएका थिए। त्यही कारण अहिले केही व्यक्तिलाई भिसा दिन इन्कार गरिएको जनाइएको छ।

इरानले एसियाली छनोटमार्फत विश्वकपमा स्थान बनाएको थियो। ४८ राष्ट्र सहभागी विश्वकपमा इरान, बेल्जियम, न्युजिल्यान्ड र इजिप्टसँगै समूह ‘जी’मा छ। इरानको समूह चरणका खेल अमेरिकाको लस एञ्जल्स र सियाटलमा हुने तालिका छ। ४८ टोली सहभागी विश्वकपमा जम्मा एक सय चार खेल हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.